१३ हजारमै कोनिकाको चुनाव: ५० मतले बोलेको पहिचानको सङ्घर्ष

१३ हजारमै कोनिकाको चुनाव: ५० मतले बोलेको पहिचानको सङ्घर्ष

117
SHARES

काठमाडौँ – प्रतिनिधिसभा सदस्य काभ्रेपलान्चोक निर्वाचन क्षेत्र नं १ का उम्मेदवार विनोद लामा कोनिकाले चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्। समावेशी समाजवादी पार्टीका प्रत्यक्षतर्फ उम्मेदवार कोनिकाले जिल्ला निर्वाचन कार्यालय काभ्रेपलान्चोकमा चुनावी खर्च विवरण बुझाएका हुन्।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक उम्मेदवार कोनिकाका अनुसार मनोनयन दर्ता शुल्क, पर्चा फ्लेक्स प्रिन्ट, पेट्रोल र खाजा खर्चको विवरण पेस गरिएको छ।

मनोनयन शुल्क १० हजार, पर्चा फ्लेक्स प्रिन्ट १ हजार, पेट्रोल ११ सय, खाजा खर्च ४ सय रुपैयाँ खर्च भएको विवरण कोनिकाले पेस गरेका हुन्।

सीमित स्रोत, न्यून आर्थिक पहुँच र संस्थागत सहयोगको अभावकाबीच यति न्यून खर्चमै चुनावी अभियान सञ्चालन गर्नु लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उम्मेदवारका लागि कति चुनौतीपूर्ण थियो भन्ने वास्तविकता यस विवरणले उजागर गर्छ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नेतृत्वको समावेशी समाजवादी पार्टीबाट १६५ निर्वाचन क्षेत्र मध्ये ६ वटा क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवार थिए। ६ जना उम्मेदवार नै पराजित हुन पुगे।

तर यो पराजय केवल मतपरिणामको अङ्कगणित मात्र नभई सामाजिक पूर्वाग्रह, राजनीतिक पहुँचको अभाव, आर्थिक स्रोतको कमी र संरचनागत विभेदसँग जुध्नुपरेको कठोर यथार्थको प्रतिविम्ब पनि हो।

खर्च विवरण बुझाएका कोनिकाले काभ्रेपलान्चोक १ बाट ५० मत प्राप्त गरे। उनले स्वतन्त्र १ र नेशनल रिपब्लिक नेपाल पार्टीका उम्मेदवारलाई पछि पारे। सीमित स्रोत, पहिचानमाथिको प्रश्न, र समाजमा व्याप्त अस्वीकारकाबीच प्राप्त यो मतसंख्या स्वयंमा सङ्घर्ष, धैर्य र निरन्तरताको सङ्केतका रूपमा हेरिएको छ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायबाट प्रत्यक्षतर्फ उम्मेदवार बन्नु चानचुने कुरा भने थिएन। सामाजिक बहिष्कार, सुरक्षासम्बन्धी चिन्ता, आर्थिक अभाव र राजनीतिक संरचनामा पहुँचको कमीकाबीच उम्मेदवारी दर्ता गर्नु नै एउटा साहसिक राजनीतिक हस्तक्षेप थियो, जसले समानता र प्रतिनिधित्वको प्रश्नलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउने प्रयास गरेको देखिएको छ।

समाचार शेयर गर्नुहोस्
117
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.