अर्थमन्त्री वाग्लेको ‘अर्थनीतिमा दृष्टि’ सार्वजनिक

अर्थमन्त्री वाग्लेको ‘अर्थनीतिमा दृष्टि’ सार्वजनिक

162
SHARES

काठमाडौँ – नेपाल आर्थिक पत्रकार समाज सेजनले अर्थनीतिमा डा. स्वर्णिम वाग्लेको दृष्टि: समृद्धि, असमानता र सुधारको वर्षौँदेखिका बहस’ नामक पुस्तक प्रकाशन गरेको छ। यो पुस्तकको सोमबार अर्थमन्त्री वाग्लेले अर्थ मन्त्रालयमा विमोचन गरे।

पुस्तकमा सेजनले विभिन्न समयमा विषयगत विशिष्टताका साथ प्रकाशन गरेका उनका ८ वटा गहन लेखहरू समावेश गरिएको छ। अर्थमन्त्री वाग्लेले यो पुस्तकले सुधारको लागि विगतमा गरेको पैरवी स्मरण गराएको बताए। आम सरोकारवालालाई आफ्नो दृष्टिकोण बुझ्न सहयोग हुने उनको भनाइ छ।

‘विगतमा उठाइएका आर्थिक सुधारका एजेन्डा पुस्तकमा छन्। पहिले विषय विज्ञका रूपमा सुधारका लागि उठाइएका धेरै कुरा सुनिएन। अन्ततः राजनीतिमा आएर अहिले तीनै एजेन्डा कार्यान्वयन गर्ने कार्यकारी भूमिकामा छु’ अर्थमन्त्री वाग्लेले भने, ‘यिनै दस्ताबेजको आधारमा सुधारका कामहरू गर्ने हो।’

पुस्तकमा वि.सं. २०७१ देखि २०८२ सम्मको एक दशक लामो कालखण्डमा उनले नेपालको आर्थिक स्वरूपलाई विभिन्न आयामबाट सूक्ष्म ढङ्गले केलाइएको छ।

दक्षिण एसियाली देशहरूबीचको व्यापार लागत, सङ्घीयताको आर्थिक सबलीकरण, मिलिभगतको पुँजीवाद (क्रोनी क्यापिटालिजम) को अन्त्य र अन्तर्राष्ट्रिय सहायताको फेरिँदो स्वरूप जस्ता गम्भीर विषयहरू पुस्तमा समेटिएका छन्।

नेपालको उत्पादकत्व वृद्धि शून्य रहेको तीतो यथार्थलाई उजागर गर्दै अब सानातिना सुधारले मात्र नहुने र ‘बिग ब्याङ रिफर्म’ अर्थात् वृहत् संरचनात्मक सुधार आवश्यक रहेको तर्क उनको विचारमा छन्।

१०० अर्ब डलर माथिको अर्थतन्त्र पुर्‍याउने लक्ष्यका साथ डिजिटलाइजेसन, स्वच्छ ऊर्जा र पर्यटनलाई अर्थतन्त्रको मुख्य शक्तिका रूपमा प्रस्तुत गरेका छन्।

सेजन अध्यक्ष भागत भट्टराईले यो पुस्तक प्रकाशन गर्नुको मुख्य उद्देश्य वर्तमान अर्थमन्त्रीको सोच र नेपालको अर्थतन्त्रलाई हेर्ने उनको दृष्टिकोणलाई आम नागरिक र सरोकारवालासम्म पुर्‍याउनु भएको बताए। साथै, आम पत्रकारका लागि उनका नीति र व्यवहारको मूल्याङ्कन गर्न पनि सहयोग पुग्ने उनले बताए।

समाचार शेयर गर्नुहोस्
162
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.