काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको अपार सम्भावनाको सदुपयोग गर्न र आफू बसोबास गरेको मुलुकमा रहेका लगानीकर्ताहरूलाई समेत नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपाली नागरिकहरुलाई आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले गैरआवासीय नेपाली सङ्घका नवनिर्वाचित पदाधिकारीहरूसँग सोमबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा लगानीका लागि अभिप्रेरित गर्न आग्रह गरेका हुन्। “नेपालको आन्तरिक क्षमतामा वृद्धि गरी तीव्र आर्थिक विकास गर्न सके मात्र विदेशमा बस्ने नेपालीहरूको शिर पनि उँचो हुनेछ, नेपाल समृद्ध नहुँदासम्म नेपालीहरूको प्रतिष्ठा बढ्न सक्तैन”,उनले भने।
नेपाललाई सुशासन विकास र समृद्धितर्फ लैजान तथा देशको अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठा बढाउन अझ प्रभावकारी भूमिका निर्वाह गर्नु हुने विश्वास राष्ट्रपति पौडेलले व्यक्त गरे।
नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार, सूचना तथा सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना छ भने अर्कातर्फ भारत र चीनजस्ता विश्वकै ठूलो जनसङ्ख्या र बृहत् बजारहरू हाम्रा समीप र पहुँचमा छन् भन्दै उनले यस्तो अवस्थामा, नेपाल आर्थिक विकासका लागि चाहिने पूर्वाधार, औद्योगिकीकरण र आन्तरिक उत्पादनलगायतको विकासमा केन्द्रित हुनुपर्दछ भन्ने आफूलाई लागेको बताए।
“यसका लागि बहुपक्षीय साझेदारी अत्यावश्यक हुन्छ। त्यसमा तपाईँहरूले आर्जेको पूँजी, ज्ञान, सीप, अनुभव, लगानी र उद्यमशीलता सान्दर्भिक तथा उपयोगी साबित हुन सक्छ”, राष्ट्रपति पौडेलले भने।
उनले विगतमा तपाईँहरूले नेपालका विभिन्न क्षेत्रमा व्यक्तिगत र सङ्गठित रूपमा गर्दै आउनुभएको लगानी नेपालको विकास र समृद्धिमा सहयोगी बनेको छ भने। साथै, आगामी दिनमा यो सहयोगलाई अझै प्रभावकारी बनाउन उनले आग्रह गरे।
भर्खरै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट मुलुकको विषम र जटिल परिस्थितिले एउटा निकास पाएको उनको भनाई थियो। “नेपाली जनता र खासगरी युवा पुस्ताको चाहनाबमोजिम अब मुलुकमा सुशासनको माध्यमबाट सामाजिक न्यायसहितको विकास र समृद्धितर्फ अग्रसर हुन जनताले मतादेश दिएका छन्”, उनले भने।
राष्ट्रपति पौडेलले हामीले राज्यको प्रशासनिक पुनर्संरचना त गर्यौ, तर राज्यको चरित्र र जीवन पद्धतिको पुनर्संरचना अझै हुन बाँकी छ भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रका निश्चित मूल्य मान्यता, सिद्धान्त र दर्शनलाई जबसम्म हामी आत्मसात् गर्न सक्दैनौ तबसम्म नेपाली जनताले चाहेजस्तो सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न कठिन छ भने। “त्यसैले आज हामी सबैले ती मूल्य, मान्यता र दर्शनलाई अङ्गीकार गरेर अघि बढ्नुपर्ने खाँचो छ”, उनले भने।
राष्ट्रपति पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास गर्न गुरुयोजना बनाएर काम अघि बढेको उल्लेख गर्दै त्यसमा गैर आवासीय नेपाली सङ्घले आफ्नोतर्फबाट सहयोग गर्ने नै छ भन्ने विश्वास व्यक्त गरे।
उनले गैरआवासीय नेपाली विश्व सम्मेलनबाट भर्खरै निर्वाचित अध्यक्ष, पदाधिकारीलगायत सबैलाई हार्दिक बधाई दिँदै यो समितिले संसारभर रहेका सबै गैरआवासीय नेपालीलाई समेटेर यो संस्था सबैको साझा संस्था हो भन्ने भावना जागृत गराउन सफल होस् भन्ने शुभकामना पनि दिए।
सङ्घका नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्माले नेपालमा एनआरएनएले गरिरहेको लगानी, थप लगानीको सम्भावना, दोस्रो पुस्तालाई जोड्ने रणनीति लगायतका विषयमा जानकारी गराएका थिए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.