काठमाडौं (पहिचान) चैत ७ – नेपालमा यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीको अभियान सफलताको बाटोमा अघि बढेको सरोकारवालाहरुले बताएका छन् । मार्टिन चौतारीले गरेको कार्यक्रममा नील हिरा समाज, मितिनी नेपाल र सहारा नेपालले समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीको अभियान सफलताको बाटोमा अघि बढेको बताएका हुन् ।
यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेश्रोलिंगीले पहिचान अनुसारको नागरिकता र पासपोर्ट पाउनु महत्वपूर्ण उपलब्धी भएको समाजकी कन्ट्री डाइरेक्टर दुर्गा थापाले बताइन । देशभरबाट अहिले १० जनाले अन्य उल्लेख भएको नागरिकता पाइसकेको थापाको भनाई छ । पहिले नै नागरिकता लिएकालाई केही जिल्ला प्रशासन कार्यालयले पहिचान अनुसारको नागरिकता दिन नमानेकाले ७५ वटै जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाएर जिल्ला प्रशासन कार्यालयमा रिट दायर गरेको थापाले जानकारी दिइन ।
यस्तै सर्वोच्च अदालतले समलिंगी सम्वन्धलाई मान्यता दिने विषयमा अध्ययन गर्न समिति गठन गर्न आदेश दिएको र समितिले प्रतिवेदन तयार गरेकाले अव छिट्टै समलिंगी सम्वन्धले पनि कानुनी मान्यता पाउने थापाले बताइन । कक्षा ६, ७ र ८ को स्वास्थ्य र शारीरिकमा समलिंगी तेश्रोलिंगीको विषय समावेश हुनु नील हिरा समाज स्थापनाको १४ वर्षको उपलव्धी भएको थापाले बताइन । ‘आफ्ना समलिंगी तेश्रोलिंगी सन्तानलाई परिवारले स्वीकार्न थालेका छन्,’ थापाले भनिन, ‘अझै केही अभिभावकमा रहेको भ्रम अन्त्य गर्न जनचेतना जगाउने कामलाई निरन्तरता दिइएको छ ।’
थापाले नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय जनमुक्ती पार्टीलगायतका ७ वटा दलले आफ्नो घोषणा पत्रमा समलिंगी तेश्रोलिंगीको अधिकारको विषय उल्लेख गर्नु उपलब्धीमुलक भएको बताइन । नील हिरा समाजले विगत १४ वर्षदेखि चलाउँदै आएको अधिकार प्राप्तीको अभियानका क्रममा समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता सुनिलवावु पन्त विश्व प्रसिद्ध नोबेल शान्ति पुरस्कारको मनोनयनमा पर्नु ठुलो उपलब्धी भएको थापाको भनाई छ । दक्षिण एसियामै पहिलो पटक नेपालमा समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व गर्दै पहिलो संविधान सभामा पन्त पुग्नु उपलब्धीकै रुपमा रहेको थापाको भनाइ थियो ।
थापाले नेपाली काँग्रेसले तेश्रोलिंगीलाई महासमिति सदस्य बनाउनु नील हिरा समाजको राजनीतिक उपलव्धी भएको बताइन । समाजकी मानवअधिकार विभाग प्रमूख भूमिका श्रेष्ठले जन्मदर्ता गर्दादेखिनै विभेद हुने गरेको बताइन । श्रेष्ठले नीतिगत र कानुनी रुपमै यौनिक तथा लैगिंक अल्पसंख्यकलाई अधिकार सम्पन्न गर्नुपर्ने बताइन । नील हिरा समाजका प्रमूख प्रशासक एवं प्रमूख कार्यक्रम संयोजक परसु राईले समलिंगी तेश्रोलिंगीलाई समाजले अरु सरह समान व्यवहार गर्नु पर्ने बताए ।
अधिवक्ता सुजन पन्तले समलिंगी तेश्रोलिंगीको कानुनी अधिकारका लागि नयाँ बन्न लागेको संविधानमा अधिकार लेखाउन समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व हुनुपर्ने बताए । तेश्रोलिंगी विष्णु अधिकारीले समाजमा रहेको भ्रम पहिले भन्दा केही कम भएपनि अन्त्य भने नभएकाले जनचेतना जगाउने काम भइरहेको बताए । मितिनी नेपालकी सहारा कार्कीले महिला समलिंगीलाई जन्म दिने बाबु र आमालेनै विभेद गर्ने गरेको बताइन ।
महिला महिलाबीच विवाह गर्छु भन्दा बाबु आमाले घरबाट निकालिदिएका छन् कार्कीले भनिन, बाहुनले दलित महिलासँग विवाह गर्दा विभेद गर्ने हाम्रो समाज महिला महिलाबीच हुने विवाहलाई किन मान्यता दिन्थ्यो र । कार्कीले आफ्नो कुरा भन्ने तर खुलेर आउन नसक्ने धेरै समलिंगी महिला रहेको बताइन । कार्यक्रममा कुरा सुन्ने र राम्रो भनेर प्रशंसा गर्नेहरु आफूलाई पनि समलिंगी भन्छन भनेर सँगै बसेर खाजा नखाने तितो यर्थाथता कायमै रहेको कार्कीको भनाइ छ ।
सहारा समाज पूर्वाञ्चलकी मञ्जिला चौधरीले आफ्नो पार्टनर तेश्रोलिंगी रहेकै कारण अहिलेसम्म घरपरिवारले स्वीकार्न नसकेको बताउनुभयो । आफू समलिंगी भएकै कारण घरबाट निकालिनु परेको र अहिले जन्म घर मोरङ छाडर सुनसरीमा बस्दै आएको बताइन ।
यसैबीच नील हिरा समाजले यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेश्रोलिंगीको समस्या, सुझाव, सल्लाह सुन्न टोल फ्रि सेवा शुरु गरेको छ । समाजको टोल फ्रि नम्वर १६६००१ २०१४० मा जुनसुकै वेला फोन गरेर आफ्ना कुरा भन्न सकिन्छ । यो नम्वर फोन गर्दा फोन गर्ने व्यक्तीको पैसा नलाग्ने नील हिरा समाजले जनाएको छ । समाजमा खुलेर आउन नचाहने समलिंगी तेश्रोलिंगीलाई आफ्ना कुरा राख्नका लागि टोल फ्रि सेवा शुरु गरिएको समाजका प्रमूख प्रशासक एवं प्रमूख कार्यक्रम संयोजक परसु राईले जानकारी दिए ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.