काठमाडौं । भक्ती शाह/अम्विका दाहाल (पहिचान) जेठ ३१ नमस्कार, डाक्टर साहेब । साह्रै तनावमा भएकोले सल्लाहका लागि हजुरकहाँ आएको । नमस्कार । नमस्कार ।। भन्नुस् तपाई के कारणले तनावमा हुनुहुन्छ ? डाक्टर साहेब । म हरेक पक्षबाट सबल र सफल छु, र पनि मेरी श्रीमती मप्रति पटक्कै आकर्षित हुन्नन्, किन होला ? विवाह भएको कति भयो होला ? तीन चार महिनै भइसक्यो नि डाक्टर साहेब । स्वास्नीमान्छेहरु स्वभावैले लजालु हुन्छन । कसैकसैलाई खुल्न अलि बढी नै समय लाग्न सक्छ । तपाईले आफ्नोतर्फबाट राम्ररी पहल गर्न सक्नु भएन कि । विवाह भएको दिनदेखि नै उनको मन जित्न निरन्तर प्रयास गरिरहेको छु । तर जति नै प्रयत्न गर्दा र जतिनै रोमान्टिक वातावरण तयार पार्दा पनि एउटा न एउटा बहाना बनाएर उम्किहाल्छिन् । तेस्रो रङग नाम दिइएको कथा संग्रहको अनपेक्षित बाढी पहिरो शिर्षकको कथामा लेखिएका यि कुराले एक जना पुरुष आफ्नी विवाहिता श्रीमती आफूप्रति आकर्षित हुन नसक्दाको समस्या झल्काउँछ । श्रीमानलाई थाहा छैन, श्रीमती आफू प्रति किन आकर्षित हुँदिनन् भनेर । कथामा श्रीमती अर्की एक महिलासँग अंगालोमा मात्र बाधिएका छैनन् कि ओठमा ओठ मिलाएर चुम्वनसमेत गरिरहेका छन् ।
मैले विहे नै गर्दिन भनेर बुबामुमालाई कम विन्ती बिसाएको हो र । बुबामुमाको जिद्धीको अगाडि मेरो केही जोरै चलेन । त्यस्तो राम्रो घर र केटा त टाउको फुटाएर पनि पाउँदिनस् भनिबक्सेर जबरजस्ती नै गरिबक्सियो । केही सीप नलागेपछि भित्री कुरा लुकाएर भए पनि सहमति जनाउन करै लाग्यो । के गर्ने त अब भगवानले नै हामीलाई लोग्नेमान्छेसँग आकर्षित नहुने खालका बनाएर पठाइदिएपछि ? हामीले चाहेर हामी यस्ता भएका हौ त । होइन नि, र पनि आफूलाई एकदमै नराम्रो लाग्छ भन्या ।
डाक्टरसँग श्रीमानको सम्वाद र श्रीमान नभएका वेला आफ्नो बेडरुममा आएर आलिंगनमा बाधिएकी अर्की महिलासँग श्रीमतीको सम्वाद सुन्दा धेरैलाई नौलो लाग्न सक्छ । तर नेपालमा यस्ता समलिंगी महिला धेरै छन् । जो घर, परिवार र समाजले हेर्ने दृष्टिकोणका कारण लुकेर बस्न बाध्य छन् ।
कथाकार उषा शेरचनले लखेको तेस्रो रङगमा महिला समलिंगीको विषय मात्रै उठान गरिएको छैन, कथामा समलिंगी पुरुषको पनि विषय उठान भएको छ । तेस्रो रङग शिर्षकमा लेखिएको कथाको शुरुवात यस्तो छ, मभित्र मच्चिरहेको द्धन्द्धको लिङगे पिङ कसले देख्ने । मभित्र निरन्तर गइरहेको पहिरो कसले बुझ्ने । त्यसलाई न कसैका सामु देखाउन सक्छु, न त भन्न नै सक्छु । म कुनै मानसिक अवसादबाट गुज्रिरहेकोछु भन्ने कुराबाट बेखबर मेरा परिवारले मेरो विवाहका लागि दबाब दिइरहेका छन् र केटीका फोटोहरु हेर्न कर गरिरहेका छन् ।
तर उनले कुनै पनि युवतीलाई मन पराउँदैन् र अन्त्यमा उनी परिवारबाट टाढा गुमनाम जिन्दगीको छाता ओढेर आफू जस्तै केटा साथीसँग जीवन यापन गर्दैछन् । समलिंगी महिला र समलिंगी पुरुषको यो वेदना यो पीडा सबै समक्ष पुर्याउन कथाकार उषा शेरचनले गरेको प्रयत्न सबै कथाकारले गर्नुपर्ने बताउँछन् समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता एवं पूर्व सभासद् सुनिलवावु पन्त ।
तेस्रो रङग कथाको काठमाडौंमा भएको विमोचन कार्यक्रममा नोवेल शान्ति पुरस्कारको मनोनयनमा समेत परेका पन्तले कथामा उल्लेख भए जस्तो विवाहको दवाव आफूमा पनि आएको बताए । उनले पीडित भएर बस्नु नहुने पीडालाई तोड्नु पर्नेमा जोड दिए । समाजलाई भित्र भित्रै भुसको आगो सल्के जस्तो भष्म बनाउनु हुँदैन । हामी अगाडि आउनु पर्छ पन्तले भने, आफू पनि मुक्त हुनुपर्छ र अरुलाई पनि मुक्त हुन दिनु पर्छ । पन्तले तेस्रोलिंगी समलिंगी सँगसँगै विपरितलिंगी महिला पुरुषको जिन्दगी बर्बाद भइरहेको बताउँदै यो रोकिनु पर्छ भनेर नील हिरा समाजको अभियान शुरु भएको बताए । पन्त नील हिरा समाजका संस्थापक समेत हुन् ।
कथाको टिप्पणी गर्दै पन्तले जवरजस्ती विवाह भएका महिलाले श्रीमानलाई नाइ भन्न नसक्ने हुदाँ दैनिक बलात्कृत हुनु परेको बताए । समाजमा गौरव र लज्जित गर्ने कुरा राम्रो आचरण राम्रो काम अनि कर्मसँग नजोडी लिंगसँग जोडिनु दुर्भाग्य भएको पन्तको भनाई छ ।
साहित्यकार सन्ध्या रेगमीले समलिंगीको समस्या लुकाएर समाधान नहुने बताउँदै खुलेर समाधान खोज्नु पर्ने बताइन । समलिंगी हुनु रोग होइन, कुनै पनि संस्कृती विरुद्ध छैन रेग्मीले भनिन्, समलिंगीले समान हक अधिकार पाउनु पर्छ । समलिंगी हुनु कसैको दोष नभएको बताउँदै साहित्यकार रेग्मीले समलिंगी विवाहले मान्यता पाउनु पर्ने बताइन ।
नोनी मोरिसन नोवेल साहित्य पुरस्कार पाउने पहिलो समलिंगी हुन्, चित्रकार एवं मुर्तिकार माइकल एन्जेलो, विश्व चर्चित गायक एल्टन जोन खुलेर आएका समलिंगी हुन् रेग्मीले भनिन्, समलिंगी तेस्रोलिंगीलाई समाजमा अरु समान बाँच्न सिकाउनु सबैको कर्तव्य हो । उनले सुनिलवावु पन्त नोवेल शान्ति पुरस्कारको मनोनयनमा पर्नु नेपाल र नेपालीको गौरवको विषय भएको बताउँदै पन्तले पुरस्कार पाउने आशा व्यक्त गरिन् ।
कथाकार माया ठकुरीले समाज बदल्ने शुरुवात आफैबाट गर्नुपर्ने बताइन । तेस्रो रङग कथाकी लेखिका उषा शेरचनले समाजमा रहेका विकृती विसंगतीलाई उठाउने प्रयास गरेको बताइन । उनले भ्रममा जिन्दगी नजिउन आग्रह गर्दै भनिन, कति अनुभूति यस्ता हुन्छन् जसलाई सही भाव दिन सकिन्न । कति खुशीहरु यस्ता हुन्छन् जसलाई शव्दमा उतार्न सकिन्न । जिन्दगी बाच्ने क्रममा भेटिने सौहार्दता आत्मियता र हार्दिकताका कति पलहरु यस्ता हुन्छन जसलाई कहिल्यै पनि विर्सन सकिदैन ।
उषाको तेस्रो रङगको कथा पुस्तकमा अन्धपरम्पराका विरोधमा निकालिएका आवाजहरु, देहव्यापार गर्न बाध्य नारीको पीडापूर्ण छटपटी, मातृत्वको भोकले व्याकुल आमाको पुकार, साइवर संस्कृतिका चोटहरु, वैदेशिक रोजगारीका लागि एकोहोरिएका युवाहरु, विधवाको विलाप, दुव्र्यसनीको दुरावस्था, समलिंगीहरुका मनोभाव, सामन्ती संस्कारको दुर्गतीलाई उजागर गरिएको छ ।
यस्तै अर्को क्षितिज, सीमातीत अस्मिता, मन विस्थापित भएको छैन, अनपेक्षित बाढीपहिरो, पिंजडा आखिर पिंजडा हो, छाउपडी, मैले चुमेको आकाश, तेस्रो रङग जस्ता कथा पुस्तकमा संग्रहित छन् । १९१ पृष्टको पुस्तकमा १६ वटा कथा संग्रहित छन् भने मूल्य २ सय रुपैयाँ राखिएको छ । उषा शेरचनको यो पहिलो कथा संग्रह हो ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.