सुमन तिमल्सिना/ विराटनगर (पहिचान) साउन ४– पहिले नटुवा (नाचगान गरेर गुजारा गर्ने) भनेर चिनिने समलिंगी तेश्रोलिंगीको जीवनचर्या हिजोआज फेरिने क्रममा छ । नाच्ने गाउने अनि त्यसैबाट पाएको रकमबाट गुजारा गर्ने उनीहरु अहिले बिभिन्न ब्यवसाय मार्फत समाज र परिवारमा घुलमिल हुन थालेका छन् । सुनसरीको मधेली गाविसमा पहिला करिब दुई सय जना नटुवा थिए, अहिले त्यो संख्या घट्ने क्रममा छ । बरु मधेली २ मा समलिंगी तेश्रोलिंगी युवाले माछापालन ब्यवसायबाट राम्रो आम्दानी गर्न थालेका छन् । माछापालन गर्न थालेपछि आम्दानी पनि भएको र समाजले हेर्ने दृष्टिकोण फेरिएको मधेली स्थानीय विमाकुमारी मगरले बताइन । ‘अहिले गाउँमा नटुवा पेसा गर्नेहरुको जीवनमा परिवर्तन आएको छ’ उनले भनिन ‘गाउँमा नाचेर कसैले दिएको २/४ रुपैयाँ भन्दा आफ्नै पौरखमा बाँच्ने भएका छन् ।’
लामो समय नटुवा पेशा गरेकी गगनी चौधरी पनि माछापालनमा लागेकी छन । पहिला नाच्दै हिड्दा सबैले हेप्ने बताउने गगनी भन्छिन ‘अहिले त घरमा नै माछा पालन र बंगुर पालन गर्दै आएको छु ।’
अहिले वडा नम्बर २ मात्र १० वटा भन्दा बढी माछा पोखरी छन् । समलिंगी श्रोलिंगीको पेसा माछा मार्ने अनि बेच्न लैजाने बनेको छ । कतिपयले समाजमा घुलमिल हुनको लागि नटुवा पेसा छाडेर खेतीपातीमा लागेका छन् भने कतिपय भने नाच्न नसक्ने भएपछि माछापालन, बाख्रापालन, तरकारी खेती, कुखुरा तथा बंगुरपालन गरी आयआर्जन तर्फ लागेका छन् ।
समलिंगी तेश्रोलिंगी समुदाय नटुवा पेशा छाडेर अरु ब्यवसायमा लागेकोमाखुशी लागेको नील हिरा समाज क्षेत्रीय कार्यालय इटहरीका कार्यक्रम संयोजक विनोट वाग्लेको भनाई छ । उनीहरुलाई समाजमा पुनर्स्थापना गराउन सरकारी निकायले पनि सहयोग गरेको छ । इटहरी नगरपालिकाका समलिंगी तेश्रोलिंगी तथा एचआइभी एड्स फोकल पर्सन प्रोक्षण पोखरेलले नगरपालिकाले उनीहरुलाई समाजमा पुनर्स्थापना गर्न सहयोग गरेको बताए । नगरपालिकाको निर्णयक तहमा समेत उनीहरुको सहभागिता हुने गरेको पोखरेलको भनाई छ । सुनसरीमा तीन हजार ५ सय समलिंगी तेश्रोलिंगी नीलहिरा समाजको सम्पर्कमा छन् ।
(यो खवर उज्यालो अनलाइनबाट साभार गरिएको हो )
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.