इन्दिरा न्यौपाने/हेटौडा (पहिचान) पुष २३ – साच्चै नै मानिसले सोचेजस्तो जीवन जिउन कसैले पनि सक्दैन । नौ महिना गर्भमा बोकेर जन्म दिने आमा र जन्मन अधिकार दिने बाबुले आफ्नो सन्तानलाई आफुले सोचे अनि चाहेको जस्तो बनाउन असमर्थ भईदिन्छन् । स्वयम् व्यक्ति पनि आफ्नो भविष्य सुन्दर बनाउन र आमा बाबुको सपना साकार पार्न हरपल प्रयास गरिरहेका हुन्छन् । यही प्रयास स्वरुप कतिले स्याबासी पाउछन् त कतिले सजाय ।
हरेक व्यक्ति जीवनमा सिक्दै अनि सिकाउदै अघि बढिरहेको हुन्छ । सिकाईले नै मान्छेलाई धेरै असर पारिरहेको हुन्छ । राम्रो कुराको सिकाईले व्यक्ति असल बन्छ भने खराब कुराको सिकाईले ऊ नराम्रै बाटोतिर लम्किरहेको हुन्छ । तर हर मानिसले जीवनको कुनै न कुनै मोडमा जानेर या अन्जानवश गैर कानुनी काम गरेकै हुन्छ । ति कामहरु मध्ये कति माफी दिन लायक हुन्छ त कति अपराध । जुन कामले व्यक्ति अपराध ठहरिन्छ , उनीहरु कानुन बमोजिमको सजाय भोग्न बाध्य हुन्छन् । यही सजाय दिलाउनको लागि नेपाल सरकारले देशका विभिन्न ठाँउमा कारागार बनाएको छ । जसमध्ये मकवानपुरको भिमफेदीमा रहेको क्षेत्रिय कारागार पनि एक हो । जहाँ ५ सय २९ जना पूरुष बन्दीहरुलाई कैद गरिएको छ भने महिला बन्दीहरुको लागि छुट्टै भवन निर्माण हुदैछ ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी समुदायको विविध मुद्दामा वकालत गर्दै आएको सस्था “फ्रेण्ड्स हेटौडा” ले समलिंगी तेस्रोलिंगीको मुद्दा मात्र नभई समाजका हरेक क्षेत्रका मुद्दाहरुमा अवोलकन गर्ने र हेर्ने गर्दछ । यसै अनुरुप हामी फ्रेण्ड्स हेटौडा परिवार नै भिमफेदी कारागारको वस्तुस्थिती बुझ्न र कैदीहरुको स्वास्थ्य स्थिति के छ ? जान्नको लागी त्यहाँ गयौं । दश जनाको हाम्रो यात्रा अघि बढ्यो । भिमफेदी जाने बसमा चढ्यौ । हामी सबै रमाईरहेका थियौ, बस बिस्तारै अघि बढ्यो । कोही बाहिरको दृश्य अवलोकन गर्दै थिए त कोही आफु आफुमा गफ गर्दै थिए ।
तर म भने मनमा अनेकौ प्रश्न प्रति प्रश्नहरु खेलाइरहेको थिएँ । हुन त त्यो कारागार भ्रमण बिल्कुलै नौलो भने थिएन । किनकी आज भन्दा झण्डै ५ वर्ष अगाडी त्यहि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्रमा काम गर्न बस्दाको फुर्सदको समयमा डा. हाफिस अलामले स्थलगत अवलोकन भ्रमण गराउने क्रममा लिएर जानुभएको थियो । तर त्यतिखेर जम्मा ८०÷८५ जना कैदीहरु मात्र थिए। कैदीलाई राख्नको लागि थप भवन बन्दै थियो । सानो घेराबीचमा मन्दिर र नुहाउने धारो थियो ।
कोही नुहाइरहेका ,कोही क्यारिमबोर्ड खेलिरहेका, कोही चाहि मुढाँ बनाउन व्यस्त । एउटा छुट्टै किसिमको रमाइलो । तर आज ५ वर्षपछि त्यहा जादा केही फरक पाए । ५ सय २९ जना कैदीहरु, भवन एरिया ठुलो र फराकिलो बिचमा मैदान, महिलालाई राख्नको लागि थप भवन निर्माण भैरहेको, केही क्षणको लागि रहदा त्यति ठाँउ ठुलै लाग्यो र आनन्ददायक पनि ।
हामी त्यहा जानुको मुख्य उद्देश्य भनेको कारागरको अवलोकन गर्ने, कैदीहरुको स्वास्थ्य अवस्था थाहा पाउने, एचआईभि एड्स, यौन रोगको साथै यौनिक तथा लैंगिक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीको बारेमा जानकारी दिनु नै मुख्य थियो । यही उद्देश्य पुरा गर्नको लागि हामीले जिल्ला प्रशासन कार्यालयबाट अनुमती पत्र लिएर गएका थियौं । त्यहाको कारागार प्रशासन र प्रहरी प्रशासनको सहयोग लिएर कारागारभित्र प्रवेश गर्यौं ।
त्यहाको नियम अनुसार कुनै पनि कैदीसँग दोहोरो कुरा गर्न नपाउने, मोवाइल, क्यामरा तथा रेकर्डिङ्का कुनै पनि साधन भित्र लान नपाउने र अनुमति अनुसारको कृयाकलापमा मात्र संलग्न भई काम गर्नुपर्ने थियो । सोहि अनुसार त्यहाका व्यवस्थापकले सबै कैदीहरुलाई मैदानको फराकिलो ठाँउमा जम्मा हुन आग्रह गर्नुभयो । ५ सय २९ जनाको ठुलै जमात थियो । हामीले हाम्रो उद्देश्य पहिले नै प्रशासनलाई जानकारी गराइसकेको हुदा एक सुरक्षाकर्मीले हाम्रो उद्देश्यबारे बताईदिए ।
यही अनुसार कार्यालय प्रमुख सुरज थापा, सी एम कमल तिमल्सिना र बलिराम चौधरीले एचआइभि एड्स, यौन रोग र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको बारेमा सामान्य जानकारी दिए । कैदीहरुको स्वास्थ्य अवस्था बुझ्दा धेरैलाई छाला सम्बन्धी रोग भएको बताए । आफु अपराधी नै भए पनि अफ्नो रगतमा अपराध नभएको र रक्तदान गर्ने इच्छा धेरैमा रहेको जानकारी गराए । अहिलेसम्म कुनै पनि संघसस्था नआएको भन्दै हामी गएकोमा खुशी व्यक्त गरे र स्वास्थ्य सम्बन्धी विविध कार्याक्रम लिएर आउन पनि अनुरोध गरे ।
त्यहाका कैदीहरु २०÷२२ वर्षदेखी ६०÷६५ वर्ष उमेर समुहका देखिन्थे । त्यसमा पनि २० देखि ४० वर्ष उमेर समुहका व्यक्तिहरु बढी देखिन्थे । हेर्दा माया लाग्दो अनुहार अपराधको छायासम्म पनि पाउन मुश्किल थियो । तर विना अपराध कोही पनि त्यस ठाँउमा पुगेको भने पक्कै होइन । एउटा सामान्य खेती किसान गर्ने, कटेरोमा बसी दिनभरी कमाएर बिहान बेलुकाको छाक टार्नेहरु देखि ठुल्ठुला उद्योग व्यवसाय संचालन गरेका व्यक्तिहरु पनि सरकारबाट प्राप्त दैनिक ७०० ग्राम चामल र रु.४५ बराबरको दाल तरकारी खादै कैद जीवन बिताइरहेका छन् ।
हाम्रो उद्देश्य अनुसारको कृयाकलाप गरिसकेपछि त्यहाका व्यवस्थापकहरुसँग बिदा हुदै हामी निस्कियौं । मेरो मनमा अनेकथरी कुराले डेरा जमाउन थाल्यो । किन मान्छे अपराध गर्छन् ? कसरी अपराधी हुन्छन् ? मेरो मन शान्त नै भएन । तर फर्कदा मेरो टाउको बेस्कन दुखेकोले घर आएर सुतिहालें । जब टाउकोको दुखाई कम हुदै गयो, मनमा बेचैन बढ्दै गयो । नेपाल सरकारले ठाँउ ठाँउमा विद्यालय भवन र सर्वसुलभ अनि नैतिकवान शिक्षाको लागि पहल गरेको भए आज विद्यालय भन्दा पनि ठुलो कारागार निर्माण गर्नुपर्ने थिएन होला । एउटा विद्यालयमा शिक्षा प्राप्त गर्नेहरुको संख्या भन्दा अपराध गरेर कारागारमा कैद जीवन भोग्नेको संख्या बढ्दो छ । आखिर किन हुदैछ यस्तो ? यो प्रश्न राज्यलाई नै जान्छ ।
देश निर्माणमा जुट्नुपर्ने लाखौ युवाहरु वैदेशिक रोजगारमा होमिएका छन् । जो देशमै छन् उनीहरु पनि रोजगार नपाएर छट्पटाइरहेका छन् । अनि धेरै युवाहरु आफ्नो पेट भर्नकै लागि पनि गैररकानुनी काम गर्न बाध्य भएका छन् । तिनै व्यक्तिहरु अपराधी घोषित भएका छन् र कैदखानामा बन्दी भएका छन् । देशमा कि बृद्द छन् कि बालक । युवा शक्ति नै नभएको देशमा संविधान कहिले आउने अनि देश निर्माण कसले गर्ने ???????
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.