काठमाडौ (पहिचान) फागुन ६ – समलिङ्गी विवाह र बैबाहिक जीवन धेरै कौतुहलता र साथै प्रतिरोधको पनि विषय बन्ने गरेको छ । यौ कौतुहलता एक किसिमले स्वाभाविक पनि छ । किनकि समलिङ्गीपना, समलिङ्गी सहबास, विवाह, यौनिकता, दाम्पन्य, सन्तान उत्पादन, सामाजिक जीवन आदि केहि भिन्दै प्रकृतिको रहेको छ र विपरिलिङ्गीभन्दा समलिङ्गीहरु धेरै अल्पसंख्या र अल्पशक्तिमा पनि छन् ।
समलैङ्गिकता वर्तमानको उपज होइन । समलिङ्गी यौनिक सम्वन्ध, दिगो समलैङ्गिकता र त्यस्तो सहवासका साथै समलिङ्गी बैवाहिक सम्वन्ध मानव समाजमा हजारौ वर्षदेखि विद्यमान छ । कुनै कालमा, सत्तामा, अर्थतन्त्रमा र संस्कृतिमा समलैङ्गिकता खुम्चिएको प्रतीत हुन्छ भने कुनैमा अलि खुला देखापर्छ ।
समलैङ्गिकताबारे लामो कालसम्म सबैभन्दा आम कौतुहलता लगायत बैज्ञानिक खोजको विषय पुरुष वा नारी किन समलैङ्गिक हुन्छन् भन्ने नै रह्यो । यो प्रश्न आजपर्यन्त खोजीकै विषय रहेको छ । अर्थात समलैङ्गिकताको आधार वा श्रोत के भन्ने प्रश्न सर्वस्वीकार्य उत्तर अहिलेसम्म पनि भेटिएको छैन । त्यसो त समलिङ्गी कोणवाट आउने प्रश्न, विपरितलैङ्गिकताको आधार वा श्रोत के हो त? भन्ने कुराको समेत पूर्ण र सर्वस्वीकार्य उत्तर आउन सकेको छैन ।
तर पनि समलैङ्गिकताको श्रोत वा आधारका रुपमा निम्न चार दृष्टिकोणहरु हाम्रा सामु छन् । पहिलो, समलैङ्गिकताको चर्को विरोध गर्नेहरुले समलैङ्गिकता रोग हो भन्ने दृष्टिकोण राख्छन् । रोग भएकोले यसको निदान र उपचार आवश्यक छ । यहि कोणबाट आउने अर्को उत्तर हो सिकेर, नक्कल गरेर समलिङ्गी बनिने हो । त्यसैले समलिङ्गीहरुले सिकेको, नक्कल गरेको बानी त्याग्नु पर्छ र समलैङ्गिकता सिकिने, नक्कल गरिने सामाजिक थलोहरुको सुधार गर्नुपर्छ । तर यो दृष्टिकोणको वैज्ञानिक वैधता न्यून बनेको छ । विश्व स्वास्थ्य संगठनले ४० वर्ष यतादेखि समलैङ्गिकता रोग होइन र समलिङ्गीहरु रोगी होइनन् भन्ने निक्र्यौल निकालेका छ । खास उमेरमा, खास अवस्थामा र विरलै रुपमा गरिने समलिङ्गी कार्यलाई सिकेको, नक्कल गरिएको सायद भन्न सकिएला तर तिखो र दिगोरुपमा सामाजिक वहिष्कार समेत खपेर गरिने दिगो समलैङ्गिक अभ्यास र सामाजिक सम्वन्ध नक्कल वा सिकाइको परिणाम हुन सक्दैन । तसर्थ यसका कारण अरुतिरै खोज्नुपर्ने हुन्छ भन्ने धेरै विशेषज्ञहरुको राय पाइन्छ ।
तेश्रो कारण भने समलैङ्गिकता प्राकृतिक र जन्मजात हो भन्ने हो । मनुष्यहरुमात्र नभएर सारा प्राणी जगतमा कोही विपरिलिङ्गी हुन्छ त कोही समलिङ्गी । यसैकारण समलिङ्गीपना पहिले पनि थियो, अहिले पनि छ र भविष्यमा पनि भइनै रहनेछ । यो अर्थमा नितान्त प्राकृतिक अर्थात प्रकृति प्रदत्त, मानवीय र सामाजिक कारकतत्वभन्दा वाहिरको गुण र वास्तविकता हो । कोहि पनि जानेर, छानेर, इच्छा गरेर वा अभ्यास गरेर समलिङ्गी वा विपरितलिङ्गी हुँदैन । तसर्थ कुनै पनि समलिङ्गी आफ्नो इच्छाले, सिकेर जानेर, बुझेर समलिङ्गी भएको हुँदैन । समलिङ्गी हुनु वा विपरितलिङ्गी हुनुमा न कसैको दोष छ न गुण । यस्तो आफ्सेआफ होइन्छ र यो हुनु समलिङ्गी या विपरितलिङ्गी व्यक्तिको वा उसको समाजको नियन्त्रणमा छैन । तसर्थ विपरितलिङ्गीलाई झै समलिङ्गीलाई पनि बाटो खोल्नु र समलैङ्गिकतालाई र साथै समलिङ्गी सहबास र विवाहलाई आत्मसात गर्नु वा वैध तुल्याउनु एकमात्र उत्तम राजनीतिक, आर्थिक र कानुनी नीति र व्यवहारिक विकल्प हो । यो स्वाभाविक छ कि अधिकाँश समलिङ्गीहरु यो दृष्टिकोण बोक्छन् ।
कारण बारेको चौथो दृष्टिकोण समलिङ्गीपना सिकेर हुँदै होइन, तर जन्मजात मात्रै पनि होइन भन्ने रहेको छ । सारमा सवैखाले लैङ्गिकताको भ्रुण जन्मजात रहेको हुन्छ । जन्मेपछि हुर्कने र त्यसपछि बयस्क हुने क्रममा कुनै भ्रुण मौलाउँछन, कुनै विनास भएर वा दुर्वल भएर जान्छन् भन्ने यो दृष्टिकोणले एकातिर जन्म र प्रकृतिका साथै अर्कोतिर सामाजिक वातावरण र हुर्काई दुवैलाई समलैङ्गिकता मात्र होइन सवैखाले लैङ्गिकताको कारक मान्छ । सिकेर, इच्छा गरेर, नक्कल गरेर समलिङ्गी हुने होइन तर जन्मजात विशिष्ट प्रकारको लैङ्गिकता परिपक्क हुने पनि होइन । साथै समलिङ्गी हुनु वा नहुनु कुनै व्यक्तिको आफ्नो नियन्त्रणमा छैन । त्यसैले कुनै पनि व्यक्तिलाई आफ्नो लैङ्गिकता हासिल गरेकोमा तारिफ गर्नु वा दोष दिनु दुवै उत्तिकै अनुचित ठहर्छ भन्नेमा यो दृष्टिकोण विश्वास राख्छ ।
समलैङ्गिकता बारेको अर्को खोजी र बहस समलिङ्गी मैथुन, सहवास र दाम्पत्य जीवन र वैवाहिक सम्वन्ध, धर्म पुत्रपुत्री वा जैविकरुपले आफ्नो बालबालिका हुर्काउने (र महिला समलिङ्गीको हकमा कृत्रिम गर्भाधानद्वारा बच्चा जन्म दिने समेत), रोजगारी, सम्पत्ति र अंशवण्डा बारेको छ । यहाँयी आयामहरुबारेको खोजी र बहसबारे छोटो चर्चा गर्नु आवश्यक देखिन्छ ।
कतिपय मुलुकमा समलिङ्गी मैथुन कानुनी रुपले दण्डनीय थियो र छ । नेपालमा पनि यो दण्डनीय थियो । तर अहिले छैन । समलिङ्गीहरु समाजमा छन् । विपरित लिङ्गीहरुमध्ये केहिले इच्छा गर्दैमा यी लोप हुँदैनन् र समलिङ्गी सहवासले नियन्त्रणलाई खुकुलो पार्दै लगेको छ ।
समलिङ्गी सहवास अर्थात दुई समलिङ्गीहरु दीगोरुपमा दाम्पत्य विताउनेको सन्दर्भ बारेको खोजी, बहस र अभ्यास अझ चाखलाग्दो छ । यसै सहवासको विरोधीहरुले सो सहवास पापपूर्ण, अनैतिक, गैरकानुनी हो भन्ने गरेका छन् । वयस्क विपरितलिङ्गीहरुलाई समेत समलिङ्गी सहवासले गलत मान्यता र व्यवहार सिकाउन सक्ने दावी पनि गरेका छन् । साथै समलिङ्गी सहवास दीगो नहुने मान्यता पनि उनीहरुको छ । अझ समलिङ्गी दम्पतिलाई धर्मपुत्रपुत्री हुर्काउन दिन नहुने र त्यसो गर्दा ती बालबालिका माथि यौनअपराध हुन सक्ने र अझ ती बालबालिका समलिङ्गी बनेर निस्कने दावी वा शंका पनि उनीहरुको रहि आएको छ । उता समलिङ्गी र उदारवादी दृष्टिकोण भने समलिङ्गी सहवास र विवाह मार्फत उनीहरुलाई दाम्पत्यभित्र निम्त्याएर निकास दिनुपर्ने यस्तो सहवास आधारभूत मानव अधिकार भित्र पर्ने र यसो गर्दा सार्वजनिक क्षेत्र र जीवनमा यौनिक र अन्य व्यभिचार र अपराध न्यून हुने धारण रहेको छ ।
यी दुवैखाले दावीहरु सम्पूर्णतया सत्य र असत्य प्रमाणित गर्न चाहिने तथ्य, तथ्याङ्क नेपालमा वा अन्य कहि पनि हालसम्म छैन । तर यीमध्ये केही दावीहरु प्रारम्भिक तहमा जाँच गर्न सकिने तथ्यहरु र तिनमा आधारित लेखहरु भने प्राप्त छन । तथ्याङ्क र लेखहरुले के देखाउँछ भने समलैङ्गिकता इच्छा गरेर प्राप्त गरिने वा देखासिकी गरेर वा लहलहैमा लागेर आफु त्यसैमा लम्पट हुन सकिने गुण वा दुर्गुण होइन । समलिङ्गी हुन सिक्नु र लागुपदार्थ खान सिक्नु एउटै तहको सिकाई होइन । समलैङ्गिकता इच्छा गरेर सिक्न सकिदैन । समलिङ्गी सहवासको अवधि विपरित लिङ्गी सहवास भन्दा सेख्खैमात्र छोटो हुने गरेको छ । समलिङ्गीहरुको पारपाचुके दर विपरित लिङ्गीहरुकोभन्दा अलिकति मात्र धेरै छ । तर समलिङ्गीहरु सामाजिक दवाव, प्रताडना र वञ्चितिकरणमा पनि परेका हुन्छन् । त्यस परिधीभित्र उनीहरुको सहवास केहि कम दिगो हुनु स्वाभाविक मान्न सकिने तर्फ पनि विद्वानहरुले औंल्याएका छन् । उता समलिङ्गीहरुले हुर्काएका वालवालिका माथिको यौन अपराध दर औसत भन्दा बढी नभएको र समलिङ्गीहरुले हुर्काएका बालबालिकाहरुको समलिङ्गी बन्ने अनुपात विपरित लिङ्गीले जन्माएका र हुर्काएका बालबालिकाहरुको समान हुने तथ्य पनि उनीहरुले प्रस्तुत गरेका छन् ।
समलिङ्गी सहवासलाई विश्वका धेरै मुलुकहरुले कानुनी मान्यता दिएपनि समलिङ्गी विवाह स्वीकार्ने मुलुकहरु भने हालसम्म १७ वटा मात्रै छन् । केहि मुलुकमा, खास गरेर अमेरिकामा प्रान्त–प्रान्तबीच फरक फरक कानुनी मान्यता छ र ३० वटाभन्दा बढी राज्यमा समलिङ्गी विवाहले मान्यता पाइसकेको छ । तर ख्याल राख्नुपर्ने तथ्य यो पनि छ की आधुनिक विश्वमा पहिलो समलिङ्गी सहवास २२ वर्षअघि मात्र कानुनसम्मत बनेको हो र पहिलो समलिङ्गी विवाह कानुनी मान्यता दिने कानुन१३ वर्षअघि मात्र आएको हो । यो छोटो अवधिलाई मनन् गर्ने हो भने समलिङ्गी सहवास र विवाहप्रति विश्वका धेरै मुलुक र समुदायहरु एकदमै छोटो अवधिभित्रनै धेरै सकारात्मक बन्दै गएका छन् ।
समलिङ्गी सहवास कानुनसम्मत भएका मुलुकहरुमा पनि समलिङ्गीहरुले एकै किसिम र तहका अधिकार प्राप्त गरेका छैन्न । तर पनि धेरै यस्ता मुलुकहरुमा दाम्पत्य जीवन विताउन पाउने, एकअर्काको उत्तराधिकार र अंशियार हुन सक्ने, सवैभन्दा नजिकको नातेदार तहको कानुनी हैसियत हुने आदि अधिकार प्राप्त भएका छन् । सहवासको कानुनले नदिने प्रायसः दुई किसिमको अधिकार मात्र हो । पाहिलो धर्मपुत्रपुत्री राख्न पाउने अधिकार र दोश्रो सवैभन्दा महत्पूर्ण विवाह गर्न नपाउने बन्देज ।
विवाह र सहवासमा के फरक छ?किन कतिपय मुलुकमा सहवास कानुनसम्मत भइसहेको छ तर हालसम्म थोरैमात्र मुलुकमा समलिङ्गी विवाह कानुनसम्मत छ? यद्यपी गत १० वर्षको लहरका दिशावोध गर्ने हो भने छोटो अवधिभित्रै हालकोभन्दा निकै धेरै मुलुकहरुमा समलिङ्गी विवाह कानुनसम्मत बन्ने यथेष्ट सम्भावना पनि छ ।
यसो हुनु मुख्य कारण एउटै छ । हाल आएर समलिङ्गीहरुप्रति सापेक्षिक रुपले उदार मुलुकहरु अधिकाँश युरोप र अमेरिकामा छन् । यीमध्ये अधिकाँश मुलुकका वासिन्दाहरु क्रिश्चियन धर्मालम्वी छन् । यद्यपी कतिपय धर्मको मामिलामा हाल नरम बनेका छन् । उता कतिपय मुलुकहरुमा क्रिश्चियन धर्म राज्य धर्म नभएपनि राज्य र धर्म केहि न केहि रुपले गाँसिएको छ । यस्ता मुलुकहरुमा समलिङ्गी कानुनसम्मत छैन किनकि बाइबल ९त्जभ ल्भध त्भकतबmभलत० मा समलैङ्गिकता निषेध गर्ने वाक्य परेको छ । यद्यपी बाइबालबाट सिक्नुपर्ने मुल तत्व येशुको सवैप्रतिको दया, माया, प्रेम, सदभाव र सद्व्यवहार हो वा समलिङ्गी र समलैङ्गिकताको विरोधमा लेखिएको १–२ वाक्य हुन् भन्ने बारे वलियो मतभेद छ । तर पनि बाइबलमा अंकित पाठ उल्लघंन गर्न अधिकाँश चर्च र पादरीहरु तयरछैनन् । उता क्रिश्चियन धर्मालम्वीहरुमध्ये धेरैजसो के मत राख्दछन् भने विवाह भनेको नागरिक, सामाजिक आदि कार्य हुन तर यो धार्मिक अनुष्ठान पनि हो तसर्थ विवाह चर्चमा पादरीहरुद्वारा नै सम्पन्न गरिनु पर्छ । यसरी हेर्दा समलिङ्गी विवाह बाइबल, क्रिश्चियन विश्वास र विपरित लिङ्गी विवाह पद्धतिको खिलाफमा छ । यसर्थ युरोप र अमेरिकाको कपिपय राज्यसत्ताहरु नागरिक, सामाजिक, राजनीतिक हिसावले समलिङ्गी सहवासको लागि राजी भइसकेका छन् भने कतिपय समलिङ्गी विवाहबारे हाल अन्यमनस्क रहेका छन् वा विरोधमा रहेका छन् ।
माथिको अनुच्छेदमा कतिपय क्रिश्चियन मुलुक र धर्मावलम्वीहरु समलैङ्गिकता, समलिङ्गी सहवास र समलिङ्गी विवाहबारे हाल आएर उदार बनेका छन् भनियो । यहाँ हाल आएर भन्ने वाक्याँश जोडदिएरै भन्न खोजिएको हो । क्रिश्चियन मुलुकहरु यसरी उदार हुन शुरु गरेको आधा शताव्दी यता मात्रै हो । यसभन्दा अघि शायद कहिल्यै यति उदार थिएनन् । बरु क्रिश्चियन धर्मपूर्व अर्थात येशुकालपूर्व युृरोपका मुलुक र समुदायहरुमा खासगरी रोमन साम्राज्यमा समलैङ्गिक मान्यता र अभ्यास निकै सहज र खुला थियो । यसैगरी विश्वका कतिपय भूभाग र संस्कृति समुदायहरुमा समलैङ्गिकता अहिलेभन्दा सहज अभ्यासमा थियो । समवयस्ककाबीच र अझबढी प्रत्यक्ष रुपमा सामाजिक–आर्थिक हैसियत र उमेर अनमेल समुह र व्यक्तिहरुकाबीच समलिङ्गी यौनकर्म प्रचलनमा रहेको थियो ।
यसै गरेर वर्तमान नेपालको लागि अझ बढी उपयोगीरुपले सायद यो पनि भन्न सकिन्छ कि हिन्दू, बौद्ध र अरु धर्महरुमा समेत समलैङ्गिकता र अन्य लैङ्गिकताहरुले स्थान पाएको थियो र छ । कामको अर्थ यौन भन्दा धेरै विस्तृत छ । तर काममध्ये यौनकर्म पर्छ र काम जीवनको चार उद्देश्यहरुमध्ये एक थियो । अर्धनारीश्वर, मञ्जुश्री, शिखण्डी, हिन्दु मन्दिरहरुको टुडाँलका यौनकलाकर्म साथै मारुनी, झाक्रीहरुको भेशभुषा र व्यवहार आदिले नटुवा आदिको सामाजिक मर्यादा अलि निम्न तहको भए पनि समाजले उनीहरुको अस्तित्व स्वीकारेको र सीमित दायराभित्र समलिङ्गीहरुको विशिष्टतालाई सम्मान गरेको समेत देखिन्छ । अर्थात समलैङ्गिकता समाजको अभिन्न अंग हो भन्ने स्वीकारेको र समलिङ्गीहरुलाई विशिष्ट भूमिका समेत प्रदान गरेको देखिन्छ । निषेध गरेको देखिदैन ।
साराँशमा समलिङ्गी मैथुन, सहबास, विवाह र समष्टिगत समलैङ्गिकता बुझ्ने र स्वीकार्ने सवालमा विपरितलिङ्गी विवाह र वैवाहिक सम्वन्धमा झै समलिङ्गी सहवास र विवाहमा पनि जहिँकहिँ ऐतिहासिक रुपले धेरै परिवर्तन र उतारचढाव आएको देखिन्छ । नेपाल र दक्षिण एशियाली समाज र समुदाय समलैङ्गिकताबारे झण्डै २००० वर्षयता अन्य समाज र समुदायभन्दा उदार रहेको देखिन्छ । गत आधा शताव्दीभित्र भने युरोप र अमेरिकाका समाज र समुदायहरु समलैङ्गिकता, समलिङ्गी सहवास र समलिङ्गी विवाहबारे अन्य समाज र समुदायभन्दा उदार भएर प्रस्तुत भएका छन् । समलैङ्गिकताको अर्को पाटो साधन, विस्तारित र तीक्ष्ण भेदभाव र बहिस्करणको हो । शिक्षणमा, रोजगारीमा, सम्पतिमा, अंशमा, पारिवारीक र अन्य कतिपय सामाजिक सम्वन्धमा, प्रेम र सदभावमा, नागरिक अधिकारको बन्दोबस्तमा र उक्त अधिकारको प्राप्तिमा यो सघन विस्तारित र तीक्ष्ण भेदभावको पुनरावलोकन गर्ने स्थान यो होइन । यद्यपी यी भेदभाव र बहिस्करणहरुलाई न्युनीकरण नगर्दा लोकतन्त्रको, खुला र बहुल राजनीतिको, लोककल्याणकारी राज्यको र समतामूलक समाजको सृजनाको सम्भावना कमजोर हुन्छ र यसबाट समान नागरिक अधिकारको संरचना खोटो र कमजोर रहेको मान्नु पर्ने हुन्छ ।
यहाँको मूल सन्दर्भ भने एकातिर यी भेदभाव र अर्कोतिर समलिङ्गी सहवास र विवाहबीचको सम्वन्धको बारेमा हो । समलैङ्गिक सहबास समाजमा विद्यमान छ भनेर स्वीकार्न सक्दा र समलैङ्गिक सहवास वा विवाहले समलिङ्गी लगायत विपरितलिङ्गी र समष्टिगत समाजको हित गर्छ र अहित गर्दैन भन्ने आम निक्र्यौलमा पुग्दामात्र माथि भनिएका र अन्य भेदभाव र बहिष्करणका पाटाहरु खुम्चिदै जाने हुन्छ । यो प्रकृयाको आरम्भ भने राज्यले र सरकारले राजनीतिक, आर्थिक, साँस्कृतिक, शैक्षिक र कानुनी नेतृत्वले नै गर्नुपर्छ । सहवास वा विवाहको अधिकार प्रदान नगर्दा भने यी भेदभाव र बहिष्करणका पाटाहरु दिगो हुने यथेष्ट सम्भावना रहन्छ ।
साभार ः यो समलिंगी बिवाहबारे अध्ययन गर्न बनेको समितिले सरकारलाई बुझाएको प्रतिवेदनको एक अंश हो ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.