काठमाडौं (पहिचान) असार १३ – समलिंगी विवाह गर्न दिने कि नदिने भन्ने दसकौँ लामो बहस अब अमेरिकामा अन्त्य भएको छ। युएस सुप्रिम कोर्ट (सर्वोच्च अदालत) ले पुरुष -पुरुष र महिला -महिलाबीच हुने वैवाहिक सम्बन्धलाई संवैधानिक मान्यता दिएको हो । ‘यो स्वतन्त्रतालाई अस्वीकार गर्न मिल्दैन’, ऐतिहासिक फैसलामा भनिएको छ, ‘विवाहजत्तिको ठूलो मिलन अर्को हुन सक्दैन किनभने यो प्रेमको उच्च आदर्श, इमान्दारी, समर्पण, बलिदानी र परिवारको प्रतीक हो।‘
९ जनाको फुल कोर्टमा समेत समलिंगी विवाहलाई संवैधानिक मान्यता दिने विषयमा पक्षविपक्ष भएको थियो। अन्त्यमा फैसलाको पक्षमा ५ जना र विपक्षमा ४ जना उभिएपछि न्यायाधीश एन्थोनी एम केन्नेडीले ऐतिहासिक फैसला लेखेका थिए। सामाजिक व्यवस्थाको मूल आधार विवाह भएको उल्लेख गर्दै न्यायाधीश केन्नेडीले निवेदकले ‘कानुनका आँखामा समान इज्जत’ माग गरेको बताए। समलिंगी विवाहबारे अमेरिकाको सुप्रिम कोर्टको फैसलाको अर्थ के हो ? ‘उच्च अदालतको यो फैसलामाथि चित्त नबुझे अमेरिकी राज्यहरुले पुनर्विचारका लागि उच्च अदालतलाई अनुरोध गर्न सक्छन् तर त्यस्तो खाले अनुरोध हुने सम्भावना छैन। अर्थात, सन् २०१५ जुन २६ समलिंगी विवाहलाई संवैधानिक मान्यता दिएको एउटा ऐतिहासिक दिनका रुपमा यो सम्झिइने छ’, न्युयोर्क टाइम्सले लेखेको छ, ‘अब समलिंगी विवाहमाथि प्रतिबन्ध लगाएका १४ राज्यमा यी राज्यले समलिंगी विवाहमा रोक लगाउने कानुन संशोधन गर्नुपर्नेछ र समलिंगी जोडीहरुलाई विवाह गर्न दिनुपर्ने छ।‘
कतिपय राज्यहरुमा समलिंगी जोडीहरुलाई विवाह दर्ताको प्रमाणपत्र दिन थालिसकिएको छ। अमेरिकाका ३६ राज्यले भने समलिंगी विवाहलाई कानुनी मान्यता दिइसकेका छन्। तर चर्च जस्ता धार्मिक संस्थाले भने समलिंगी विवाह गराउनैपर्छ भन्ने छैन। गत मे महिनामा प्यु रिसर्चले गरेको अनुसन्धानले ५७ प्रतिशत अमेरिकी समलिंगी विवाहका पक्षमा रहेको देखाएको थियो। यस्तै ग्यालपपुलले मे महिनामा गरेको अनुसन्धानले ६० प्रतिशतले यस्तो विवाहलाई कानुनी मान्यता दिनुपर्ने पक्षमा रहेको बताएका थिए। विलियम इन्स्टिच्युटका अनुसार अमेरिकामा हाल तीन लाख ९० हजार समलिंगी विवाह बन्धनमा बाँधिएका छन् भने अन्य ७ लाखजनाले आउँदो तीन वर्षभित्र विवाह गर्नेछन्। संस्थाका अनुसार अमेरिकामा १० लाख समलिंगी जोडी छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.