भाषा शर्मा /असार २१ – मकवानपुरमा हुर्किएकी एक ब्राह्मण गाउँले युवतीले आफूजस्तै अर्की युवतीलाई मन पराउन थालिन् । स्कुलमा सँगै पढ्ने दुवैको बानीव्यवहार युवकको जस्तै देखिन थाल्यो । लवाइखवाइ मात्र होइन घरमा पनि उनीहरू ‘छोरोमान्छे’कै स्वभाव देखाउँथे । अचम्म त, उनीहरू छोरी भएर जन्मिए, छोरीप्रति नै आकर्षित हुन थाले । उनीहरूको ‘रसायन’ मिलेकै कारण हुन सक्छ— दुवैले आफ्नो मनको इच्छा एकापसमा खोले । समर्पित भए । प्रेम सम्बन्धमा बाँधिए ।
एसएलसी सकेर काठमाडौं आएका उनीहरूले केटा र केटीको जस्तै नाम बनाए— संस्कार र संस्कृति । अहिले दुवै जना एकै संस्थामा काम गर्छन् । केटाकै पोसाकमा देखिने संस्कार हरपल पुरुषझैं देखिन प्रयासरत हुन्छन् । संस्कृति त केटीजस्तै देखिने भइहालिन् । घरबेटीलाई समेत विवाहित दम्पतीको चिनारी दिएका छन्, उनीहरूले । तर, डर छ— परिवारका सदस्यले आफ्नो रहस्य खोलिदिने पो हुन् कि !
२१ वर्षे संस्कृतिको घरमा अहिले विवाहको कुरा चल्न थालेको छ । यसअघि नै आफ्नी साथी ‘संस्कार’सँग ‘बिहे’ गरिसकेको परिवारलाई पत्तो छैन । यसबारे बताउन पनि सकेकी छैनन्, उनले । कुनै केटासँग बिहे छिनिदिए त्यसलाई स्विकार्ने पक्षमा त छैनन् नै यथार्थ कुरा सुनाउने साहस पनि उनमा छैन । वास्तवमा यी दुई युवती समलिंगी हुन् ।
उनीहरूले आफ्नै इच्छामा विवाह त गरे तर सन्तान उत्पादन गर्न सक्दैनन् । दुवैमा सन्तानको मोह छ । ‘भविष्यमा राम्रो जीवन बिताउन सकियो भने धर्म सन्तान पाल्ने विचारमा छौं,’ दुवैले आफ्नो इच्छा सुनाए ।
पुरुषले महिलालाई विवाह गरेर लैजाने नेपाली समाजको संस्कार हो । समलिंगीहरूमा भने फरक छ । उनीहरूले विवाह गर्ने इच्छा राखे एक जना पुरुष बन्छन्, अर्को महिला । ‘पुरुषत्व’ देखाएर महिलालाई विवाह गर्छन् । नाम पनि महिला पुरुषकै राख्छन् । ‘मैले उनलाई पहिलेदेखि नै प्रेम गर्थें, अहिले विवाह गरे संस्कार भन्छन्, ‘परिवारले स्विका¥यो भने म घरमै भित्रयाउन तयार छु ।’ संस्कृतिलाई पनि उनको घरमा बुहारी बनेर जाने रहर उत्तिकै छ । ‘परिवार र समाजले सहज रूपमा लिए हामीलाई जीवन बिताउन अफ्ठ्यारो छैन,’ उनी ढुक्क छिन्, ‘म त उनकी पत्नी भइसकेँ ।’
घरपरिवार र समाजले उनीहरूको प्रेम स्वीकार नगर्दा घरै छोड्नुप¥यो । ‘हामी समलिंगी भए पनि सामान्य व्यक्तिले झैं घरजम गरेर बस्ने रहर छ,’ उनीहरू भन्छन्, ‘अझै पनि हाम्रो समाज यस्ता कुरामा खुल्न सकेको छैन ।’
संस्कारले खाना पकाउन खासै रुचि राख्दैनन्, तर भान्सामा सघाउँछन् । संस्कृति खाना पकाउँछिन् । कपडा भने दुवैले मिलेर धुन्छन् । आफूहरूमा कुनै काममा भेदभाव नहुने उनीहरू बताउँछन् ।
संस्कार–संस्कृतिजस्ता नेपालका अन्य समलिंगी जोडीले पनि विवाह गरिसकेका छन् । तर खुलेर बाहिर आउन सकेका छैनन् । आफ्नै अनुकूलतामा परिवारलाई ढाँटेर घरभन्दा टाढा बस्न बाध्य छन् ।
हेटौंडाका तामाङ युवती ललिता र कविताले पनि एक–अर्कालाई जीवनसाथीका रूपमा स्विकारिसकेका छन् । पुरुष स्वभावका ललिता पछि ललित बने र कवितालाई बिहे गरे । परिवारले असहमति जनाएपछि उनीहरू अहिले वैवाहिक सम्बन्ध लुकाएरै बस्न वाध्य भएको बताउँछन् ।
छोरीछोरीको विवाह हुन सक्दैन भनेर आफन्तबाट नराम्रो व्यवहार खप्नुपरेको दुखेसो गर्छन्, उनीहरू । ‘अहिले विवाह नै गरिसक्यौं त्यसैले जीवनभर हामी छुट्टिन सक्दैनौं,’ ललितको गुनासो छ, ‘तर, हाम्रो इच्छालाई कसैले बुझ्दैन ।’
यी दुई समलिंगी जोडीको समस्या प्रतिनिधि समस्या हो । परिवार र समाजले समलिंगी विवाहलाई सहजै नस्विकार्दा उनीहरू घर छोड्न बाध्य छन् । नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङका अनुसार नेपालमा चार सय बढी ‘पुरुष–पुरुष,’ ‘महिला–महिला’ र ‘तेस्रोलिंगी’ जोडीले विवाह गरे पनि परिवारभन्दा अलग छन् ।
सन् २०१३ मा नील हिरा समाजले गरेको एक अध्ययनमा नेपालमा ३.६५ प्रतिशत एलजिबिटीआई (यौनिक तथा लैंगिक अल्पसंख्यक समलिंगी, तेस्रोलिंगी समूह) व्यक्ति रहेको आँकलन गरेको थियो । यो भनेको कुल जनसंख्याको ९ लाख ६७ हजार ४९ जना हुन आउँछ ।
व्यावहारिक समस्या
समलिंगी र तेस्रोलिंगीहरूले नागरिकताकै कारण धेरै ठाउँ समस्या झेलिरहनुपरेको छ । जन्मका आधारमा लिइएको नागरिकतामा महिला वा पुरुष उल्लेख हुन्छ । शारीरिक स्वभावका आधारमा पछि असामान्य स्वभावमा बदलिएपछि भने नागरिकताकै कारण उनीहरूलाई समस्या आइलाग्छ ।
यस्तै समस्या कैयौंपटक भोगिसकेकी छिन्, नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले । ‘तेस्रोलिंगी पछिमात्रै थाहा हुने हो,’ उनी भन्छिन्, ‘जन्मँदा एउटा जन्मन्छ, पछि ऊ विपरीत लिंगी बन्छ ।’ जन्मको आधारमा नागरिकता लिँदा यसको ठिक विपरीत हुन्छ । नागरिकतामा ‘अन्य’ प्रावधान हुनुअघि नै नागरिकता लिनेहरूलाई यसले व्यावहारिक समस्यामा पारेको छ । दुई वर्षअघि ‘अन्य’ थपिएपछि भने समलिंगी तेस्रोलिंगीले सोहीअनुसार नागरिकता लिएका छन् ।
जिल्ला प्रशासन कार्यालयले तेस्रोलिंगीको परिचयपत्र दिँदा सुरुमा अस्पतालबाट प्रमाणित कागजात माग गर्ने गरेको छ । ‘तेस्रोलिंगी, समलिंगी भनेर चिनिँदा जागिरबाट निकालिने, शिक्षामा भेदभाव हुने, बेड, शौचालय छुट्टै नहुँदा सेवा लिन समस्या हुने गरेको छ,’ गुरुङले सुनाइन्, ‘भूकम्पपछि एउटै टेन्टभित्र बस्न पनि धेरै गाह्रो भएको थियो ।’
विवाहको परिभाषामा महिला र पुरुषलाई मात्र सम्बोधन गरेको हुँदा आफूहरू सम्बन्ध लुकाएर बस्न बाध्य पीडा पोख्छिन्, उनी । बैंकमा खाता खोल्दा होस् वा घरजग्गा खरिद बिक्री गर्दा, ट्राफिकले लाइसेन्स चेक गर्दा होस् या सार्वजनिक सवारीको सिटमा बस्दा; समलिंगी, तेस्रोलिंगीहरूले संघर्ष गरिरहनुपरेको छ । नागरिकतामा पुरुष लेखिए पनि शारीरिक आवरणमा महिला देखिँदा सार्वजनिक ठाउँ वा कार्यालयहरूमा नराम्रो दृष्टि सहनुपरेको गुरुङको अनुभवले बताउँछ ।
एयरपोर्ट, अस्पताल, शौचालयजस्ता सार्वजनिक ठाउँमा महिला–पुरुष लेखिएको हुन्छ । तर, कुन लाइनमा गएर उभिने ? यस्ता कैयौं समस्या उनीहरू भोग्न बाध्य छन् ।
के छ कानुनमा
पछिल्लो दशकमा समान लिंगीका दुई वयस्क व्यक्तिबीच यौनसम्बन्ध हुने र कतिपय देशमा समलिंगी विवाहले कानुनी मान्यता पाउन थालेको छ । नेपालमा समलिंगी सम्बन्ध र विवाहको वैधताबारे छलफल हुन थालेको छ । सर्वोच्च अदालतको २०६४ पुस ६ को आदेशबमोजिम मन्त्रिपरिषद्ले २०६६ वैशाख २१ मा समलिंगी विवाहलाई कानुनी मान्यता दिनेबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न समिति गठन गरेको थियो । लक्ष्मीराज पाठकको संयोजकत्वमा गठित सात सदस्यीय समितिले तीन महिनाअघि सरकारलाई प्रतिवेदन बुझाएको छ । तर, त्यसबारे कति काम भयो÷भएन प्रतिवेदन समितिका सदस्यलाई नै पत्तो छैन । ‘समितिले मुख्य सचिवलाई रिपोर्ट बुझाएको हो,’ एक सदस्य भन्छन्, ‘हामीले सरकारलाई विश्वास गर्ने हो । तर अहिले त्यो रिपोर्ट कहाँ पुगेको छ ? थाहा छैन ।’
सर्वोच्चले समलिंगी, तेस्रोलिंगी बीच हुने क्रियाकलापलाई गैरअपराधीकरण गरेको छ । तर, उनीहरूबीच विवाह हुन पाएको छैन । कानुनी रूपमा यसखाले विवाह दर्ता हुँदैन । समलिंगी विवाह गरेपछि एउटी महिला श्रीमान्सँग कानुनी रूपमा लिन पाउने अधिकारबाट वञ्चित हुन्छिन् । कानुनले मान्यता नदिएकाले घरपरिवार, समाजले स्वीकार नगर्दा उनीहरू सम्बन्धकै कारण परिवारबाट अलग बस्नुपर्ने बाध्यता छ ।
समलिंगी मैथुन, सहवास, दाम्पत्य जीवन, वैवाहिक सम्बन्ध, धर्म सन्तान वा जैविक रूपले आफ्ना बालबालिका हुर्काउने (महिला समलिंगीको हकमा कृत्रिम गर्भाधानद्वारा बच्चा जन्माउने समेत), रोजगारी, सम्पत्ति र अंशबन्डाबारे खोजी र बहस गर्न जरुरी रहेको प्रतिवेदनमा उल्लेख छ ।
समलैंगिक सहवास समाजमा छ भनेर स्वीकार्न नसक्दा, विवाहले विपरीत लिंगीलाई असर गर्दैन भन्ने आम निक्र्यौलमा पुग्दा भेदभाव र बहिस्करणका पाटा खुम्चँदै जानेछन् । यसका लागि सरकारले राजनीतिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, कानुनी नेतृत्व गर्नुपर्छ । सहवास वा विवाहको अधिकार प्रदान नगर्दा भने भेदभाव र बहिस्करणको सम्भावना प्रतिवेदनले औंल्याएको छ ।
समितिले लामो समयपछि प्रतिवेदन पेस गरेकाले कानुन बन्नेमा आशावादी छन्, अधिवक्ता प्रेमबहादुर थापा । ‘अमेरिकामा सबै राज्यमा भर्खरै मान्यता पायो । यसले गर्दा पनि नेपालमा अब आवश्यक कानुन बन्न सहज होला,’ उनले भने । नजिर कानुनको एउटा स्रोत भएकाले सर्वोच्च अदालतले आठ वर्षअघि नै समलिंगी तेस्रोलिंगीलाई भेदभाव नगरेको बताउँछन्, उनी ।
अमेरिकामा मान्यता
गत हप्ता अमेरिकी सर्वोच्च अदालतले समलिंगी विवाहलाई मान्यता दियो । नेपालमा पनि धेरैले समर्थन जनाए । अन्तर्राष्ट्रिय कानुनले नेपालको कानुनलाई प्रभाव पार्ने हुँदा अधिकार मिलेको अधिकारकर्मीको भनाइ छ । एक मानवअधिकारकर्मीका अनुसार समाजमा दुई प्रतिशतजति मान्छे फरक स्वाभाव र लिंगका जन्मन्छन् ।
नेपालमा चार वर्षअघि हास्यकलाकार सन्तोष पन्तका छोरा लिंग प्रत्यारोपणपछि छोरी बनेको खबर निकै चर्चामा थियो । शल्यक्रिया गरी छोरी बनेको घोषणा गरेका उनले यसखाले फरक व्यक्तिलाई बिहे र अंशलगायतका अधिकार हुनुपर्नेमा जोड दिए ।
अमेरिकामा पनि विवाद भएको थियो । नौ जना न्यायाधीशमध्ये पाँच जना पक्ष र चार जना विपक्षमा थिए । अमेरिकी अदालतमा बहुमतपछि भरखरै समलिंगी विवाहले कानुनी मान्यता पाएको हो । लगत्तै मार्क जुकरबर्गले फेसबुकमा प्रोफाइल तस्बिर परिवर्तन गर्न मिल्ने ‘फोटो एडिटिङ टुल’ राखिदिए । ‘सेलिब्रेट प्राइड’ नाममा फोटोलाई तुरुन्तै इन्द्रेणी रङमा परिवर्तन गर्ने अभियान विश्वभर फैलियो । नेपालमा पनि धेरैले बुझेर वा नबुझेर आफ्नो प्रोफाइल तस्बिर रंगाए । सामाजिक सञ्जालमा समर्थन र विरोधका आवाज उठे । असार १६ गते बुधबारसम्म संसारभर करिब दुई करोड छ लाखले तस्बिर रंगीन बनाएको वासिङ्टन पोस्टले जनाएको छ ।
श्रोत ः http://nagarikplus.nagariknews.com/component/flippingbook/book/2253-nagarik-04-jul-2015/2-nagarik.html
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.