ललितपुरमा १ सय ६० जना नयाँ तस्रोलिंगीको पहिचान

ललितपुरमा १ सय ६० जना नयाँ तस्रोलिंगीको पहिचान

गौरी नेपाली /ललितपुर (पहिचान) साउन ११ – ललितपुरमा १ सय ६० जना नयाँ तस्रोलिंगीको पहिचान भएको छ । नील हिरा समाजको शाखा कार्यालय परिचय समाजमा १ सय ६० जना नयाँ तेस्रोलिंगी सम्पर्कमा आएका हुन् । समाजले तेस्रोलिंगी महिला यौनकर्मीका लागि शिक्षा, तालिम तथा हिंसामा परेकालाई स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा नयाँ तेस्रोलिंगीको पहिचान भएको समाजका कार्यक्रम अधिकृत मनोरञ्जनकुमार बैद्यले जानकारी दिए ।

उनीहरुलाई एचआईभी एड्स तथा लैंगिक हिंसा र यसबाट बच्ने उपायहरुका लागि शिक्षा तथा तालिम दिएको पनि बैद्यले जानकारी दिए । बैद्यका अनुसार स्वास्थ्य सेवा लिने तेस्रोलिंगी यौनकर्मीहरुमध्ये ८५ प्रतिशतले कुनै न कुनै किसिमको हिंसा भोगेको तथ्यांक छ । जसमध्ये ६५ प्रतिशतले मनोसामाजिक हिंसा, ७० दशमलव ५ प्रतिशतले शारीरिक हिंसा र ४९ प्रतिशतले यौनिक हिंसा भोगेका बैद्यले वताए । ललितपुरमा भएको लैंगिक हिंसा रोकथाम कार्यक्रमको जिल्लास्तरिय परामर्श बैठकमा बैद्यले यो जानकारी दिएका हुन् ।

परिचय समाज, नारी चेतना समाज, नमुना महिला संघ, स्याक्स–ललितपुरले आयोजनामा भएको बैठकमा सबै किसमको स्वास्थ्य सेवाको सुविधा नभएकाले आफुहरुले उनीहरुलाई मनोसामाजिक परामर्श मात्र दिने गरेको र बाकी सेवाका लागि स्याक्समा प्रेषण गरेको जानकारी बैद्यले दिए । तेस्रोलिंगीहरुका लागि भनेर जिल्लामा आफुहरुले मात्र कार्य गरिरहेकाले बजेट अभावमा लैंगिक हिंसामा परेका सबै तेस्रोलिंगी यौनकर्मीलाई सेवा दिन नसकिएको र सेवाका लागि प्रेषण गर्ने ललितपुर जिल्लामा अन्य संस्था नहुनु नै यस कार्यक्रमको चुनौती रहेको बैद्यको भनाई छ ।

तेस्रोलिंगी महिला यौनकर्मी र महिला यौनकर्मीहरुमाथिको एच.आई.भीको जोखिम कम गर्नका लागि उनीहरुमाथि हुने हिंसा रोकथाम गर्नुपर्छ भनेर गत अक्टोवर २०१४ देखि साथ साथ परियोजनाको सहयोगमा ललितपुर जिल्लाका चारवटा संस्थाले यस कार्यक्रम सञ्चालन गरेका थिए । आयोजक संस्थाहरुले आफुहरुले गरिरहेको लैंगिक हिंसा रोकथाम कार्यक्रमको लक्ष्यित समुह यौनकर्मी भएका कारण कानुनी सेवा तथा सरकारी क्षेत्रबाट पाइने अन्य सेवा सुविधा प्राप्त गर्न नसकिएको गुनासो गरे ।

हिंसा भएको ३५ दिनभित्र नै कानुनी उपचारका लागि जानुपर्ने नियम भएको तर आफुहरुसंग ३५ दिन पार गरिसकेका हिंसाका घटना आउने गरेकोले कानुनी प्रकृयाका लागि समन्वय गर्न कठिन भएको चुनौतीहरु आयोजक संस्थाहरुले प्रस्तुत गरेका थिए । महिला तथा वालवालिका कार्यालयकी शारदा विजुक्छेले ललितपुरको दक्षिण क्षेत्रमा यौनिक हिंसा धेरै हुने गरेको वताइन । उनले हिंसामा परेकाहरु उजुरी दिन आउनु पर्ने वताइन ।
यस्तै नील हिरा समाजको दिवा परियोजनाले नेतृत्व विकास र यौन स्वास्थ्यका बिषयमा तालिम संचालन गरेको छ । देशभरका झण्डै ३० जना यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका सदस्यलाई शिक्षा मन्त्रालयका उपसचिव गौरी शंकर पाण्डेले तालिम दिएका छन् । मानव स्वास्थ्य र अधिकारको बिषयमा नेतृत्त विकास गर्न समूदायका सदस्यलाई तालिम दिइएको दिवा परियोजनाका सहायक कार्यक्रम निर्देशक संजय शर्माले जानकारी दिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.