“माननिय ज्यू !, तर पनि किन यस्तो ?”

“माननिय ज्यू !, तर पनि किन यस्तो ?”

काठमाडौं (पहिचान) साउन ३१- तेस्रोलिंगी आनिक रानाले संबिधान सभाका सदस्यलाई पत्र लेखेर के मेरो भाग्यमा अधिकार लेखिएको छैन भनेर प्रश्न गरेकी छन् । नयाँ संंबिधानमा आफ्नो समूदायको अधिकार नलेखिने पो कि भनेर चिन्तित रानाले खुल्ला पत्र लेखेर प्रश्न गरेकी हुन् । ” म तेस्रोलिङ्गि भएर कसैको केहि विग्रेको पनि त छैन, न मैले कसैको केहि विगार नै गरेको छु,  आखिर मेरो कशुरै के छ र?” “माननिय ज्यू !, तर पनि किन यस्तो?” “आखिर कहिले सम्म?” पत्र पढनुहोस :

माननिय सभासद ज्यू,

संबिधान लेखनको गहन जिम्मेवारि सम्हालि रहनु भएको वेला सायद तपाईलाई यसरि पत्र लेख्नु उचित थिएन होला, तर पनि मन थाम्न सकिन…….

माननिय ज्यू , म आज ३५ वर्षकी भएं। म तेस्रोलिङ्गि हुं, मलाई आफ्ना भावनाहरु थाहा हुन थाले देखि नै ‘आफू के हुं’ भनेर थाहा छ, त्यसैले सायद जन्म देखिकै गुण हुनु पर्छ भन्ने लाग्छ। मेरी आमालाई पनि थाहा छ र त भन्नु हुन्थ्यो “‘छोरा भनेर हुर्काए पनि सानै देखिको आनिवानि, पहिरन, रुचि, स्वभाव सवै छोरिको जस्तो छ यस्को त”।

आज फेरी एकजना छिमेकिको कटु-वचन सुन्न पर्यो “अप्राकृतिक, अपराधी…  हाम्रो टोलवाट निस्केर गईहाल, टोलकै वेईज्जत गरिस्” लगायत नानाभांति….। आफ्नै छर-छिमेकि,  दाजु-भाई, काका-मामाको नजरमा समेत म अप्राकृतिक र अपराधि रहेछु। जिन्दगिको अधिकाम्स समय  यस्तै कठघराहरुमा ऊभिएर बितेको छ मेरो जीवन।

पहिला पहिला नबुझ्दा त आफू ‘अप्राकृतिक र अपराधी’ नै भएर जन्मेको होकि जस्तो लाग्थ्यो। तर ‘आफु के हो त’ भन्ने बुझे देखि भने मैले सफाई दिंन थालेकि छु आफ्नो वारेमा। कहिले घरमा त कहिले गल्लिमा, कहिले सरकारि अफिसमा त कहिले पुलिस ठानामा, कहिले वस चड्दा त कहिले सौचालय जांदा, कहिले एक-दुइ जनालाई त कहिले भिडमा, कहिले पुलिसलाई त कहिले नेताहरुलाई, कहिले रिसाएर त कहिले वहुलाएर, कहिले चर्को स्वरमा त कहिले शान्त भएर, कहिले रुंदै त कहिले मन वुझाउंदै, सफाई दिदै आएको कि “म अपराधि होईन, म अप्राकृतिक होईन” भनेर भन्ने गरेको पनि आज १५ बर्ष भै सकेको रहेछ। थोरै हक-अधिकार, थोरै मान-सम्मान  र एक सरो पहिचानका लागि यति लामो संघर्ष….

आफूले आफैलाई हेर्छु,  अनि लाग्छ ” म तेस्रोलिङ्गि भएर कसैको केहि विग्रेको पनि त छैन, न मैले कसैको केहि विगार नै गरेको छु,  आखिर मेरो कशुरै के छ र?” “माननिय ज्यू !, तर पनि किन यस्तो?” “आखिर कहिले सम्म?”

यस्तै आरोपहरु सहन नसकेर सानै उमेरमा मैले घर छाडें। अव यो नया डेरा, टोल, वस्ति छाडेर म काहां जाउं माननिय ज्यू ?

आज ममा गहिरो निराशा छाएको छ। माननिय ज्यू , हामी सवै नेपाल आमाका सन्तान, तर आफू जन्मेकै देशमा मैले न्याय पाउंदिन कि क्या हो? वांचुन्जेल मैले कुनै इज्जत-सम्मान पाऊंदिन कि क्या हो? के म संधैं लखेटिएर नै वांच्नु पर्ने हो र? अनि, के मेरो भाग्यमा कुनै अधिकार लेखिएकै छैन त?

मलाई आज असाध्यै थकाई लागेको छ, आफ्नो भाग्यसंग लड्दा लड्दा…..

अनि छिमेकिको त्यो कटु-वचन, आज फेरि म धेरै रोएं…..

…….

…….

उहि अभागि-तेस्रोलिंङ्गि-नागरिक

आनिक राना

वुटवल, नेपाल

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.