काठमाडौं /पहिचान – उनी अहिले ६५ बर्ष पुगिन । गाउँका धेरैले उनलाई नपुंसक भनेर बोलाउँछन् । नुवाकोटको लिखु गाउँमा जन्मेकी मंगली तामाङ लौरोको सहारामा घुमघाम गर्छिन । जन्मदा न पुरुष न महिला । के भन्ने हेर्नुहुन्छ भने हेर्नुहोस अण्डकोष छ अरु छैन । विवाह गर्न हुने भए पो गर्नु ? स्वास्नी ल्याउन हुने भए पो ल्याउनु मेरो कर्म यस्तै रहेछ । हेर्दा केटानै देखिने उनलाई सबैले दिदि भनेर बोलाउँछन् । उनी महिलाकै पहिरनमा हिड्न रुचाउछिन । नुवाकोटका तेस्रोलिंगी मंगली तामाङसँग गरिएको कुराकानी :
प्रश्न : कति बर्षको हुनुभयो ?
उत्तर : ६५ बर्षको भए ।
प्रश्न : हेर्दा त तपाई केटा जस्तै देखिनुहुन्छ कपाल फुलिसक्यो । पहिलो पटक नील हिरा समाजमा आइपुग्नु भयो किन ?
उत्तर : पिर मर्का पर्यो । रोकिएर बस्न सकिन । मेरो काइलो बाउको छोरो नाती कान्छो दिल बहादुर भन्ने धुम्बाराहीमा कारखाना खोलेर बसेको थियो । आज ऊ संग मेरो भेट हुदा तपाई जस्तो मान्छेको अफिस यहाँ छ भन्यो । जाउ न त हेरौ मलाई पनि प्रवेश गराउँछन कि ? कति नै बाच्छु होला र ? तीन चार बर्ष त होला, मर्ने वेलामा आफ्नो समूदायको अफिसमा आए । म यहाँ आउँदा सबै साथीहरुले साथ दिए । २०७२ साल असोज ८ गतेका दिन म नील हिरा समाजमा प्रवेश गरे ।
प्रश्न : आफूलाई तेस्रोलिंगी भन्न रुचाउनुहुन्छ हो ?
उत्तर : हो म मरे पछि स्वर्ग पुग्छु कि भनेर यहाँ आएको ।
प्रश्न : यहा तपाइले तपाइ जस्तै साथीहरु धेरै देख्नुभयो होला नि ?
उत्तर : मलाई धेरै खुशी लाग्यो । म जस्ता साथीहरु देख्दाखेरी कता कता इन्द्रलोकमा पुगेको जस्तो लाग्यो । म जस्तो साथी देख्दा मलाई चित्त बुझ्यो । साथी भाई दिदि बहिनी सबै देख्दा म मात्रै जस्तो लाग्थ्यो तर धेरै रहेछन यहा हाम्रो नेपालमा चित्त बुझयो । तर चित्त बुझेर के गर्नु मर्ने बेलामा मात्रै भेट भयो । पहिला नै भेट्न पाएको भए, म पनि साथी भाई जस्तै हुन्थे होला भन्ने लाग्यो ।
प्रश्न : अहिलेसम्म विवाह गर्नुभएको छैन ?
उत्तर : विवाह गर्न हुने भए पो विवाह गर्नु ? स्वास्नी ल्याउन हुने भए पो स्वास्नी ल्याउनु ? मेरो कर्म यस्तै रहेछ भन्दै हिडिरहेको छु । मेरो नेपाली फेसन यहि हो । गाउँ घरतिर म महिलाकै भेषमा हिडछु, महिला जस्तै छु । मेरो दुइ ओटा अण्डकोस छ, नपत्याए देखाइदिन्छु । म त्यस्तो ढाटेर कुरा गर्ने मान्छे होइन । मेरो कर्म यस्तै रहेछ । मेरो जन्म यस्तै रहेछ । भगवान तिमीले मलाई यस्तो जन्म दियौ । तिम्रो ऋृण म चुक्ता गर्छु भनेर जप गरिरहेको छु । के गर्नु गाउँ घर तिर कसैले जिस्काउने गर्छन ।
प्रश्न : के भनेर जिस्काउँछन तपाइलाई गाउँ घर तिर ?
उत्तर : मलाई चिन्ने जान्नेले दिदि नै भन्छन । अरुले यो नपुंसक हो भन्छन । देख्दा देख्दै किन भन्नु र ? मलाई चित्त दुख्छ । म सहन सक्दिन मर्न काल आएन प्रभु । नील हिरा समाजमा साथीहरु देख्दा धेरै खुसि लाग्यो । मेरो साथी दिदि बहिनीहरु रहेछन । मलाई किन गिज्याउने ? म जस्तै मान्छे गाउमा १० १२ जना भइदिए हुन्थ्यो जस्तो लाग्यो । मनले चाहेर म यस्तो बन्छु भनेर हुने त होइन रहेछ नि । भगवानको सृष्टि उ बेलाको जन्म के छ त्यहि भोग्नुपर्यो । आखिर मान्छे त मान्छे नै हो । म भन्छु तिमीहरु जस्तो चाहि अर्काको चेलिबेटी ल्याएर अर्कासंग गएर नाना नौ रङ्ग गर्न पर्दैन हामीलाई । हामी भगवान जस्तो हौ । किन तिनीहरुले त्यस्तो भनेको जस्तो लाग्छ । बल्ल मैले यहा ठाउँ पाए । मलाई सधै यस्तै साथीहरुसंग मात्रै हिडन पाए, बस्न पाए म धेरै खुशी हुन्थे ।
प्रश्न : पहिला तपाइलाई एक्लै छु जस्तो लाग्थ्यो ?
उत्तर : म एक्लै छु संसारमा भन्ने लाग्थ्यो । अहिले साथीहरु देख्दा त धेरै खुशी लाग्यो । तर खुशी लागेर के गर्नु ? सधै भेट्न पाए पो, दिदि बहिनी भनेर परिचय गर्न पाए त हुन्थ्यो जस्तो लाग्छ ।
प्रश्न : संबिधानमा पनि अधिकार लेखिएको छ । तपाई एक जना मात्रै हुनु भएको भए एक जनाको लागि मात्रै अधिकार त लेख्दैनथे होला ?
उत्तर : मर्ने बेलामा हरियो काक्रो भनेको जस्तो पर्यो । उ बेलामा जस्तो अहिले बल छैन, आज हो कि भोलि हो मर्ने बेला भयो । बल्ल बल्ल संबिधानमा अधिकार लेखिएको छ । मैले अधिकार नपाए पनि साथीहरुले पाए राम्रो भयो । यो संबिधानमा लेखिएको अधिकार कहिले नहटोस मेरो कामना छ ।
प्रश्न : अन्तिममा तपाइलाई केहि भन्न मन लागेको छ ?
उत्तर : म हरेक महिना हरेक दिन रेडियो कार्यक्रम सुनिरहन्छु । रेडियो बजिरहन्छ, मन भरङ्ग हुन्छ । भन्न त मन लागेको छ शब्द आउदैन । आफुलाई अपहेलना गर्दा रिस उठछ, उठेर के गर्नु आफु एक्लै छु जस्तो लाग्थ्यो । नयाँ संबिधानमा समलिंगी तेस्रोलिंगीका अधिकार लेखिदा धेरै खुशी लागेको छ । आफु मरेर गए पनि मेरा साथी भाइ दिदि बहिनीहरुले अधिकार पाइरहुन भन्ने मेरो धारणा छ । पन्चायत कालमा सोझा साझाले बोल्न पाउने अधिकार थिएन । गरीब वर्ग महिला वर्गको अधिकार थिएन । थिचो मिचो गर्थे । गर्दा गर्दै अहिले हाम्रो दिन फर्केर आयो । अधिकार प्राप्त भयो, अब अधिकार पाइरहुन । यहि भन्न चाहन्छु ।
प्रस्तुती : अम्विका दाहाल
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.