अनामिका शर्मा/पहिचान – प्रेम त एउटा घृणा लाग्दो लाचारता रहेछ, सम्पत्ति वालाको प्राप्ती, गरिबी र विवशतामा परेकाहरुको लागि अभिसाप रहेछ । यो त प्रेमको नाममा आफ्नो जवानीलाई मिठो छ छैन भन्दै चाख्ने र चखाउने व्यापार रहेछ अनि फूलको नाममा घोच्ने तिखा तिखा काडा रहेछ । वास्तवमा भन्दा माया प्रेम एउटा सज्जन व्याक्तिलाई पागल बनाउने, पीडितलाई घायल बनाउने परस्परादेखि चलिआएको एउटा झुटको धरातल रहेछ ।
वास्तविकमा हामी एक्लो छौं, आफ्नो विचारलाई, भावनालाई अनुशरण गर्ने व्याक्तिलाई हाम्रो समाज र हाम्रो पागल मस्तिष्कले प्रेमी प्रेमिका भन्ने गर्दछ । तर त्यो होईन आफ्नो भावनाको कदर गर्ने प्रेमिका नभएर एक समर्थक मात्र हो । त्यसकारण म भन्छु माया प्रेम पाउने साथ पाउने अपेक्षामा जो व्यक्ति पलपल तड्पिरहन्छ त्यो व्यक्ति स्वयम मुर्ख रहेछ ……….त्यसपछि सुरु हुन्छ मेरो आत्म कथा ……
आज म २३ बर्षको भए । आज भन्दा २३ बर्ष अगाडि मेरो जन्म पांचथर जिल्ला मेची अञ्चलको रानिटार गा.वि.स. वडा नं ५ मा भएको हो । मेरो जन्म दोस्रो सन्तानको रुपमा भएको थियो । म अगाडि मेरो दाई हुनुहुन्छ । हाम्रो परिवार अति नै विपन्न थियो । म जन्मदा घरमा पोसिलो तागतिला, खाने कुराको अभावले गर्दा सुत्केरी अवस्थामा पनि मेरो आमाले मकैको पिठोको ढिडो र सिस्नोको खोले खाएर समय विताउनु हुन्थ्यो रे । समय वितिरहेको थियो । तर हाम्रो घरमा गरिबी हट्ने कुनै विकल्प नै थिएन । जब म दुई बर्षको थिए, त्यस बखत मलाई बिरामीले निकै सताएको थियो रे । त्यसै समयमा मेरो दुबै आंखामा फुलो परेझैं हुदा मेरो आमा आसाध्यै अतालिनु भएको थियो ।
एकातर्फ म बिरामी अर्कोतर्फ बुवाको घर आउने जानेको ठेगान नै नहुने भएकोले मेरो आमा आफै आफन्तकोमा पैसा सापट माग्न जानु भएछ । तर कोहि पनि आफन्तले मेरो आमालाई ५ रुपैयाँ नपत्याउदा मेरो आमाको मन कति भकानिएको थियो होला अनुमान लगाउनुहोस त ? पुराना विचारधाराका व्यक्तिहरुको समाज सबैले धामी लगाउने सल्लाह दिनु भएछ । मेरी आमालाई भने पिर झन बढिरहेको थियो । बाल्यबस्थामा म ज्यादै राम्रो थिए रे । त्यहिकारण दैवको नजर लाग्यो कि भनि नाम पनि काली राखिदिनु भएको रहेछ । जब धामी लगाउनु भयो अन्य सबै ठिक भएछ । तर मेरो बांया आंखामा चाहि बादलले ढाकेछ । त्यो देखेर मेरी आमा मेरो जवानीको कल्पना गर्दै साह्रै रुनु भएछ । पछि जब उ वयस्कवस्थामा पुग्छ त्यो बेलामा उसलाई कती नराम्रो लाग्छ होला मान्छे यति राम्रो छ आंखामा चाहि यस्तो के भएको होला भनेर…
त्यति हुदापनि आमाले हार्नु भएन । उहांले मलाई बारम्बार धामीकोमा लगिरहनु भयो । पछि विस्तारै ठुलो हुदै गए मेरो आंखामा रहेको बादल त हटेछ तर मेरो दांया आखाको चाहेजती दृष्टि नभएको महशुस गरे मैले । पछि कुनै विकल्प होलाकि भनी आखां शिविर पनि गए । तर धेरै ढिलो भईसकेछ अब कुनै उपाय छैन । एउटै आखाले यो सन्सारलाई नियाल्नुहोस भनेर डाक्टरले भनेपछि म त्यहांबाट पनि निराश भएर फर्किए । सायदै त्यो समयमा मेरी आमालाई ५ रुपैयाँ कसैले सापट दिएको भए आज मेरो दुबै आंखाले यो सन्सारलाई नियाल्ने थिए होला…
समय बितिरहेको थियो मेरो बाल्यबस्था पनि समयको चक्रसंगै हुर्किरहेको थियो । गांउको बातावरण घांस गोठालो यस्तै पाठहरु सिकिरहेको थिए । दाजुहरु र अन्य व्यक्तिहरु गेठालो जादा म पनि पछ्याउदै उनिहरु संगै जाने गर्थे । बुवा आमा चाहि ज्ञानी नै हुनुहुन्थ्यो । आफुहरुले नपढेपनि छोराछोरीलाई दुःख सुःख पढाउने सोच्नु भएको थियो । त्यहि कारण सानो उमेर देखि स्कुल लगाई दिनु भयो । तर हामीलाई चाहि गाई चराउन गोठालो जान नै साह्रै रमाइलो लाग्ने । एकदिनको कुरा हो स्कुल बिदा भएको दिन दाजुसंग गोठालो गएको थिए रे । त्यसदिन भैसी फर्काउन जादा भैसीको सिङसंग मेरो कपडा अड्किएर ढुंगाहरु र कांडामा मलाई लछार पछार पारेछ । त्यो समयमा पनि म धेरै बिरामी भएर शरीरभरी चोट नै चोट थियो रे । तर पनि म बांचे किनकी मैले आज विचित्रको संसार हेर्नु रहेछ । जीवनका अनगिन्ती भोगाईहरु भोग्नु थियो त्यहि कारण त बाचिरहनु परेको छ ।
समय यसरी नै निरन्तर चलिरहेको थियो । हाम्रो परिवारमा अझैपनि गरीबीले उतिकै पिरोलिरहेको थियो । प्रत्येक बर्ष हात मुख जोड्न समस्या पर्ने । प्रत्येक बर्ष अनिकालमा मकै भुटेर जीवन गुजारा गर्नुपर्ने यस्तो बाध्यता र छोराछोरीको भविष्यलाई नजर अन्दाज गर्दै हामीलाई साथ लिएर आमा बुवा त्यहांबाट मधेसतर्फ लाग्नु भएछ । मधेसमा आएको केहि बर्षपछि आमा बुवाको कोखबाट पुनः दुई छोरी एक छोरा यानिकी मेरो भाई बैनीको आगमन भएछ ।
उफ् आमा बुवालाई फेरी समस्या थपिएको थियो । सबैको सल्लाह बमोजिम राजगड भन्ने ठांउमा जग्गा सस्तो हुन्छ बर्ष भरी खान पुग्छ भन्ने निष्कर्षका साथ हामी त्यहि बसेका थियौ । त्यहांपनि हाम्रो जीवन कष्टकर नै रह्यो एक बर्षसम्म त्यस ठाउंमा सघर्ष जारी नै रह्यो । मेरो बुवा आमाले धेरै दुःख गर्नुभयो । मधेस आएर पनि धेरै दुःख पश्चात पनि आम्दानीको बाटो केहि नरहेपछि बाध्यतावस त्यस ठाउलाई पनि छाड्नु प¥यो । अव्रहम लिङकनको भनाई जस्तै मेरो बुवा आमाले पनि भन्नुभयो होला हे भगवान तेरो वास गरीबको घरमा मात्र हुन्छ भने दया गरी हामीलाई अझै दुःख दे ।
यसैगरी राजगडको उराठ मरुभुमीलाई छाडी हामी अर्जुनधारा गा.वि.स.मा आई बसोवास गर्न थाल्यौं । त्यहां आएर रक्सी ठेक्का गरी ४ जना बच्चा र २ जना अविभावक गरेर ६ जनाको परिवार हाम्रो हांसीखुसी बस्न थाल्यो । हाम्रो गरीखाने जमीन नभएको कारण रक्सीबाट आएको आम्दानी नै आम्रो लागि सबै थियो । त्यसपछि हामी अर्जुनधारा स्थित फुलबारी बिद्यालयमा भर्ना भई पढ्न सुरु ग¥यौ । सानै देखि म अरु साथीहरु भन्दा भिन्न स्वभावको थिए । मलाई केटा साथीहरु संग खेल्न मन लाग्ने कोहि केटि साथीहरु छन् भने उनिहरु संग लाज लाग्ने ग¥र्यो । घरमा पनि म दाई भाईको लुगा लगाउथे आमाले किनिदिनु भएको कुनै पनि लुगाहरु मलाई मन पर्दैन थियो । स्कुल जीवनमा हुदा पनि केटि साथीलाई मन पराउदा पनि भन्न ज्यादै डर लाग्थ्यो डर नलाग्नु पनि कसरी जब कि म आफै आफ्नो यौनिकता माथि अनविज्ञ थिए । कति पटक त म मात्र किन यस्तो स्वभावको भएको होला ? म आफुलाई किन अरु भन्दा बेग्लै महसुश गर्छु ? किन किन …
यस्ता यस्ता कुराहरु सोच्दा कहिलेकाहि मर्ने कोसिस पनि नगरेको होईन तर सायद जिन्दगीमा यस्ता कैयौ कठिनाईहरु पार गर्नु छ, त्यसैले त मर्न पनि सकिन..यस्तै यस्तै दुविधाको जिन्दगी जीउदा जीउदै समय बितेको थाहै भएनछ । मैले एस.एल.सी. सकेर फुर्सदको समयमा बसेको बेला बिभिन्न सामाजिक कार्यहरुमा सहभागी हुने गर्दथे । एक दिनको कुरा हो म यसो समय निकालेर पत्रिका पढिरहेको थिए । त्यहा म जस्तो एक जना साथीले अर्को केटी साथीलाई भगाएर लगेर विवाह गरेको खबर त्यसमा पढे मेरो खुसीको सिमा रहेन म जस्तो साथीहरु पनि रहेछन भनेर । पछि पढ्दै गए उनीहरुलाई नील हिरा समाजले सहयोग गरेको रहेछ । ममा ज्यादै खुलदुली बढेर आयो ।
यो नील हिरा समाजले किन हामी जस्तो व्याक्तिहरुको लागि काम गरेको होला ? के हो यो नील हिरा समाज भनेर खोज्दै आएपछि विराटनगरमा आइपुगे । धेरै समय लगाएर मैले त्यहां नील हिरा समाजको शाखा कार्यालयको बारेमा थाहा पाए । त्यसपछि एक दिन समय निकालेर म त्यहां पुगेर यस समुदायको बारेमा थाहा पाए । त्यहांका साथीहरुले दिएको जानकारी अनुसार काठमाण्डौंमा हामी जस्ता धेरै साथीहरुले यस समाजमा काम गरेको बताउनु भयो । मैले धेरै अध्ययन पनि गरे यस नील हिरा समाजको बारेमा । अब म मा पनि केहि गर्ने र यो अन्धकारमय समाजलाई चुनौति दिएर अगाडि बढ्ने सोच जागेर आयो….
म कुनै साहित्यकार होईन, स्वार्थी समाजले मलाई लेख्न सिकायो । पीडित र दुःखीको रक्षा गर्न भगवानले मलाई झिकायो । यहि अठोटका साथ काठमाण्डौ तिर लागे । नभन्दै मैले त्यहां धेरै साथीहरु पाए । मैले आफ्नो पहिचान पाए । अब म जस्तो सुकै परिस्थितिमा पनि पछाडि हट्दिन प्रत्येक कठिनाईहरु संग सामना गर्छु आउने दिनको उज्वल भविष्यको लागि । धन्य छ नील हिरा समाज तिमीलाई धन्य छ ।
यो मेरो कथा कुनै बनावटी होईन । कसैको जीवनमा मेल खान सक्छ अन्यथा नसोची दिनु होला । यसमा पात्रको नाम उल्लेख गरिएको छैन । यो त एक सुरुवात हो । पुरै कहानी बताएपछि मेरो नाम उल्लेख गर्नेछु । “ धन्यवाद ”
तस्विर : इन्टरनेट
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.