ललितपुर (पहिचान) मंसिर १८ – समलिंगी तेस्रोलिंगी र अन्तरलिंगी समूदायको मातृ संस्था नील हिरा समाजले थालेको पर्पल माइ स्कूल अभियानको पहिलो चरण सकिएको छ । ललितपुरको युलिएन्स स्कूलका विद्यार्थी, शिक्षक शिक्षिकालाई आफ्नो समूदायका विद्यार्थीलाई सहज रुपमा पढ्न पाउने वातावरण बनाउन आग्रह गर्दै पहिलो चरणको यो अभियान सकिएको हो ।
यसअघि काठमाडौंको जोसेफ हाइ स्कूल, सुर्योदय र आनन्द भूमि तथा ललितपुरको इन्द्रायणी र युवा प्रतिभा विद्या मन्दिरमा यो अभियान संचालन भइसकेको छ । समलिंगी, तेस्रोलिंगी र अन्तरलिंगी विद्यार्थीहरुका लागि सुरक्षीत वातावरण सृजनाको उद्धेश्यले ‘क्रियटिङ सेफ फर एलजीवीटीआइ स्टुडेन्ट’ नाराबाट संचालित पर्पलमाइ स्कुल अभियान सकिएको हो । ‘पर्पलमाइ स्कुल’ अभियान अन्तर्गन विद्यालयमा संचालित कार्यक्रमको समापन भएपनि यो अभियानले पूर्णता भने आगामी दश तारिख अर्थात अन्तराष्ट्रिय मानवअधिकार दिवसका अवसरमा गरिनेछ ।
युनेस्कोको आर्थिक सहयोग र यूएनडिपीको प्राविधिक सहयोगमा नील हिरा समाजले थालेको पहिलो चरणको अन्तिम दिनको अभियानमा युलेन्स (ULLENS) स्कूलका विद्यार्थी र शिक्षकहरुसँग अन्तरक्रिया गरिएको छ । अन्तरक्रियाका क्रममा विद्यालर्थीहरुले समलिंगी, तेस्रोलिंगी र अन्तरलिंगी हुनुको कारण, उनीहरुको जिवनशैली र यो पहिचानको हो भनेर आफैले छुट्याउन सक्छ वा सहयोगको जरुरी हुन्छ जस्ता प्रश्न गरे । उनीहरुले समलिंगी, तेस्रोलिंगी अन्तरलिंगीका सामाजिक गतिविधि, समाजिक दृष्टिकोणका कारण पर्ने असर र सबैको अपहेलना सहेर कसरी आफूलाई अनुकुलनमा राख्ने जस्ता विषयमा पनि जिज्ञासा राखे ।
विद्यार्थीहरुका प्रश्नको जवाफ दिदै ६ वटै विद्यालयमा समलिंगी, तेस्रोलिंगी र अन्तरलिंगी समूदायको शिक्षकको रुपमा उभिएकी तेस्रोलिंगी मानव अधिकारकर्मी भूमिका श्रेष्ठले आफूले जस्तै अरुले विद्यालय स्तरको अध्ययन गर्न नपाउने वातावरण अन्त्यका लागि अभियान लिएर आएको जानकारी दिइन । रुद्रायणी र युवा प्रतिभा विद्या मन्दिरमा पुगेका तेस्रोलिंगी अधिकारकर्मी आकांक्षा तिम्सिनाले शिक्षकले नै तेस्रोलिंगी हुँदैनन् व्यवहार र हाउ भाउ परिवर्तन गर्नु भनेको आफ्नो मस्तिष्कमा अहिले पनि ताजै रहेको सुनाइन् । तेस्रोलिंगी रुक्साना कपाली, समलिंगी महिला गौरी नेपाली, समलिंगी पुरुष दिवस र अन्तरलिंगी इशान रेग्मी भने अन्तिम दिनको कार्यक्रममा सहभागी भएका हुन् ।
गत बर्ष मात्रै एसएलसी उर्तिण गरेका कपालीले जन्मदाँ पुरुष भएपनि कक्षा ६ र ७ मा अध्ययन गर्दा केटीको हाउभाउ व्यवहार आउन थालेको सुनाइन् । मलाई शिक्षकले स्कूलबाट निकालिदिन्छु सम्म भनेका थिए कपालीले भनिन्, मेरो परिवारले स्वीकार गरेकाले मलाई स्कूलबाट भने निकाल्न सकेनन् । यस्तै नील हिरा समाजको नर्वेजियन परियोजनामा मानवअधिकारकर्मीको रुपमा कार्यरत अन्तरलिंगी इशान रेग्मीले क्याम्पस पढ्दा परीक्षामा नक्कली विद्यार्थी भनेर मानसिक तनाव भोगेको सुनाए । आफ्नो क्याम्पसमा सबैले बुझे पनि परीक्षा केन्द्रमा जादाँ नक्कली परीक्षार्थी भनेर निकाल्थे रेग्मीले भनिन्, जन्मदाँ दुवै यौनाङ्ग लिएर जन्मेको म शुरुमा महिला थिए, अहिले दारी जुँगा आएर पुरुष भएको छु । उनले प्रवेश पत्रमा महिलाको फोटो देखेर नक्कली विद्यार्थी भन्दै मानसिक तनाव दिएकाले राम्रोसँग परीक्षा समेत दिन नपाएको वताइन ।
समलिंगी महिला गौरी नेपालीले आफ्नो भावना, इच्छा चाहना महिलालााई मन पराउने भएपनि भन्न नसक्दा तनाव हुने गरेको वताइन । उनीहरुले समलिंगी तेस्रोलिंली र अन्तरलिंगी हुनु कसैको रहर नभएर प्राकृतिक गुण भएको भन्दै कुनै व्यक्ति समलिंगी छ भने उसलाई ‘टिनएज’ किशोरावस्था सूरुभएपछि थाहा हुने जानकारी दिए ।
अन्तरक्रिया पछि विद्यार्थीहरुले आफूले बुझन चाहेका विषयमा निर्धक्क कुरा राखेर बुझ्न पाएको भन्दै खुसी व्यक्त गरेका छन् । उनीहरुले समाजिक रुपमा भइरहेको विभेदलाई आफूहरुले बुझ्न पाएको भन्दै अब विभेद नगर्ने र अरुले गरे पनि त्यस विरुद्ध आवाज उठाउने जोसपूर्ण प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा युनेस्को र युएनडीको एसिया प्यासिफिक रिजनमा संचालित पर्पल माइ स्कुल अभियानमा समाजिक संजाल परिचालनको कार्यक्रमका विषयमा पनि विद्यार्थीहलाई जानकारी गराउँदै अभियानमा सहभागि हुन युएनडिपीका भरत श्रेष्ठले आह्वान गरे । अभियान अन्तरगत फेसबुक, ट्वीटर लगायतका सामाजिक संजालमा अपलोड गरी ह्यास ट्याग गरेर पब्लिस गर्नुपर्ने छ ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.