“फरक विषयमा पत्रकारिताका लागि पत्रकारलाई तालिम आवस्यक छ”

“फरक विषयमा पत्रकारिताका लागि पत्रकारलाई तालिम आवस्यक छ”

काठमाडौं (पहिचान) पौष २१ – समलिंगी तेस्रोलिंगीका क्षेत्रमा कार्यरत संचारकर्मीहरुले अन्तराष्ट्रियस्तरका तालिम र अनुभव साटासाट आवस्यक भएको बताएका छन् । नर्वेजियन दूतावासको सहयोगमा नील हिरा समाजले काठमाडौंमा यौनिक अल्पसंख्यकका क्षेत्रमा कार्यरत पत्रकारहरुलाई राखेको तालिम तथा अनुभव साटासाट कार्यक्रममा देशका विभिन्न जिल्लाबाट आएका संचारकर्मीहरुले यस्तो अनुभव सुनाएका हुन् ।
‘हामी आफ्नो विवेकले भ्याएसम्म त समलिंगी तेस्रोलिंगीका विषयमा मिडियासम्म पुर्याउने र प्रस्तुत गर्ने काम त गरेका छौं’ मकवानपुरबाट आएकी पत्रकार इन्दीरा न्यौपानेले भनिन्, ‘तर, यौनिक अल्पसंख्यकका विषयमा अन्तराष्ट्रिय मिडियामा कसरी संबोधित हुन्छन् र त्यसको प्रस्तुतीको शैली र मानिसको दिमागमा स्थापित गर्न कस्तो अवधारणा अपनाइएको छ भन्ने विषयमा हामीलाई कुनै जानकारी छैन ।’ उनले अन्तराष्ट्रिय अनुभवका आधारहरु भेटे बहसका लागि उदाहरण हुने तथा आफ्ना लागि मार्गदर्शन पनि हुने बताइन् ।
यौनिक अल्पसंख्यककै विषयमा काम गरिरहेकी काठमाडौंकी पत्रकार अम्बिका दाहालले आफैमा ज्ञानको कमी भएमा सार्वजनिक बहसका लागि आत्म विश्वास पनि कम हुने बताइन् । ‘हामीलाई यौनिक अल्पसंख्यक अर्थात समलिंगी, तेस्रोलिंगी, दुईलिंगी र अन्तरलिंगी मानिस भएकाले विभेद गर्नु हुँदैन भन्ने मात्र थाहा छ’ दाहालले भनिन्, ‘तर, यौनिक तथा लैंगिक अल्पसंख्यकका विषय स्वीकार नैं नगर्नेहरुसँग बहस गर्न यति कुरा मात्र पर्याप्त नहुदो रहेछ ।’ उनले बाहिर देशमा यौनिक अल्पंख्यकहरु स्थापित भएका उदाहरण तथा यस्ता विषयका बहसका लागि थप तालिम र हौंसला पाए सहज हुने बताइन् ।
सुदुरपश्चिमको कैलालीमा कार्यरत पत्रकारर राज चौधरीले यौनिक अल्पसंख्यक भन्ने वित्तिकै पत्रकारलाई पनि उचित व्यवहार जिम्मेवार ठाउँबाटै नहुने गरेको गुनासो सुनाए । ‘कतिपय ठाउँमा यौनिक तथा लैंगिक अल्पसंख्यक साथिहरु समस्यामा पर्दा आफैले सहयोग गर्नुपर्ने हुन्छ’ उनले भने, ‘त्यसैका आधारमा सरकारी अधिकारी तथा अन्य जिम्मेवार पदाधिकारीले हामीलाई पत्रकारका रपमा स्वीकार नगर्न खोजेजस्तो गर्छन् ।’ उनले मानव अधिकारका विषयमा बोल्ने पत्रकारको काम नै भएपनि अन्य पत्रकरासँग जस्तो यौनिक अल्पसंख्यकका विषयमा काम गर्ने पत्रकारलाई सहज नभएको बताए ।
सुनसरीबाट आएकी पत्रकार अनुशा भुजेलले यौनिक तथा लैंगिक अल्पसंख्यकका विषयमा काम गर्न पहिला भन्दा केही सजिलो भएपनि अझै सहज अवस्था नभएको बताइन् । ‘समलिंगी तेस्रोलिंगीका विषयमा पहिला जस्तो जवाफ नैं नदिने र सुनुवाई पनि नहुने अवस्था त अहिले छैन’ भुजेलले भनिन्, ‘तर पनि यो विषय अन्य लिंग सरह सहज बनेको अवस्था छैन ।’ उनले सरकारले छुट्टाएको बजेट थोरै हुने, पत्रकारका लागि आएको पैसा पर्याप्त नहुने तथा उचित सहयोग पनि नपाउने गरेको गुनासो गरिन् ।
भैरहवाबाट आएका पत्रकार विनोद विकले प्रमुख जिल्ला अधिकारी देखि अन्य अधिकारीसम्मले उचित सहयोग नगर्ने गनुसो गरे । ‘पत्रकार भनेपछि उहाँहरु सम्मानजनक व्यहार गर्नुहुन्छ तर यौनिक तथा लैंगिक अल्पसंख्यकका विषयमा कुरा उठ्नसाथ पञ्छन खोज्नुहुन्छ’ विकले भने, ‘झन नागरिकता पासपोर्ट लगायतका काम लिएर तेस्रोलिंगी गएपछि त उहाँहरु अनेक प्रश्न गरेर ह्यारेस गर्न खोज्नुहुन्छ ।’ उनले तेस्रोलिंगीका विषयमा कलम चलाउने पत्रकारलाई अन्तराष्ट्रियस्रतमा भएका अभ्यास, सरकारी निकायको दायित्व र काम गर्नुपर्ने प्रक्रियाका विषयमा पर्याप्त ज्ञान नहुँदा पनि उनीहरुले त्यस्तो व्यवहार गरेको हुनसक्ने बताए ।
कास्किबाट आएकी पत्रकार विपना पनेरुले यौनिक तथा लैंगिक अल्पसंख्यकका विषय स्थापित गर्नमा अन्तराष्ट्रिय अनुभव साटासाट भए काम गर्न सहज हुने बताइन् । ‘यहाँ हामी राष्ट्रिय रुपमा, अझ स्थानीय रुपमा मानिस मानिसबीच विभेदको अवस्था आउन नहुने विषयमा मात्र कुरा उठाइरहेका छौं’ उनले भनिन्, ‘अन्तराष्ट्रियस्तरमा भएका अभ्यास र महासन्धीहरुले जनाएका प्रतिबद्धताका विषय र त्यसको महत्व बुझिने खालका तालिमहरु भएमा हामीलाई काम गर्न सहज हुन्छ ।’ उनले मोफसलमा काम गर्ने पत्रकारलाई अपर्याप्त तालिम अर्को समस्या भएको बताइन् ।
’पहिचान मिडिया काठमाडौंमा स्वयंसेवकको भूमिका निर्वाह गरिरहेकी अपेक्षा दाहालले संविधानले पहिलोपटक यौनिक तथा लैंगिक अल्पसंख्यकलाई संबोधन गरेकाले अवका दिनमा परिस्थिति सहज हुने बताइन् । उनले राष्ट्रिय र अन्तराष्ट्रिय स्रतरमा तालिम संचालन भएमा आत्म विश्वास र ज्ञानको विकास एकै साथ हुने बताइन् । यस्तै पत्रकार सन्ध्या लामाले पत्रकार आचारसंहिता विपरित जान नहुने भन्ने कुरा तालिमबाट ज्ञान प्राप्त भएको र यस्ता तालिम अझै आबश्यक रहेको अनुभव सुनाइन ।
तालिम तथा अनुभव साटासाट कार्यक्रममा पहिचान मिडियाका सम्पादक माधव दुलालले पत्रकारिता गर्न कसरी सहज गर्ने भन्ने विषयमा प्रशिक्षण दिदै विषयगत पत्रकारितामा भने केन्द्रमा काम गर्ने पत्रकारहरुलाई पनि प्रशिक्षक प्रशिक्षण आवस्यक भएको बताए । ‘हामी पत्रकारितामा हासिल गरेका अनुवभका आधारमा प्रशिक्षण दिन त सक्षम छौं, त्यही गरिरहेका पनि छौं’ दुलालले भने, ‘तर, यौनिक तथा लैंगिक अल्पसंख्यकका विषयमा भएका अन्तराष्ट्रिय प्रगति र यो मुद्धालाई स्थापित गरेका अनुभवहरु भने हामीले प्रत्यक्ष अनुभव साट्न पाएका छैनौं ।’ उनले प्रशिक्षकलाई नैं पर्याप्त अनुभव नहुने अवस्था भएकाले अन्तराष्ट्रिय स्तरको तालिम प्राप्त भए सहज हुने बताए । पत्रकारिता गर्ने विषयमा पत्रकार किरण आचार्य, रमेश वाग्ले, नरेश फुयाल एवं संविधान र कानुनका बिषयमा अधिवक्ता सुजन पन्त लगायतले पत्रकारिता क्षेत्रका विभिद विधामा प्रशिक्षण दिएका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.