४१ जना अन्तरलिंगी सम्पर्कमा, जिन्दगी दाउमा नलगाउन आग्रह

४१ जना अन्तरलिंगी सम्पर्कमा, जिन्दगी दाउमा नलगाउन आग्रह

काठमाडौं (पहिचान) माघ २७ -अन्तरलिंगी व्यक्तिहरुले छोटो समयको इज्जतका लागि आफूहरुको जिन्दगी दाउमा नलगाउन आग्रह गरेका छन् । दुवै यौनाङ्ग लिएर जन्मेका तर दुई मध्ये एकले मात्र काम गर्ने अन्तरलिंगी व्यक्तिलाई परिवारले शल्यक्रिया गरेर आफूहरुको जिन्दगीनै दाउमा लगाउने गरेको उनीहरुको गुनासो छ ।

सानोमा परिवारको इच्छा अनुसार शल्यक्रिया गरेर दुई मध्ये एक मात्रै यौनाङ्ग राखिदिने र उमेर बढ्दै जाँदा परिवारको इच्छा अनुसारको चाहना भन्दा फरक पहिचान हुने हुँदा समाजको बहिष्कारमा समेत पर्ने गरेको उनीहरुको गुनासो छ । नेपालमा रहेका अन्तरलिंगी व्यक्तिहरुको पहिलो पटक भएको राष्ट्रिय कार्यशालामा सहभागी उनीहरुले चिकित्सकलाई आफूहरुको समस्या बुझिदिन पनि आग्रह गरेका छन् । डाक्टरले आफूहरुको समस्या नबुझ्दा परिवारको दवावमा शल्यक्रिया हुने गरेको उनीहरुको गुनासो छ ।INTER Sex 3

यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको अधिकार प्राप्तिका लागि आवाज उठाउँदै आएको नील हिरा समाजले गरेको कार्यशालामा सहभागीहरुले पाठ्यक्रममा अन्तरलिंगीको बिषय समाबेश गर्न माग गरे । बिद्यालयमा समान व्यवहार नहुँदा बिद्यालय स्तरको अध्ययनबाट समेत बञ्चित हुनु परेको भन्दै बिद्यालयमा छात्रबृत्तिको व्यवस्था गर्न अन्तरलिंगी व्यक्तिहरुले माग गरेका छन् । दुई दिने कार्यशालामा सहभागी अन्तरलिंगी व्यक्तिहरुले नागरिकतामा चाहे अनुसारको नाम राख्न पाउनु पर्ने माग गरे ।

रोजगारीको अवसर मिलाउनु पर्ने, खेलकूदमा सहभागी गराउनु पर्ने, अरु लिंग, बर्गका व्यक्तिलाई जस्तै आफूहरुलाई पनि समाजले हेर्ने दृष्टिकोण समान हुनु पर्ने उनीहरुको आग्रह छ । बाटोमा स्वतन्त्र पूर्व सहज रुपमा हिड्न पाउनु पर्ने, घर, परिवार र छरछिमेकमा अरुलाई जस्तै विभेद नहुने गरी बोलाउनु पर्ने, सोचे अनुसारको विवाह गर्न पाउनु पर्ने र पैतृक सम्पत्ती लिन पाउनु पर्ने अन्तरलिंगी व्यक्तिहरुको माग छ । सार्वजनिक शौचालयमा जान पाउनु पर्ने, विना कारण प्रहरीले गिरफ्तार गर्न नहुने र अदलातमा आफूहरुको मुद्धाको पनि सुनुवाई हुनुपर्ने अन्तरलिंगी व्यक्तिहरुको माग छ ।

नेपालमा रहेका अन्तरलिंगी व्यक्तिको अनुशन्धान हुनु पर्ने माग गर्दै उनीहरुले नील हिरा समाजले गर्ने सबै कार्यक्रममा अन्तरलिंगी व्यक्तिलाई अनिवार्य सहभागी गराउन पनि माग गरेका छन् । बर्दियाकी ललिता चौधरीले आफूलाई केटाहरुले जिस्क्याउने, आफूलाई देखेर भाग्ने गर्दा एसएलसी पछि पढाई छोडेको वताए । नील हिरा समाजका उपनिर्देशक परसुराम राईले अन्तरलिंगी व्यक्तिको शैक्षिक एवं कानुनी अधिकारबाट बञ्चित गर्न नहुने वताए ।

नील हिरा समाजको नर्वेजियन परियोजनामा कार्यरत अन्तरलिंगी इशान रेग्मीका अनुसार अहिलेसम्म देशका विभिन्न ठाउँमा ४१ जना अन्तरलिंगी खुलेर सम्पर्कमा आएका छन् । सुनसरीमा ५ जना, काभ्रेमा ४ जना, रामेछापमा १ जना, पर्सामा १ जना, सप्तरीमा १ जना, बारा २ जना, बर्दियामा ७ जना, कैलालीमा ७ जना, कञ्चनपुरमा १ जना, कास्कीमा १ जना, ललितपुरमा २ जना, काठमाडौंमा २ जना, झापामा ५ जना, रुपन्देहीमा १ जना, बाजुरामा १ जना अन्तरलिंगी व्यक्ति सम्पर्कमा आएका छन् । अहिलेसम्म अमृता बास्तोला, करुणा बिष्ट, कुसुम बिष्ट, नविन चौधरी र शितल हुँमागाईले पहिचान अनुसारको अन्य उल्लेख भएको नागरिकता लिइसकेका छन् भने कुसुम र करुणाले पासपोर्ट समेत अन्य उल्लेख भएको लिइसकेका छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.