नेपाली कांग्रेसमा खोइ तेस्रोलिंगी ?

नेपाली कांग्रेसमा खोइ तेस्रोलिंगी ?

काठमाडौं (पहिचान) फागुन ७ – १२ औं महाधिवेशनमा नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नं. १० बाट कैलास श्रेष्ठ भूमिकालाई महाधिवेशन प्रतिनिधि बनायो । केन्द्रीय सदस्यको उम्मेद्वारी समेत दिनसक्ने हैसियत रहेको महाधिवेशन प्रतिनिधि बनाएपछि यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले नेपाली कांग्रेसलाई सबैभन्दा प्रगतिशील पार्टीको रुपमा मुल्यांकन गरे ।
त्यही नेपाली कांग्रेस संविधानसभाको दोस्रो चुनावमा मुलुककै सबैभन्दा ठलो पार्टी बन्यो । कांग्रेसकै नेतृत्वमा संविधान जारी भयो । अनि यौनिक तथा लैंगिक अल्पसंख्यकलाई संविधानले संबोधन गर्यो । उनीहरुलाई विभेद नगर्ने मात्र हैन लैंगिक समानता कायम गर्न यौनिक अल्पसंख्यकका लागि छुट्टै कानुन निर्माण गर्नेसम्मको छुट संविधानले दिएको छ । त्यसबाट यौनिक अल्पसंख्यकहरु उत्साहित भए, स्वागतमा विज्ञप्ती जारी गरे भने दिपावली नैं गरेर खुशी साटासाट गरे ।
तर संविधान जारी गरेपछि पहिलो पटक हुन लागेको नेपाली कांग्रेको १३ औ महाधिवेशनमा यौनिक अल्पसंख्यकको प्रतिनिधित्व शुन्यजस्तै भएको छ । नेपाली कांग्रेस नेतृत्वको सरकारले नैं लगेको संविधान संसोधन प्रस्तावले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समावेसी समानुपातिक क्लस्टरमा सुरक्षित गर्याे । तर त्यही समुदाय महाधिवेशनमा अटाउन सकेन ।
‘हाम्रा केही साथिहरु नेपाली कांग्रेसमा लागेर राजनीतिक गतिविधिमा सक्रीय छन्’ यौनिक अल्पसंख्यकहरुको अधिकारका लागि काम गरिरहेको संस्था नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले भनिन्, ‘उनीहरुलाई कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले सार्वजनिक आह्वान गरेर समेट्ने अपेक्षा हामीले गरेका थियौ ।’ उनले भनिन् ‘अझैपनि केही विग्रिएको छैन, गाउँ तह देखिका कांग्रेसका संरचनाहरुमा मनोनित पदहरु खाली रहेका छन्, त्यसैमा समेट्ने अपेक्ष गरेका छौं’ । NC
नेपाली कांग्रेसको भातृ संस्था नेपाल ट्रेड युनियन कांग्रेस, सुवेच्छुक संस्था नेपाल प्रेस युनियनले समेत यौनिक तथा लैंगिक अल्पसंख्यकलाई मनोनित गरेर उनीहरुको प्रतिनिधित्व गराएकोमा नेपाली कांग्रेस भने निर्वाचित प्रतिनिधित्वमा चुकेको छ । ‘मनोनित पदहरुमा नेपाली कांग्रेसले समेट्न सक्यो भने यौनिक अल्पसंख्यकहरुका लागि र समावेशिताका लागि कोशेढुंगा सावित हुने छ’ यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको विद्यार्थी मञ्चका अध्यक्ष भक्ति साहले भने ।
तेस्रो लिंगी कैलाश श्रेष्ठ ‘भूमिका’ले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई पनि कांग्रेसका भातृ संगठनहरुलाई दिए जत्तिकै प्रतिनिधित्व महाधिवेशनमा दिनुपर्ने बताइन् । ‘कांग्रेसले १२ औं महाधिवेशनबाट नैं यौनिक अल्पसंख्यकको प्रतिनिधित्वको सुरुवात गरेको थियो’ भूमिकाले भनिन्, ‘त्यसैले अब कांग्रेसले यो प्रतिनिधित्व बढाउन सहयोग गर्यो भने अरु पार्टीहरु पनि बाध्य भएर त्यसको सुरुवात गर्ने छन् ।’ उनले लुकेर बसेको समुदायलाई कांग्रेसले बाहिर निस्कन आह्वान गर्यो भने धेरै मानिसहरु समस्याबाट मुक्त हुने र त्यसले कांग्रेसलाई पनि फाइदा पुर्याउने बताइन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरे र प्रदीप पौडेलले कुनैपनि नागरिकले जन्मिसकेपछि पाउने अधिकारबाट बञ्चित हुन नपाउने भन्दै तेस्रोलिंगीलाई पनि नागरिकका अधिकारबाट बञ्चित गरिन नहुने बताए । ‘जुनसुकै लिंगको भएपनि पहिला उ नागरिक हुन्छ,’ घिमिरेले भने, ‘कुनै पनि नागरिकले नागरिक अधिकारबाट बञ्चित गरिने कुरा २१ औं शताब्दीमा स्वीकार्य हुँदैनन् ।‘ उनले आफू अधिकारकै क्षेत्रमा काम गरेर आएको भन्दै तेस्रोलिंगी मात्र नभएर कुनैपनि नागरिक अधिकारविहिन नहुने व्यवस्थाका लागि आफू लडिरहेने बताए ।
‘महिला, पुरुष वा तेस्रोलिंगी जो भएपनि त्यो मानव हो’ कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य प्रदीप पौंडेलले भने, ‘त्यसकारण कुन लिंग वा कस्तो स्वभाव भनेर उसलाई मानव अधिकारबाट कसैले बञ्चित गर्न सक्दैन ।’ उनले मानव अधिकारको लडाइमा कांग्रेसका दुइ पुस्ताले जीवन उत्सर्ग गरेको भन्दै अब अधिकारका लागि लड्नुपर्ने अबस्था अन्य हुने बताए ।
नेपाली कांग्रेसका युवा नेता मित्रशेन दाहालले पुरातन धर्म संस्कृतिबाट चलेको नेपाली समाज विसं २००४ साल देखि मात्रै संविधानमा प्रवेश गरेको भन्दै यति छोटो अवधीमै संविधानले पनि ठुलै फड्को मारेका बताए । ‘करिव छ दशकमै समाजले स्वीकार गरिनसकेको समलिंगी तेस्रोलिंगी समुदायलाई संविधानले संबोधन गरेको छ’ दाहालले भने, ‘अब उनीहरुको खुल्नेक्रम र पार्टीहरुमा प्रतिनिधित्व हुने क्रम दुबैको बढोत्तरी हुनेछ ।’ उनले राजनीतिक पार्टी भनेको प्रतिस्पर्धाको प्रतिनिधित्व भएको बताउँदै खुलेरै राजनीतिमा सक्रीय भए प्रतिनित्व स्वत ः बढ्ने बताए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.