यौनिक तथा लैंगिक अल्पसंख्यकको समस्या समाधान गर्न माग

यौनिक तथा लैंगिक अल्पसंख्यकको समस्या समाधान गर्न माग

राज चौधरी (पहिचान) फागुन ९ – सुदुरपश्चिमको कैलालीमा प्रकाशित हुने दैनिक पत्रिकामा यौनिक अल्पसंख्यकका विषयले सम्पादकीयमा स्थान पाएको छ । मर्निङवेल दैनिकले समलिंगी तेस्रोलिंगीका विषयमा सम्पादकीय छापेको छ ।
मोर्निङवेल्स दैनिकका उपसम्पादक तपेन्द्र कुँवरले केही वर्ष अघि देखिनै आफूले समलिंगी तेस्रोलिंगीका विषयमा समाचार लेख्दै आएको भन्दै उनीहरुका समस्याबारे राज्यका निकायहरुलाई झकझकउन र उनीहरुलाई घृणा गर्ने नागरिकमा पनि सचेतना फैलाउन सम्पादकीय छापेको बताए ।
‘मैले केही वर्ष अघि देखि नै समलिंगी तेस्रोलिंगीका विषयमा समाचार लेख्दै आएको छु‘ उपसम्पादक कुँवरले भने, ‘उनीहरु अत्यन्त समस्यामा रहेका कारण आवाज विहिनहरुको आवाजको रुपमा हामीले मिडियाको भूमिका निर्वाह गरिरहेका छौं ।’ उनले धेरै समस्यामा रहेका उनीहरु संघर्ष गरिरहेको बताए । Morningbell
‘सुदुरपश्चिममा अझै पनि समाजिक अन्ध विश्वास र सांस्कृतिक विभेदको स्तर उच्च छ, त्यसकारणले समलिंगि तेस्रोलिंगिहरु हिजडा भनेर हेपिन्छन्’ कुँवरले भने, ‘यस्तो जटिल अवस्थामा पनि उनीहरु खुलेर आएका छन् त्यो साहसको सम्मान स्वरुप पनि मैले समाचार लेख्नेगरेको छुँ ।’ उनले आफूले धेरै तेस्रोलिंगी नखुली बसेको थाहा पाएको भन्दै खुलेकाहरु नैं धेरै समस्यामा रहेको बताए ।
‘संविधानसभा चुनावका बेला सुदुरपश्चिममा सबै पार्टीबाट समानुपातिक सूचीमा सिफारिस भएर पनि समलिंगी तेस्रोलिंगीहरु सभासद्मा परेनन्’, उनले भने, ‘तर उनीहरुलाई आम नागरिक सरह ल्याउने भूमिकामा मिडियाको भूमिका महत्वपूर्ण हुने भएकाले हामीले यस्तो विषयलाई पनि प्राथमिकताका साथ उठाइरहेका छौं ।’ उनले आफूले काम गर्ने अन्य मिडियामा पनि यौनिक तथा लैंगिक अल्पसंख्यकका विषयलाई स्थान दिएको बताए । ‘मैले एक वर्ष अघि समालिंगी तेस्रोलिंगीका विषयमा बनाएको रिपोर्ट समुदायिक सूचना नेटवर्क (सिआइएन)मा पनि बजिसकेको छ’ उनले भने ।
कुँवरले सरकारी निकायहरु र लोकसेवा आयोगमा समेत समलिंगी तेस्रोलिंगिको दर्खास्थ अस्वीकृत हुने गरेको सुनाउँदै उनीहरुलाई समाजमा स्थापित हुन धेरै समस्या रहेको बताए ।
यस्तो छ सम्पादकीय
समलिंगी तेस्रोलिंगीका समस्या समाधान गर
समलिंगी तेस्रोलिंगीलाई महिला पुरुष सरह समान अधिकार राज्यले दिनु पर्ने माग गरिएको छ । । राज्यले नागरिकताको प्रमाणपत्र, शिक्षा स्वास्थ्य र रोजगारमा तेस्रोलिंगीको समान पहुँच हुनुपर्न आवाज उठाउँदै आएपनि विभेदकारी कानुनका कारण समस्यामा परेको बताउँदै आएका छन् । सुरुमा पुरुषको पहिचानको आधारमा नामको नागरिकता पाएपनि उनीहरुको पछि शारीरिक परिवर्तनले महिलाको बनोट भएपछि नागरिकताले समस्या भएको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको भनाई छ । महिलाको बनोट तर पुरषको नामको नागरिकताका कारण अवसरबाट बन्चित भईरहेका छन् ।
त्यस्तै महिलाको नामबाट नागरिकता पाएका तर पछि पुरुषको बनोट भएका समलिंगी तेस्रोलिंगीलाई पनि समस्या हुदैँ आएको छ । राज्यका हरेक निकायबाट पछाडि पारिएका अल्पसंख्यक समुदायलाई २०७२ सालको संविधानले केहि हक अधिकारको व्यवस्था गरेपनि नागरिकता समस्याका कारण अवसरबाट बन्चित भईरहेका छन् ।
त्यस्तै समलिंगी विवाहबारेको प्रतिवेदन महिला मन्त्रालयमा थन्किँदा विवाह गरेर संगै बस्दै आएका समलिंगी तेस्रोलिंगीहरुले अरुजस्तै विवाह दर्ता र अंशवण्डासम्मको हक अधिकारबाट बन्चित भएका छन् । सर्वोच्चले फरक लैंगिक पहिचान र यौन अभिमुखिकरण भएकाहरुले समेत अरुसरह नै विनाभेदभाव आफ्नो अधिकार उपाभेग गर्न पाउने गरी उपयुक्त कानून बनाउनु वा प्रचलित कानूनलाई संशेधन गर्नु भनी सरकारका नामा निर्देशनात्मक आदेश जारी गरेपनि कार्यान्वयन भने भएको छैन ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीको विवाहबारेको प्रतिवेदन महिला मन्त्रालयमा रोकिएपछि अहिले नेपालका समलिंगी तेस्रोलिंगीहरु समस्यामा परेका छन् । राज्यले आफुहरुलाई अपहेलना गरेको उनीहरुले गुनासो गदै आएका छन् । त्यसकारण उनीहरुलाई पनि राज्यबाट प्रदान हुने सेवा सुविधाबाट बन्चित गर्नु हुदैन । उनीहरुको समस्या समाधानको लागि राज्य गम्भिर बन्न आवश्यक देखिन्छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.