पुनर्जन्म पाएका दुई सन्तान

पुनर्जन्म पाएका दुई सन्तान

next-2change
बिनोद विसी/पहिचान – भनिन्छ समाज मर्दा र बाच्दाका लागि हो । आपत बिपत परेको बखत सहयोग यही समाज बाटै हुन्छ । सायद त्यसैले भनिएको होला मानिस समाजमा बस्नु पर्छ । आफ्ना आफन्तको नजिक बस्नु पर्छ । छिमेकी भनेका बाच्दाका जन्ती र मर्दाका मलामी हुन् । यसलाई गुरुप्रसाद मैनालीको बहुचर्चित सामाजिक कथा छेमीकीले थप प्रष्ट पार्छ ।
तर, संधै सबैको हकमा भने यो लागू नहुँदो पनि रहेछ । मेरो हकमा पनि यस्तै भयो । तपाई पत्याउनुहोस् या नपत्यानुहोस यो बास्तबिकता हो । मेरो जीवनमा लागू भयो । मैले आफैले भोगेको । त्यो पनि मेरै यही जीवनकालमा भोगेको । तितो यर्थात ।
आत्मीय हुन्छ भनेको यही समाज मेरा लागि दुश्मन बनिदियो । शहर बजारमा के छ मलाई थाहा छैन । तर, दुर्गम भनिने यो गाउँमा यस्तै भयो । एउटी निर्दाेष आमाले दुई सन्तानलाई जन्म दिइन् । तिनै आमाको दुई सन्तान मध्यको एक हुँ म ।
मेरो जन्म २०१६ साल चैत्र २६ गते स्याङ्गजा जिल्लामा बाबा लिल बहादुर वि.क.र माता ईन्द्र देवी वि.क.को कोखबाट भयो । मेरो घरको आर्थिक अवस्था निकै कमजोर थियो । त्यसैले मेरो काल्यकाल निकै कठोरता पूर्बक बित्यो । चिँ मुसी चिँ मुसी खेल्ने उमेरमा म गोठालो अनि मेलापात गर्थें । मनलाई कठोर बनाएर मेरो बाबा आमाले मलाई काममा लगाउनु हुन्थ्यो । अर्थात भनौं । म उहाहरुलाई काममा सहयोग गर्थें । पढ्ने उमेरमा मैले काम गरेको देखेर पक्कै पनि उहाहरुको मुटु छिया छियो हुन्थ्यो होला । तर, मनको बाँधलाई बाँधेर उहाँहरु आँफुहरुलाई सघाउन मलाई केही भन्नु हुन्थ्यो । मलाई आज लाग्छ उहाहरु सायद आँफुलाई अपराधी सम्झिएर पनि बाध्यताको गरुङ्गो भारी बोकेर मौनता साँध्नु हुन्थ्यो ।
त्यो वेलामा छोरीलाई स्कूल पढाउने चलन थिएन । मेरो परिवारमा बाबा आमा लगायत ९ जनाको परिवार थियो । दाई र भाईहरु स्कूल जान्थे । बहिनी र म गोठालो अनि मेलापात गथ्र्यौं । बाबा एक्लैको कमाईले हाम्रो परिवारमा खान पनि धौ धौ हुन्थ्यो । तर पनि त्यसलाई सामना गर्नुको अर्को विकल्प हामी सँग थिएन । गरीबीको विबशतासँग हामी पौंठेजोरी खेलिरहेका थियौं । आखिर हामीसँग त्यसलाई चुपचाप सहनुको विकल्प पनि त थिएन ।
घण्टाघरको घडी घुम्दै गयो । दिनहरु वित्दै गए । २०३२ साल मंसिर १५ गते स्याङ्गजा जिल्लाको बिचारी चौतारा गाउमा मेरो विबाह भयो । मेरो घरमा मेरो श्रीमान लगायत ४ जनाको परिवार थियो । मेरो घरको आर्थिक अवस्था पनि माईतीको भन्दा उती फरक थिएन । आखिर उस्तैलाई उस्तै त पर्ने हो नी ।
पकृतिको नियम न हो । समयको गति कहिल्यै रोकिन्न । समय चलिरहन्छ । फरक यति हो । सुखमा रमीरहेकाहरुलाई समय चाँडै बितेजस्तो लाग्छ । दुःखसँग पौठेजोरी खेलिरहेकाहरुलाई समय घ्रिस्रिएको जस्तो मात्रै लाग्छ ।
समय वित्दै गएपनि, चेत पलाउदै गएपनि मलाई लाग्छ त्यसको प्रभाव गाउँमा उत्ति धेरै परेको थिएन । शहर बजार परिवर्तनले गुल्जार भएको थियो होला तर गाउँमा भने त्यसको कुनै असर परेको थिएन । त्यसको जिउदो साँक्षी मै हुँ ।
मैले ८ सन्तानलाई जन्म दिँए । ४ छोरा ४ छोरी जन्माए । नचाहेरै पनि मैले ८ जना सन्तानलाई जन्म दिँए । सन्तान कहिल्यै फगत महिलाले मात्रै चाहेर जन्मिदैन । यो सबैलाई थाहा छ । यसका सबै भुक्तभोगी हुन् । तर, मलाई यही कारणले घरले तिरष्कार गर्न थाल्यो । अर्थात सन्तान धेरै जन्माएको भन्दै अपहेलना गर्न थाल्यो । म अपहेलनाको शिकार हुन थाँले । सन्तान जन्माउनमा मेरो श्रीमान्को पनि मेरो जत्तिकै भूमिका थियो । तर, त्यसको एक्लो जवाफदेही भने म मात्रै भंए ।
मेरा सन्तान हुर्किदै गए । स्कूल पठाउन थाले मैले मेरा सन्तानहरुलाई । मैले पढ्न नपाएपनि मेरा सन्तानलाई पढाउने रहर थियो मलाई । अनपढ हुँदाको पीडा मैले भोगेको थिंए । मैले भोगेको पीडा मेरा सन्तानले नभोगुन भन्ने मेरो आशय थियो ।
तर, मेरा यी सबै रहरहरु पुरा भएनन् । अधुरै रहे । मेरी ठूली छोरीको सानै उमेरमा विबाह भयो । उ बेला पढ्दा पढ्दै बिबाह हुनु भनेको त्यसपछि पढ्न नपाउनु थियो ।
ठूलो छोरो आँफै पढ्न मानेन । मलाई तेस्रो र चौथो सन्तानलाई पढाउने धोको थियो । तर,उनीहरुले समाजको हेपाई अनि स्कूलका शिक्षकहरुको तिरष्कारका कारण पढ्न पाएनन् ।
कारण थियो मैले उनीहरुलाई छोरीको रुपमा जन्म दिएपनि उनीहरु छोरा जस्ता भएर हिड्न थालेका थिए । मेरा २ छोरीहरुको पहिरन र चाल चलन छोराको जस्तो देखेर मलाई त्यो अबुझ समाजले झनै हेप्न थाल्यो ।
मेरा छोरीहरुलाई विभिन्न नाम उपनाम दिन थालियो । मलाई पनि उनीहरुको पहिरन अनि चाल चलन पटक्कै मन परेको थिएन । किनकी म अशिक्षित थिए । मलाई यो समाजमा महिला र पूरुष मात्रै हुन्छ भन्ने थाहा थियो । मैले पनि उनीहरुलाई संधै छोरी जस्तो भएर हिड्न आग्रह गरे । तर उनीहरु समाजको बेइजती, अपमान र मेरो अनुरोधलाई समेत प्रवाह नगरी आफुलाई जे लाग्छ त्यही गरे ।
मेरा छोरीहरुको चालचलनले गाउका छरछिमेकका छोरीहरुले पनि देखासिकी गर्छन् र बिग्रिन्छन् । समाजको इज्जत जान्छ भनेर त्यो अन्धविश्वासी समाजले मेरा छोरीहरुलाई त्यो गाउमा बस्न नदिने निणय गर्यो ।
मैले पनि उनीहरुलाई उनीहरुकै रहर बिरुद्ध जान नभनेको होइन । तर, जन्म दिने आमाको मन न हो । कहाँ मान्छ र ? आफ्नो सन्तानलाई घर छोडेर जा भन्नलाई । छोरीहरुलाई सुधार्छु भनि कति पिटें गालि गरें । तर न त उनीहरु सुध्रिए । न त उनीहरुले पहिरननै फेरे ।

महिना बित्यो वर्ष बित्यो मेरा छोरीहरु परिवर्तन भएनन् । उनीहरुको त्यो ब्यबहारले मेरो सासु अनि आमाजुहरु पनि समाजकै कुरा सुन्न थाले । एक दिन म र श्रीमानले विचारी चौतारा अर्थात घर छोडेर जाने निर्णय गर्यौ र एक दिन घर छोडेयौं पनि । हामी छोरा छोरी लिएर रुपन्देही जिल्लाको भैरहवा भन्ने ठाउमा गएर बस्न थाल्यौ । तर उनीहरुको चालचलन फेरिएन । झन साच्चिकै छोरा नै बन्न पो थाले उनीहरुले त । संगै हिड्ने खेल्ने संगत पनि केटिसंग नगरेर केटासंग गर्न थाले । मैले उनीहरुलाई के भन्ने छोरा भन्ने कि छोरी भन्ने ? छोरी भनौ भने छोराको जस्तो पहिरन छ, छोरा भनौ त मैले छोरीको रुपमा जन्म दिएकी हुँ ।
एक दिन म एउटा सडक नाटक हेरीरहेकी थिँए । नील हिरा समाज भैरहवाले गरेको उक्त सडक नाटकमा अभिनय गर्ने कलाकार छोरी छोरा जस्ता थिए भने छोरा छोरी जस्ता थिए । उनीहरुले नाटकमा समालिंगी तेस्रोलिंगीका कुराहरु ग्रिरहेका थिए । सडकनाटक हेरेपछि त्यो दिन रातभरी खुल्दुलि बढ्यो । समलिंगी तेस्रोलिंगी भनेको के हो मलाई जान्ने उत्सुक्ता बढ्यो ।
खुल्दुली मेटाउने उद्देश्य बोकेर म सोध्दै खोज्दै नील हिरा समाजको कार्यालय पुगे । त्यहाँ हरी गुरुङ्ग भन्ने एक जना व्यक्तिसँग भेट भयो । उहाँसँग समालिंगी तेस्रोलिंगीको विषयमा सोधे । उहाँले मलाई समलिंगी तेस्रलिंगीको बारेमा स्पष्ट पारिदिनुभयो । त्यसपछि मैले मेरा दुई छोरीहरुको बारेमा सोधें । उहाले मेरा छोरीहरु पनि तेस्रोलिंगी भएको बताउनु भयो ।
त्यस दिनदेखी म लगायत मेरो परिवारले मेरा छोरीहरुलाई पहिचान दिन सक्ने भयौं । म आज ४ जना छोरा संगै थप २ छोराको जन्म दिन सफल भएकी छु । मेरा २ सन्तानलाई पुर्नजन्म दिन सफल भएको छु ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.