माधव दुलाल/पहिचान – कति कुरा मिठा भए होला कति तिता पनि । पत्रकारिताको जीवनमा धेरै लामो संगत त होइन, एचविसी एफएमबाट तानेर ल्याइएको यो स्तम्भकार कार्यरत संस्थामा पत्रकार सुर्यकुमार क्षेत्रीसँगको घनिष्टता बढ्यो । धेरै लामो पनि होइन । खरो स्वभावका क्षेत्रीसँगको सुरुवाती संगत कसैलाई नबिझाउने, यथार्थता, बास्तविकता भन्दा रिसाइ पो हाल्ने हो कि भन्नेहरुका लागि तितो हुन्थ्यो ।
हो मलाई पनि सुरुवाती ति दिन तितो नलागेको होइन । कसैलाई चिड्याउन हुँदैन भन्ने स्वभावको मलाई छोडेर उनी अस्ताए । घर परिवारको लागि मात्रै होइन मेरा लागि पनि छोटो समयमा नविर्सने छायाँ छाडेर उनी अस्ताए पनि उनको नाम म बाचुञ्जेल सम्झिरहने छु । हो उनै सुर्यकुमार क्षेत्रीले यो संसारमा सुर्य छोडेर गए । त्यसैले उनको शरीर अस्तायो, तर उनको आत्माले अध्यारो हुन दिदैन ।
२०६९ साल साउन १७ गतेदेखि पहिलो पटक सुरु भएको यौनिक तथा लैंगिक अल्पसख्यक समूदायका सदस्यको अधिकार प्राप्तिको आवाज रेडियो कार्यक्रम पहिचानमा म त्यसको हर्ताकर्ता थिए । त्यो हर्ताकर्ताको जिम्मेवारी दिने र रेडियो कार्यक्रम पहिचानका मात्रै नभएर पहिचान अनलाइनका समेत परिकल्पनाकार नील हिरा समाजका संस्थापक सुनिलबाबु पन्तको आग्रहमा समलिंगी तेस्रोलिंगीको बास्तविक जीवनमा मेल खाने कथा लेख्ने उनै सुर्यकुमार क्षेत्री थिए ।
अब ति अतितका कुरा मात्रै हुन्छन्, उनको समलिंगी तेस्रोलिंगी माथि हुँदै आएको विभेद अन्त्य गर्न गीत लेख्ने धोको पनि पूरा हुन सकेन । सुर्य कुमार नभए पनि उनले लेखेका मध्येको २०६९ साल भदौ १६ गते शनिवार देशका ११ वटा एफ एम रेडियोबाट प्रसारण भइसकेको कथा सुर्यकुमारकै शब्दमा ।
यो राजधानी शहर,
देशको मुटु । यहाँ हजारौ मानिस आफ्ना अधुरा सपनाहरु आँखामा सजाएर भौंतारिरहेका छन् । हजारौं मानिस असफलताको ठेस लागेर रन्थनिँदैछन् र आँफैलाई सराप्दै हरेक दिन काठमाडौं छोडीरहेछन् । हजारौं मानिस अनुत्तरीत प्रश्नहरुको चाङमा टेकेर, स्काईब्रिज चढ्दै ओर्लँदै छन् । न प्रश्न, न त उत्तर नै ।
न लक्ष्य कुनै न गन्तव्य कुनै । बश, हरेक दिन सुन्धारा र हङकङ बजारलाई चार फेरो लगाएर साँझ डेरा पुग्छन् यी लाखौं मानिसहरु । हजारौं माईक्रोबसहरु बेरोजगारहरुको जमात बोकेर कोटेश्वर टु कलंकी, ग्वार्को टु चावहिल गरिरहेछन् । हजारौं मानिस नाक बुझ्दै सडक पेटीमा लर्खराई रहेछन् । साँच्चै अजिबको काठमाण्डु । देशको राजधानी देशको मुटु । यो अनगिन्ती मानिस र गाडीहरुमा म केहि खोजी रहेको थिए । तर मलाई थाहा थिएन के खोजिरहेको थिएँ । त्यै पनि यहाँ मेरो लागि केहि हराईरहेको थियो जरुर यो भिड् छिचोल्दै म केहि खोजीरहेको थिएँ ।
यो माया हराएको शहर हो प्रिया
पल पल यहाँ सयौं मानिस अन्तर्वाता भन्दै फाईल बोकेर नयाँ बानेश्वर र महाराजगंज, जाउलाखेल र लगनखेल गरिरहेछन् । उज्यालो नहुँदै सयौं मानिस सिंहदरबारको गेटमा भेला हुन्छन्, हरेक चौकमा, देश, राजनीति, अपराध र बिदेशका कुरा गुञ्जीरहेछन् । कहिले इराकको बगदाद, कहिले अफगानिस्तानको काबुलको कुरा भैरहेछ यहाँ, त्यै पनि आफ्ना सपना सबै अधुरै ठानिरहेको छ मान्छे, त्यै पनि आफुलाई असफल ठानिरहेको छ मान्छे । लाग्छ, काठमाडौं अचेल दौडीरहेको छ । सयौं प्रतिष्पर्धामा एकै पटक भागलिने दाउ हेरीरहेका प्राणी छन् यहाँ । साँच्चै बिचित्र लाग्छ, यो काठमाडौं ।
मिनेट मिनेटमा खुसी र आँशु बराबर बर्षीरहेछ काठमाण्डुमा । मैले देख्ने गरेको छु, क्षेण क्षेणको धुलो र हिलोमा आफ्नो शरिर जोगाउन खोज्ने हजार हातहरु परिश्रम गर्न नपाएर कुजीएका छन् । सयौं किलो भार थाम्न सक्ने गतिला ज्यान कालो शिसा भित्र बन्द छन् र थर्थराउने पैतालाहरु यी सडकमा कुदीरहेका पनि छन्, त्यसैले यो बिचित्रको राजधानी म हरेक दिन अनेक रुपमा देखिरहेछु । हरेक दिन पर्खाई र थकाई मात्र दिएको यो शहर मैले केबल प्रतिक्षामा बिताई रहेँ हो मैले पर्खि रहेँ ।
पर्खि बसेँ आउला भनि मेरो उठ्ने पालो
बालुवाको राश धोएर त्यहीँभित्र सुनौलो भविश्य देख्ने देखि टाईसुटमा भविस्यको बाटो खोज्नेहरुको जमात यी साँघुरा गल्लीहरुमा भौंतारियीई रहेछ । ठसठसी पसिना गनाएका शरिर र नानाथरी पफ्र्युमले बसाएका शरिरहरुले लाखौं पटक यो शहर परिक्रमा गरिरहेका छन् । त्यैपनि यो शहर यस्तै छ । सयौं विवशता र व्यवधानले जकडिएकैछ ।
साँझ बिहान हातमुख जोर्न समेत नसकेर अकालमा मृत्यु वरणहरुलाई पनि काठमाडौंले वेहोरेको छ । बैज्ञानिक पौष्टीक आहार होईन गुन्द्रुक र खोले खान नपाएकालाई पनि काठमाडौंले भोगेकै छ, यहाँ हरेक दिन आकाशमा सरर उड्ने र चिल्लो सडकमा गुड्नेहरुको पनि त कमी कहाँ छ र ? यीनै अनगिन्ती गाडी र मानिसहरुको भिड्मा म पनि केबल यात्रारत छु, एउटा गन्तव्य बिहिन यात्री..।
यात्रा रहेछ जिन्दगी
यीनै लाखौं स्वरुपले भरिपुर्ण काठमाण्डु हाम्रा लागि पनि बास्तवमै अलौकिक छ । समाजले नै फरक व्यक्ति भनेर, सामान्य महिला पुरुष भन्दा तेस्रो स्थान दिएको हामीहरुलाई पक्कै स्वभाविक छैन । हाम्रो भोगाई हाम्रो, अनुभूति पक्कै अरुको भन्दा फरक छ । चाहेर वा नचाहेर हामी तिमिहरु भन्दा फरक छौं वा हौं भनेर परिचय दिन विवश छौं । तर के फरक, कस्तो फरक, त्यो पहिचान पनि छैन हामी संग सायद त्यहि पहिचानको खोजीमा भौतारीई रहेछौं, मान्छेको पहिचान् ।
यहि रंगै रंगको संसार हाम्रा लागि पनि केही गतिलो आश्रयस्थल बन्नु परेको छ ।
जब समलिंगी र तेस्रोलिंगी भनेर समाजले नै अलि फरक नजरले हामीलाई हेर्दो रहेछ, भने त्यो भन्दा ठूलो चुनौती खोज्नका लागि अन्त कतै जानु पर्छ जस्तो मलाइ लाग्दैन । हामीसंग भरपुर असफलता, हेय र सामाजिकरुपमा घृणीत बन्दाखेरीको सबै अनुभव छ । लाखौं सपनाहरुको थुप्रोबाट निकालेका केही सपनाका पोका खोल्दा पनि नहुने । म कुनै सपना देख्नु र नदेख्नुमा भिन्नता छुट्ट्याउन छाडीसकेको छु । संसारका सयौं मानिस यस्ता पनि छन् र जसले सपनामा देखेको कुरा बिपनामा पुरा हुन्छ भन्छन् । तर हामी बिपनामै सपना देख्नेहरुले जति संघर्ष गर्दा पनि हातमा भने घृणाको दाग बसिसकेको हुँदो रहेछ । यो थकान, यो परिश्रम खै केका लागि, खै कसका लागि ? कहिले काँही म आँफैलाई जवाफ दिन सक्दिन त्यै पनि म यो बिरानो शहरमा भौँतारिई रहेको छु ।
तिमी छैनौ शहर बिरानो भो
भिरबाट लडेको ढुंगा त केहि समयमा एउटा खोँचमा पुगेर अडिन्छ म त मानिस न हुँ मेरा लागि पनि कसो गन्तव्य तय नभएको होला र ? म एक दिन अनायास यस्तो ठाउँमा पुग्छु जहाँ आशाको प्रकाश चारै तिर छरिएको, संम्भावनाका कोपिलाहरु फूल्ने तयारी गर्दै गरेको, अनगिन्ती सम्भावनाका टुसाहरु बढ्दै गरेको अनुभूति म गर्छु ।
भन्ने गरिन्छ, मानिस स्वर्गमा गयो भने त्यसले मानिसको चोला पाउनुको सार्थकता हुन्छ, नर्कमा गयो भने हुँदैन । तर स्वर्ग र नर्क त हाम्रो मेहनतले पुग्ने ठाउँ होईन । त्यो त अदृश्य सत्यमात्र हो, त्यसो त नमरी न स्वर्ग गईन्छ न त नर्क नै । जे होस् मरेपछि स्वर्ग जान पनि त बैतरणनी नदि तर्नु पर्छ, भनिन्छ त्यो निकै कठिन छ रे । वास्तवमा मैले बैतरणनी नदि पार गरेर आएको स्वर्ग भेटेको जस्तो लाग्यो मलाई, म खुसीले दंग परे ।
उडायो उडायो सिरसिरे हावाले
राजधानीमा रहेको ब्लु डाइमन्डको अफिस थियो त्यो ।
धेरै डेस्क, धेरै मान्छे र केही पंखाहरु । अफिसमा मान्छेहरु यताउति हिड्दै र कुरा गरिरहेका थिए केहि मानिसहरु । झट्पट कसैले सोधेन । आँफै पनि केहि बोल्ने आँट आएन । आओस पनि कसरी ? हामी जस्ताहरुको संस्था हो, बस यत्ति थाहा थियो । तर के गर्छ, के गर्नु पर्छ, किन खुलेको यो संस्था, यसले हामीलाई के दिन्छ, की हामी आँफैले यो संस्थालाई केहि दिनु पर्छकी मलाई केहि थाहा थिएन । त्यै पनि मन उडीरहेको थियो चंगा जस्तै । कुनै तारमा ठोकिएला र त्यहिँ अड्कला कि भन्ने पिर खासै थिएन ममा ।
नेपाल अमेरिका भन्दा पनि अगाडि रे । वा । तेस्रोलिंगीको हिसाबले हेर्दा नेपाल निकै उद्धार देश रहेछ, त्यहि कुरा चलेको थियो त्यहाँ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि तेस्रो लिंगीलाई सहयोग हुने कुन जाती कानुनमा हस्ताक्षर गरे अरे, अमेरिकामा पनि तेस्रोलिंगीका लागि सहज । तर त्यो व्यवस्था नेपालमा उहिल्यै भएको थियो रे । सुन्दा गर्व महसुस भयो ।
आफुलाई नियाले तर मसंग व्यथा उहि थियो ।
सामाजिक रुपमा घृणित भएर बाँच्नु पर्दाको पीडा एकसयबाट उनान्सयमा मात्र झरेको थियो त्यो ठाउँमा पुग्दा तै पनि थाहा थिएन अगाडीको बाटो के हो ?
म सडकबाट संस्थासम्म आईसकेको छु, ब्लु डाईमण्ड सम्म । तर यस अघिको बाटो के हो र कहाँ पुग्छु थाहा छैन ।
आधा बाटो हिडी सकेँ, स्वरुपराज
बसाई परिणाममा बदलियो । ब्लु डाइमन्ड सोसाइटीकी सहायक निर्देशक मनिषा ढकालसंग भेट भयो । यो सायद मेरो जिन्दगीको सबै भन्दा महत्वपुर्ण उपलब्धी थियो । उहाँहरुले मैले भन्दा पनि कठिन पीडा र संघर्षको यात्रा तय गरेर यहाँसम्म आईपुग्नु भएको रहेछ । उहाँहरुको सक्रियतामानै खुलेको रहेछ, यो संस्था ।
धन्य पछिल्लो पुस्ताको लागि यति धेरै गर्नु भएको रहेछ । उहाँहरुको यो कदमबाट सयौं तेस्रोलिंगीहरुले लाभ लिईरहेका रहेछन् । मनिषा ढकाल आँफै पीडित भएका कारण सबैको समस्या सहज ढंगले केलाउनु हुँदो रहेछ । उहाँसंगको भेट मेरा लागि जिन्दगीकै महत्वपुर्ण उपलब्धी साबित भयो ।
म पुग्दा चलिरहेको कुरा बारे उहाँलाई सोधेँ अमेरिकी राष्ट्रपतिले गरेको कुरा के रहेछ भन्नेबारे उहाँले बताउनु भयो । ओबामाले समलिंगी बिवाहलाई मान्यता दिने कुरा गरेका रहेछन् । ओबामाको कदमबाट नेपाली पनि उत्साहित रहेछन । मनिषाले ओबामाको कदम निकै महत्वपुर्ण उपलब्धी भएको बताईरहनु भएको थियो ।
मानिस हजार संघर्ष गर्छ र एउटा उपलब्धी हाँसिल गर्छ र त्यहि उपलब्धी नै उसका लागि सबै भन्दा महत्वको बिषय बन्दो रहेछ । पहिचानको लडाई लडिरहेका मनिषा मेरो लागि सर्वस्व बन्न पुग्नु भो । उहाँहरुले मलाई पनि आफुले जस्तै संघर्ष गर्न सिकाउने आश्वासन दिनु भयो । म उहाँको साथ सहयोग र आश्वासनमा भरपुर विश्वस्त भएँ ।
मनिषा ढकालको संघर्ष देखेर म पनि अब संघर्षमा समाहित हुने भएँ । म पहिचानका लागि लड्ने भएँ । हो म संगठित भएर ब्लु डाईमण्डमा समावेश भएपछि मेरा खुसीका दिनहरु सुरु भएका छन् । म विश्वस्त छु, मसंगै यो समाज पनि परिवर्तन हुनेछ, अर्थात यो समाज हाम्रो पक्षमा उभिने छ ।…………………
सुर्य तारा भएपछि लाग्छ लाखौ प्रतिक्रिया व्यक्त भए, . तर सामाजिक सञ्जालमा भेटिएका यि दुई पेशाले नयाँ र पूराना पत्रकारका प्रतिक्रिया
सुदिपकुमार ढुङ्गाना फेसबुकबाट
.
चुस्स दारी, तिखो वोली, आत्मीय व्यवहारले कस्दछ ।
हसि मजाक, रमाईलो, त्यो यादले आज डस्दछ ।
भेट भए भगवानलाई थप्पड लगाएरै सोध्ने थिएं
तिम्रा विधानले किन यहां राम्रा लाईनै खोस्दछ ।
सपनामा आउ है क्षेत्री ‘ ए ढुंगाले हाना’ भन्नलाई
तिम्रो याद तिर वनि मुटु सम्मै पस्दछ ।
बसन्तप्रकाश उपाध्याय फेसबुकबाट
श्रद्धानत् श्रद्धाञ्जलि मेरो भाइ !
विगतमा थुप्रै नामहरुलाई टेलिफोन डायरीमा रातो लगाएर काट्नु परेको थियो । नराम्ररी कोक्याउँछ मन र मस्तिष्क स्तब्ध बन्छ यसो गर्दा । दुर्भाग्य आज चाहिँ मोबाइलको ‘कन्ट्याक्ट लिष्ट’बाट एउटा नाम मेट्नु पर्ने भएको छ ।
प्रिय भाइ सूर्य क्षेत्रीको नाममा दुई मोवाइल नम्बर छन् । एउटा ‘प्रिपेड’ अर्को ‘पोष्टपेड’ । पोष्टपेड जस्तै स्नेह, सदाचार र शालिनता बुझाएर अस्ताएका छन्–‘सूर्य भाइ’ । प्रिपेड झैँ उनको स्मरण–रिचार्ज गर्नु बाहेक उपाय छैन हामीसँग ।
सधैँ उत्साही, सदैव हंसमुख र हरेकपलमा आशावादी देखिने सूर्य आफूले भोगेको ‘ट्युमर–ग्रहण’बीच पनि कहिल्यै थकित, गलित, क्लान्त र अधैर्य थिएनन् । अनामनगरको भेटमा सम्बन्धको नामाकरण गर्दै उनी भन्दथेः ‘दाजु ! म जसरी बाँचे, त्यसभित्र तपाई सबैको आर्शीवचन स्पन्दित छ ।’
कहिले लामा कुरा त कहिले छोटो भावमा भन्दा सूर्य उन्नायकी र उदाउँदो मर्ममा विचारका प्रकाश फाल्दथे । छुट्टिएर पर गइञ्जेल उनलाई हेरिराख्न मन लाग्दथ्यो र सोच्दथेः ‘यथार्थ यति विघ्न क्रुर किन हुन्छ, कुन्नि ?’
त्यस्तै भएँ । यस्तै हुँदा हुँदै हिजो साँझ सवा सात बजेको रहेछ । राससकर्मी प्रिय भाइ एकराज पाठकले फोनमा सल्लाह गर्दै भनेः दाजु ! मैले पाएको गिरिजाप्रसाद पत्रकारिता पुरस्कार सूर्यजीलाई समर्पण गर्दा कसो होला ?’ अप्रत्यासिति एकराजको प्रश्नमा सहमति जनाउँदै मैले सूर्यको प्रिपेड नम्बर दिएँ ।
एकराज र सूर्यबीच सम्वाद के भयो मलाई थाहा भएन । वैशाख १७ गते (आज) दिनको २ बजे सो पुरस्कार समर्पण गर्ने समय तय थियो । यसबीच ‘सूर्य’ अस्ताएको अप्रत्यासित खबर सुन्नुप¥यो । कान भएपछि सुन्नैपर्ने, आँखा भएपछि हेर्नैपर्ने, परेपछि जे पनि भोग्नैपर्ने… ।
सूर्य भाइले जीवन–सम्वाद क्रमलाई यसरी अप्रत्यासित पूर्णविराम लगाउलान् भन्नेसम्मको कल्पना थिएन । अकल्पनीय यही यथार्थबीच प्यारो भाइलाई कमलादीमा लमतन्न छाडेर निशब्द हिँडिरहेको छु पुतलीसडकतिर । मलामीसम्म पनि बन्न नसक्ने यही नियतिबीच तिमीलाई श्रद्धानत् श्रद्धाञ्जलि मेरो भाइ !
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.