तेस्रोलिंगीलाई बजेटले सम्बोधन गरेन, किन समाजले भिन्न रुपमा हेर्छ ?

तेस्रोलिंगीलाई बजेटले सम्बोधन गरेन, किन समाजले भिन्न रुपमा हेर्छ ?

कैलाली (पहिचान) जेठ १६ – यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायले बजेटमा आफ्नो समूदायको एक शब्द समेत नपर्नु दखुद भएको वताएका छन् । नेपालको संबिधानमा समूदायको अधिकारबारे लेखिएपनि संबिधान जारी भएपछिको पहिलो बजेटमा समूदायका सदस्यको बृत्तिविकास लगायतका कार्यक्रमका लागि बजेट विनियोजन नहुनु दुखद भएको उनीहरुको भनाई छ ।

नील हिरा समाजको नर्वेजियन परियोजनाको सहयोगमा सुदुरपश्चिम समाजले धनगढीमा गरेको अन्तरक्रियामा सहभागीहरुले १० खर्ब ४८ अर्ब ९२ करोडको जम्बो बजेट समावेशी सिद्धान्त विपरित भएको वताए । सुदुरपश्चिम समाजका संयोजक एवं यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपालका उपाध्यक्ष राजु लामाले संबिधानमा व्यवस्था भएअनुसार संसदमा प्रस्तुत बजेटमा समूदायका लागि रकम विनियोजन नहुँदा दुख लागेको वताए । लामाले स्थानीय स्तरमा २०६६ सालदेखि नै जिल्ला विकास समिति, नगरपालिका लगायतका स्थानीय कार्यालयले केही रकम दिदै आएका जानकारी दिए । जिल्ला विकास समिति कैलालीले भने यो बर्ष कम्प्युटर र भाषाको तालिम दिने योजना स्वीकृत भइसकेको लामाले जानकारी दिए । यस्तै लामाले फारममा महिला, पुरुष र अन्य भएर आउन थालेपनि अन्यमा टिक लगाएर फारम भर्दा नाम पुरुषको फोटो महिलाको भन्दै समूदायका सदस्यले झन्झट व्यहोर्नु परेको वताए ।

समाजका कानुनी सल्लाहकार अधिवक्ता सुजन पन्तले केही जिल्ला प्रशासन कार्यालयहरुले अन्य उल्लेख भएको नागरिकता जारी गर्न आनाकानी गरिरहेको भन्दै संबैधानिक व्यवस्था कार्यान्वयन हुनु पर्नेमा जोड दिए । पन्तले समलिंगी विवाहबारेको अध्ययन प्रतिवेदन महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा थन्किदाँ समूदायका सदस्य विवाह गर्न पाउने अधिकारबाट बञ्चित हुनु परेको वताए । विवाह गर्न नपाउने, धर्म सन्तान राख्न नपाउने, सम्पत्ती लिन नपाउने लगायतका अधिकारबाट बञ्चित गराउन नहुने पन्तको भनाई छ । संबिधानको धारा १२, १८ र ४२ मा यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार लेखिएको भन्दै पन्तले कानुन बनाएर कार्यान्वयनमा आए अधिकार विहिन भएर बस्नु नपर्ने वताए । यो समूदायका लागि रोजगारी दिने संस्था नील हिरा समाज मात्रै रहेको पन्तले वताए ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी ऐरले समलिंगी तेस्रोलिंगीको अधिकारका बिषयमा सबै संचारकर्मीहरु सचेत रहेको वताए । हिजोका दिनमा पनि यो बिषय उठाउँदै आएका थियौ ऐरले भने, तपाईहरुले भोग्नु परेका समस्यामा हाम्रो सहयोग हुनेछ । उनले सबै मानव अधिकार सम्पन्न नभएसम्म देशको विकास हुन समेत अप्ठ्यारो हुने धारणा राखे ।
किन मलाई समाजले भिन्न रुपमा हेर्छ ?
20160529_110545तेस्रोलिंगी शिला सिंक ठकूरीले आफ्नो हाउ भाउ महिलाको भएकै कारण घर, परिवार र समाजबाट टाढिनु परेको वताए । स्थायी घर बझाङ भएका ठकुरीले आफू छोरो भएर जन्मेपनि हाउ भाउ केटी जस्तो भएकाले विभेद, दुरव्यवहार र हिंसा भोग्नु परेको वताए । स्कूलमा गयो केटी पारा देखाउँछस भन्दै शिक्षकले मर्द पारा देखाउन भन्छन ठकुरीले भने, घर, परिवार समाजले स्वीकार गरेको छैन, म कता जाउँ ? म अहिले कजेलमा अध्ययन गर्दैछु तर सबैले जिस्क्याउछन् त्यसैले परिक्षा दिन मात्रै जाने गरेको छु ठकुरीले भने ।

म पनि मानव हो, अरु मानव सरह किन हेरिदैन ? ठकुरीले भने, समाजले किन मलाई भिन्न रुपमा हेर्छ ? बझाङमा आफू जस्ता १८ जना तेस्रोलिंगी रहेको जानकारी दिदै उनीहरु विभेद, दुरव्यवहार र हिंसाकै कारण खुलेर आउन नसकेको वताए । ठकुरी महेन्द्रनगरमा भएको मिस पिंक सुदुरपश्चिम प्रतियोगिताका फष्ट रनर अप समेत हुन् ।

तेस्रोलिंगी करुणा अधिकारीले पहाडि जिल्लामा चेतना पुर्याउने प्रयास गरिरहेको जानकारी दिइन । सुदुरपश्चिममा सम्पर्कमा आएका समलिंगी तेस्रोलिंगीको संख्या ४ देखि ५ हजार रहेको अधिकारीले दिइन । तेस्रोलिंगी निरन चौधरीले लोक सेवा आयोगको फारममा महिला र पुरुष मात्रै उल्लेख भएकाले पहिचान लुकाएर प्रतिष्पर्धा गर्नु परेको वताए । फोटो महिलाको छ, नाम निरन बहादुर चौधरी छ उनले भने, लोक सेवा आयोगले फोन गरेरै फोटो केटीको र नाम पुरुषको छ किन भनेर प्रश्न गरे । उनले क्षमता भएर पनि प्रतिष्पर्धा गर्न नपाउनु दुखद भएको वताइन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.