काठमाडौं (पहिचान)असार ७ – शिक्षक शिक्षिकालाई देश विदेशको सबै ज्ञान हुन्छ भन्ने सामान्यत: समाजमा रहँदै आएको बुझाई हो । यसमा पनि विद्यालयमा अध्ययन गर्ने साना साना बालबालिकाहरुमा यो सोच रहेको हुन्छ । हुन त यसमा केही सत्यता पनि छ । सबै विषयमा कोही पनि पारंगत हुँदैन यो तथ्य पनि सत्य हो ।
तर, दशकौं देखि अध्यापन गर्दै आएका शिक्षक शिक्षिकालाई नै आफ्नो पाठ्यक्रममा के छ भन्ने थाहा नपाउनु भने विडम्बना नै हो । यस्तै भेटियो केही दिनअघि ललितपुरको पाटनमा । ललितपुरको पाटनस्थित प्रभात उच्च माविकी शिक्षिका नानीचुरी बज्राचार्यले पढाउन थालेको करिब २० वर्ष भयो रे ! उनी स्वास्थ्य तथा शारीरिक शिक्षा विषय कक्षा १० सम्मलाई अध्यापन गराउँछिन् ।
उनलाई पहिचान सहकर्मी अम्बिका दाहालले सोधिन्–तपार्ईलाई समलिंगी तेस्रोलिंगीबारे केही थाहा छ ?
उनले जवाफ दिइन्–कहिले कँही पसलमा देखेको मात्रै हो त्यती धेरै जानकारी छैन ।
दाहालले फेरी अर्को प्रश्न गरिन्,–स्कुलमा पढाउने क्रममा कोही त्यस्ता विद्यार्थी देख्नु भएको छैन ?
वज्राचार्यले उत्तर दिइन्–अँह मैले देखेको छैन । कसैले म समलिंगी हुँ पनि भनेन र मैले पनि चिनेको छैन ।
पाठ्यक्रममा समलिंगी तेस्रोलिंगीको विषय समावेश छ कि छैन ? बज्राचार्यलाई अर्को प्रश्न ।
छैन । भएको भए सायद हामीलाई पनि तेस्रोलिंगीका बारे थाहा हुन्थ्यो । बज्राचार्यको छोटो जवाफ ।
शिक्षा मन्त्रालयले दुई वर्ष भयो स्वास्थ्य तथा शारीरिक शिक्षामा समलिंगी तेस्रोलिंगी बारे कक्षा ६, ७ र ८ मा समावेश गरेको । तर बज्राचार्यलाई भने थाहै छैन ।
यो तथ्यले के प्रश्न जन्माउँछ, शिक्षक शिक्षिका कति अपडेट छन् र उनीहरुले कस्तो शिक्षा दिइरहेका छन् ? सँगै यस्तो स्कुलिङबाट कस्ता विद्यार्थी उत्पादन हुन्छन् ? अर्को प्रश्न हो ।
तर उनले कुराकानीका क्रममा समलिंगी तेस्रोलिंगीलाई विभेद गर्न भने नहुने बताइन् । महिला पुरुष सरह नै व्यबहार गर्नु पर्ने उनको भनाई छ । राज्यका कुनै पनि निकायले विभेद गर्न नहुने मात्रै बताइनन् उनले त्यसभन्दा एक कदम अघि बढेर समलिंगी तेस्रोलिंगीलाई जिविको पार्जनका लागि सीपमुलक तालिम दिनु पर्ने बताइन् ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.