सामाजिक कार्यमा लाग्न तेस्रोलिंगीलाई सुझाव

सामाजिक कार्यमा लाग्न तेस्रोलिंगीलाई सुझाव

रुपन्देही (पहिचान) साउन ८ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई सामाजिक कार्यमा लाग्न सुझाव दिइएको छ । नील हीरा समाज शाखा कार्यालय भैरहवाले आयोजना पत्रकार सम्मेलनमा पत्रकारहरुले विभिन्न सामाजिक कार्यमा सहभागी भएर समाजमा सकारात्मक सन्देश दिन सुझाव दिएका हुन् ।
समलिंगी तेस्रोलिंगी आफ्नै समुदायमा मात्रै सिमित छन् भन्ने सन्देश गइरहेको अवस्थामा कुनै सामाजिक कामको नेतृत्व लिन सके त्यो सबैका लागि उदाहरणीय हुने र त्यसले नकारात्मक रुपमा हेर्नेहरुको दृष्टिकोणमा पनि सकारात्मक छाप छोड्ने बताए ।
समलिंगी तेस्रोलिंगी आफैं खुलेर नआएसम्म समाजले उनीहरुबारे धेरै जानकारी नपाउने र जारी विभेद पनि अन्त्य नहुने पत्रकारहरुको भनाइ छ । यौनिक तथा लैंगिक अल्पसंख्यकका बारेमा कमै मात्र सकारात्मक समाचार आउने गरेको भन्दै उनीहरुले अब यसको अन्त्य हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा अधिबक्ता सुजन पन्तले संविधानले अधिकार सुरक्षित गरेको अवस्थामा अव सरोकारवाला पक्षले गम्भीर भएर यसको कार्यान्यनका लागि राज्यका सम्बद्ध निकायलाई दबाब दिनु पर्नेमा जोड दिए ।
Nareshसमलिंगी तेस्रोलिंगीको संबैधानिक अधिकारका हिसावले नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र भएको भन्दै संविधान अनुसारको कानुन बनाएर त्यसलाई संस्थागत गर्न सके नेपाल विश्वमै नमुना देश बन्ने पन्तको भनाई छ ।
समलिंगी विवाहलाई मान्यता दिने या नदिने भन्ने विषयमा सरकारी अध्ययन सुझाव समितिले बुझाएको प्रतिवेदन अनुसार कानुन निर्माणको प्रक्रिया सुरु नहुनु दुर्भाग्य भएको पन्तले बताए ।
कार्यक्रममा नील हिरा समाज शाखा कार्यालय भैरहवाकी कार्यक्रम संयोजक मनिला न्यौपानेले समाजमा समलिंगी तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोण विस्तारै परिवर्तन हुँदै गए पनि अझै विभेद र दुरव्यवाहार कायमै रहेको बताइन ।
आफूले १० वर्षको संघर्षपछि अन्य उल्लेख भएको नागरिकता पाएको भन्दै सरकारी निकायमा अझै समलिंगी तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउनु पर्नेमा जोड दिइन् ।
राज्यले संविधानमा अधिकार सुरक्षित गरेपछि अब त्यससँगै कानुन र नीति नियम पनि बन्नुृ पर्ने कार्यक्रम संयोजक न्यौपानेको भनाइ छ ।
कार्यक्रममा तेस्रोलिंगी डान्सर बिनिता शाही, अवन्तिका घर्तीमगर तथा विनोद विकले आफ्नो पहिचान अनुसारको नागरिकता र राहदानी नबनेका कारण स्टेज शो का लागि विदेशबाट आउने अफरहरुमा सहभागी हुन नपाएको गुनासो गरे ।
कार्यक्रममा अवान्तिका घर्तीले लामो समयदेखि आफूले पहिचान अनुसारको नागरिकता लिन चाहे पनि अहिलेसम्म पाउन नसकेको भन्दै यसकै कारणले प्राप्त अवसर पनि गुमाउनु परेको दुःखेसो गरिन् ।
कार्यक्रममा तेस्रोलिंगी अधिकारकर्मी आनिक रानाले नागरिकता दिने सन्दर्भमा सरकारी अधिकारीको बुझाईमा भर पर्ने गरेको अनुभव सुनाइन् । आफूले वर्षौ संघर्ष गर्दा पनि नपाएको नागरिकता केही समय अघि एकै दिनमा पाएको बताइन् । उनले अहिले आफूले पहिचान अनुसारको राहदानी पनि लिइसकेको जानकारी दिइन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.