कृष्ण आचार्य/पहिचान – ३५ वर्षअघि भक्तपुर, सिपाडोलमा एक शिशुको जन्म भयो । अभिभावकले नाम राखे– कृष्ण थापा । परिवारको कान्छो सन्तानका रूपमा जन्मिएका कृष्णले धेरै माया पाए । सबैले कान्छो छोरो भनेर पुलपुल्याए । निकै स्नहेका साथ पालनपोषण हुँदै गयो, कृष्णको ।
गाउँको शान्ति निकेतनबाट अध्ययन सुरु भयो, उनको । केटाहरूसँगै हिँड्ने, खेल्ने कृष्ण जब सात कक्षामा पुगे, त्यसपछि उनीमाथि प्रश्न उठ्न थाल्यो । केटो भएर पनि यो केटोजस्तो छैन । केटामा हुनुपर्ने कुनै बानी, व्यवहार र स्वभाव पनि छैन । सबैले यस्तै कुरा गर्न थालेपछि कृष्ण पिरोलिन थाले ।
केटाहरू ग्रुप बनाएर फुटबल खेल्ने । तर, कृष्णलाई भने केटीहरूसँग बस्न, खेल्न, रमाउन मन पथ्र्यो । धेरैजसो उनी केटीहरूकै वरपर हुन थाले । केटीको झैँ बानी व्यबहार अनि केटीहरूकै सर्कलमै रमाउन थालेपछि साथीभाइले उनलाई जिस्क्याउने क्रम पनि बढ्दै गयो । शिक्षकहरूले नै यो केटा हो कि केटी हो ? यसको पाइन्ट खोलेर हेर्नुपर्छ, भन्न थाले । त्यसपछि उनको मनमा कतिवेला आफ्नो पाइन्ट खोलेर हेर्छन् भन्ने अर्काे त्रास थपियो । त्यसकारण उनी हत्तपत्त शिक्षकहरूको अघि पर्न नपरोस् भन्नेमा लाग्न थाले ।
०००
परिवार र समाजको नजरमा छोरा थिए, कृष्ण । तर, उनी आफूलाई भने कहिल्यै पनि केटाजस्तो हुन मन लागेन । न त केटाहरूको सामीप्य नै प्यारो लाग्यो । उनलाई घरको काम गर्न, दिदीहरूको कपाल कोरिदिन, केटीहरूसँग खेल्न,कुरा गर्न, केटीकै लुगा लगाउन तथा लेडिज ब्याग बोक्न मन पथ्र्याे । आफूमा रहेको अनौठो बानी र विशेषताले उनी आफैँ अचम्ममा परेका थिए । स्कुलमा साथीभाइ र शिक्षकले गर्ने व्यवहारले उनमा पीडा थपिँदै गइरहेको थियो । कृष्णको बानी व्यहोरा र रुचिप्रति उनको परिवार पनि चकित परिरहेको थियो । बच्चै भएकाले ठूलो भएपछि सबै कुरा ठीक हुने विश्वास थियो । सात कक्षा पास गरेर गाउँको स्कुल छाडी भक्तपुरको शारदा माध्यमिक विद्यालयमा पढ्न गए, उनी । नौ कक्षामा पुग्दासम्म स्कुलका शिक्षक तथा साथीभाइले उनलाई अति नै जिस्क्याउन थाले । त्यसले उनमा तनाव झनै थपिँदै गयो । तनावका कारण उनी डिप्रेसनमा समेत परेँ । तर, पनि सबै कुरा सहनुको विकल्प थिएन ।
म किन यस्तो भएँ ? भन्ने प्रश्न आफैँभित्र गुम्स्याइरहे, उनले । तर, आफू अरूभन्दा फरक छु भन्ने महसुस भने उनलाई भइसकेको थियो । देख्दा केटाको स्वरूप भए पनि उनी केटाप्रति नै आकर्षित हुन्थे । केटीहरू त साथीजस्ता मात्र लाग्थ्यो उनलाई ।
०००
०५७ सालमा कृष्णले एसएलसी पास गरे । भक्तपुर बहुमुखी क्याम्पसमा प्लस टु पढ्न थाले । त्यहाँ पनि उनले ठूलै संघर्ष गर्नुपर्यो । उनी साथीहरूसँग खुलेर बोल्न सक्दैनथे । बोल्दा केटीको जस्तो स्वर आउने भएकाले उनीप्रति साथीहरूको हेर्ने दृष्टिकोण नै फरक हुन्थ्यो । साथीभाइको बीचमा उनी बोल्दा सबैजना उनलाई एकोहोरिएर हेरिरहन्थे । यतिवेलासम्म उनले आफ्नो फरक चाहनाबारे परिवारलाई भनेका थिएनन् । पुरुषको उमेरअनुसार आउने शारीरिक परिवर्तन पनि भएन, उनमा । न उनको दारीजुँगा आयो । न स्वर केटाको जस्तो भयो ।
उनलाई घरबाट बिहेको दबाब आउन थाल्यो । जेठी दिदीको बिहे भएको र कान्छी दिदीको बिहेको कुरा चलिरहेको थियो । घरमा बिरामी आमालाई कसले हेर्ने ? त्यसैले छोराले बुहारी ल्याओस् भन्ने चाहना परिवारको थियो । तर, उनी कसरी केटीलाई बिहे गरेर ल्याउन सक्थे र ? जबकि उनलाई केटा मात्रै मन पर्छ । शरीर केटाको झैँ भए पनि उनको इच्छा, चाहना, भावना, सोचाइ, मानसिकता, व्यवहार केटीको जस्तो थियो । आफ्नो जागिर नभएकाले श्रीमती पाल्न नसक्ने बहाना बनाएर उनले बिहे गर्न अस्वीकार गरिरहे ।
०००
०६४ सालमा उनले भक्तपुर बहुमुखी क्याम्पसमा बिए अध्ययन सुरु गरे । घरको दबाब र आफ्नो मनमा उठ्ने विभिन्न प्रश्नले गर्दा उनी डिप्रेसनको सिकार भइसकेका थिए । त्यसै क्रममा उनले केही म्यागेजिनमा तेस्रोलिंगी तथा समलिंगीको विषयमा पढ्ने मौका पाए । पत्रिकामा तेस्रोलिंगीको बानी व्यवहार र रुचिबारे पढेपछि उनी चकित परे । ‘पत्रिकामा तेस्रोलिंगीको बारेमा पढेपछि म छाँगाबाट खसेजस्तो भएँ,’ उनले भने, ‘त्यहाँ लेखिएको कुरा मेरो जीवनसँग ठ्याक्कै मेल खाने किसिमका थिए ।’
त्यसपछि मात्रै उनलाई म को हुँ भन्ने कुरा थाहा भएछ । त्यो कुराले उनमा अझ तनाव थपियो । एकातिर आफू तेस्रोलिंगी हँु भन्ने थाहा हुनु, अर्काेतिर समाज, साथीभाइका कारण डिप्रेसनको सिकार । उनको मनमा आत्महत्या गर्ने कुराले डेरा जमायो ।
‘म तेस्रोलिंगी हुँ भन्ने कुरा गाउँ, समाज र परिवारले थाहा पायो भने के भन्लान् भन्ने त्रासले मलाई बाँच्ने इच्छा नै मर्न थाल्यो,’ उनले भने, ‘कति रात रोएरै बिते । आफ्नो जन्मलाई धिक्कारिरहेँ । तर, म मर्न सकिनँ ।’ डिप्रेसनको चरम सीमामा पुगकाले उनी बिरामी परे । कुराहरू एकैछिनमा बिर्सिन थाले । पहिलो र दोस्रो वर्ष कलेज नै नगई बिताए ।
स्नातक तेस्रो वर्षमा पुगेपछि उनले ब्लु डायमन्ड सोसाइटी (नीलहीरा समाज)बारे थाहा पाए । त्यसपछि भने उनले राहतको सास फेर्न पाए । ‘जब म नीलहीराको कार्यालयमा गएँ, त्यहाँ मजस्ता धेरै साथी देखेँ । उनीहरूको दुःख, कष्ट सुनेँ । त्यसपछि भने मैले धेरै राहत महसुस गरेँ,’ उनले भने, ‘मजस्ता अरू साथी पनि रहेछन् भन्ने थाहा पाउँदा चित्त बुझाउने ठाउँ पाएँ ।’ त्यसपछि उनले पढाइमा ध्यान दिन थाले । स्नातक पास गरेर स्नातकोत्तर भर्ना भए ।
०००
भक्तपुरमा रहेको नीलहीराको कार्यालयमा जागिर गर्न थालेपछि उनलाई बिहे नगरी नहुने दबाब आयो । तारन्तार आयो । बिहान, दिउँसो र बेलुकै जतिवेला पनि परिवारले बिहे गर, बिहे गर भनेर हैरान गरे । त्यसै समयमा मिस पिंक ब्युटी ट्यालेन्ट आयोजना हुँदै थियो । त्यसमा भाग लिने उनको उत्कट इच्छा थियो । सोही सन्दर्भमा उनले आफू तेस्रोलिंगी भएको कुरा परिवारलाई स्पष्ट पारे ।
‘रुँदैरुँदै मैले परिवारका सदस्यलाई सबै कुरा भनेँ । उहाँहरूबाट आएको प्रतिक्रियाले मलाई झन् बढी हौसला मिल्यो । मेरो परिवारले मलाई अघि बढ्न निकै प्रेरित गर्यो,’ उनले भने ।
परिवारको हौसलाका साथ स्नातकोत्तर पढ्दै गर्दा उनलाई त्रिभुवन विश्वविद्यालयमा आफ्नो वास्तविकता ‘एक्स्पोज’ गर्ने सोच आयो । हिम्मत कसेर उनी केटीको ड्रेसअपमा कलेज गए । त्यहाँका सबै शिक्षक र विद्यार्थीको बीचमा आफू र आफ्नो समुदायबारे बताए । ‘मजस्ता अन्य विद्यार्थी पनि त्यहाँ अध्ययनका लागि आएको खण्डमा उनीहरूमाथि कुनै दुव्र्यवहार नहोस् र सरल तथा सुलभ रूपमा शिक्षा आर्जन गर्न पाऊन् भनेर यसो गरेको हुँ,’ उनले भने ।
कृष्णको यो साहसको सबैले प्रशंसा गरे । उनले एसएलसी पास गरेपछि कृष्ण थापाको नाममा नागरिकता लिएका थिए । तर, उनले आफ्ना कुरा राखेपछि त्रिभुवन विश्वविद्यालयले उनको ‘टाइटल नेम’ ज्योति थापाबाट विद्यार्थी परिचयपत्र बनाइदियो । त्यसपछि भइन् उनी ज्योति थापा । ‘त्यो मेरा लागि निकै आनन्दको क्षण थियो,’ कृष्ण उर्फ ज्योतिले भनिन् ।
त्यसपछि ज्योतिले नीलहीरा समाजले आयोजना गरेको ब्युटी कन्टेस्टमा भाग लिइन् । उनी ‘ब्युटी विथ ब्रेन’ र एचआइभी एड्स एम्बेस्डरको मध्यमाञ्चल विजेता बनिन् । ज्योति विजेता भएको खबर पत्रपत्रिकामा छापिए । उनको गाउँघरमा पनि कृष्ण तेस्रोलिंगी ‘ज्योति’ बनेको हल्ला चल्यो ।
ज्योतिले त्यसपछि आफ्नै गाउँमा आयोजित सांस्कृतिक कार्यक्रममा ‘एक्स्पोज’ हुने आँट गरिन् । उनी कार्यक्रममा साडीमा सजिएर गइन् । उनले सबैका अगाडि माइकमार्फत आफ्ना कुरा राखिन् ।
‘फलानोको छोरा त यस्तो रहेछ, केटी भएर हिँडेको छ भनेर गाउँभरिकाले कुरा काट्न थाले । कतिपयले त मलाई मानसिक अस्पतालमा लगेर उपचार गराउनुपर्छ पनि भने,’ उनी सम्झिन्छिन्, ‘दुई वर्षसम्म मेरो गाउँमा मेरैबारे कुरा भइरह्यो । तर, दुनियाँले जे भने पनि म त्यसपछि भने कत्ति पनि बिचलित भइनँ ।’
एक वर्ष नीलहीरा समाजको भक्तपुर शाखामा पार्टटाइम जागिर गरेकी उनी ०६६ देखि त्यहाँ फुलटाइमर भइन् । ०६८ देखि भने उनी ‘डिस्ट्रिक प्रोजेक्ट कोअर्डिनेटर’का रूपमा कार्यरत छिन् । उनी अहिले आफूजस्तै लैंगिक तथा यौनिक समुदायको पक्षमा काम गरिरहेकी छिन् ।
०७३ सालमा उनको यात्रा मोडलिङतिर मोडियो । हाउस अफ फेसन नेपालमा मोडलका रूपमा कार्यरत रहेकी उनले पानाच रनवे, इन्भोग्यु सिजन ४, आइसी डिजाइनर्स रनवेजस्ता फेसन सोमा भाग लिइसकेकी छिन् । प्रतियोगिताभन्दा पनि फेसन सो र र्याम्प वाकमा आफूलाई बढी रुचि रहेको बताउँछिन्, उनी । अहिले उनले आफूलाई व्यावसायिक मोडलका रूपमा चिनाउन सफल भएकी छिन् । त्यसका साथै उनले जेन्डर स्टडिजमा मास्टर्स गरेकी छिन् ।
०००
अहिले आर्थिक रूपमा पनि सक्षम रहेकी ज्योतिलाई चाहेको पैसा खर्च गर्न, मन परेको ठाउँ घुम्न, खान र खान कुनै समस्या छैन । जागिर र मोडलिङबाट आएको पैसा जीवनयापनका लागि पर्याप्त भएको बताउँछिन्, उनी । लिंगमा ‘अन्य’को पहिचानमा नागरिकता लिए पनि उनको नागरिकतामा नाम भने कृष्ण नै छ । इच्छाएको नाममा नागरिकता लिन पाउने कानुन बनेपछि भने ज्योतिको नाममा नागरिकता लिने चाहना उनको छ ।
साभार : नयाँ पत्रिका
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.