समलिंगी विवाहको कानुनमा मन्त्रालयमा हुँदा आसातित काम गर्न सकिएन : कुमार खड्का

समलिंगी विवाहको कानुनमा मन्त्रालयमा हुँदा आसातित काम गर्न सकिएन : कुमार खड्का

काठमाडौं (पहिचान) जेठ २९ – निवर्तमान महिला, बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले समलिंगी विवाहसम्बन्धी कानुन निर्माणमा आसातित काम हुन नसकेको बताएका छन् । पहिचानसँगको कुराकानीमा सांसद समेत रहेका खड्काले एकदमै छोटो कार्यकाल र सरकारको प्राथमिकता नैं चुनावमा केन्द्रीत हुँदा आसातित काम हुन नसकेको बताए ।

‘मन्त्रालयले सर्बोच्चको निर्देशनात्मक आदेश र संविधानको व्यवस्था अनुरुप समलिंगी विवाहसम्बन्धि कानुन निर्माणका लागि मन्त्रालयमा मस्यौदा कार्यदल त गठन भएको छ,’ सांसद् खड्काले भने, ‘तर त्यो मस्यौदा कार्यदलले सामान्य छलफल गरे पनि मस्यौदा निर्माण गर्ने र त्यसलाई अघि बढाउने अवस्थामा अझै पुगेको छैन ।’ खड्काले सर्बोच्चको आदेशले कानुन बनाउने बाध्यता रहेपनि त्यसलाई ‘पब्लिक डिवेट’मा लैजादा नकारात्मक परिणाम आउनसक्ने भन्दै पहिला कानुन बनाएर कार्यान्वयनका क्रममा नैं सामाजिक स्वीकार्यता खोज्नुपर्ने अवस्था रहेको बताए ।
‘समलिंगी विवाहलाई अहिले पनि हाम्रो समाजले सहज रुपमा स्वीकार्ने अवस्था छैन, तर त्यसो भन्दैमा नागरिकको अधिकार नैं कुण्ठित पारेर विवाहको अधिकारबाट पनि बञ्चित गर्न मिल्दैन,’ खड्काले भने, ‘त्यसैले समलिंगी विवाहका नकारात्मक पक्ष कम हुनेगरी कानुन बनाउने र उनीहरुलाई अधिकार प्रदान गर्ने आवस्यकता छ ।’ उनले आफूले मन्त्री हुँदा कानुन बनाउन नभ्याए पनि सांसदका रुपमा आवस्यक भूमिका निर्वाह गर्ने बताए ।
निवर्तमान मन्त्री खड्काले आफूले मन्त्रालयमा रहँदा थुप्रै सामाजिक सुरक्षासम्बन्धि कानुनको काम गरेको भन्दै यौनिक तथा लैंगिक अल्पसंख्यकलाई पनि त्यस अनुरुप नै अघि बढाउन चाहेको बताए ।
‘मैले निर्वाचन आचारसंहिताका कारण थुप्रैं काम गर्न नपाएपनि बुद्धबृद्धाको लागि सामाजिक सुरक्षा गर्न उनीहरुका छोराछोरीले अनिवार्यरुपमा आम्दानीको १० प्रतिशत जम्मा गर्नुपर्ने व्यवस्थासहितको कानुन निर्माण अन्तिम चरणमा पुर्याइएको छ,’ खड्काले भने । उनले त्यसरी नै यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि पनि ‘लिभिङ टुगेदर’लाई बैद्यता दिएर तत्कालै उनीहरुका सम्बन्ध व्यवस्थित गर्नु आवस्यक रहेको वताए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.