पुरुष भएर पनि महिलाका नामले प्रख्यात तोरण पुनको भित्रि कथा: जो ‘सभ्यता’ नामले चिनिन चाहन्छन्

पुरुष भएर पनि महिलाका नामले प्रख्यात तोरण पुनको भित्रि कथा: जो ‘सभ्यता’ नामले चिनिन चाहन्छन्

 Image

रीता बुढाथोकी/काठमाडौं (पहिचान) साउन २  – बोली सुन्दा र पहिरन हेर्दा जो कसैले उनलाई केटा नै भन्छन् ।  शारिरिक रुपमा पनि उनी लोग्ने मान्छै नै हुन् । तर उनको नाम सुन्दा सबैलाई अचम्म लाग्ने गर्छ, किनकी उनी आफुलाई केटीको नामले चिनाउने गर्छन् । बिगत १६ वर्षयता आफूलाई महिलाको रुपमा चिनाउन संघर्षरत कास्की पोखराका तोरण पुन बावु आमाको प्रीय छोरा, श्रीमतीको असल श्रीमान र छोरा छोरीको एक मात्र मायालु पीता हुन्।

आफ्नो वास्तबिकता यस्तो हुँदा हुँदै उनी केही समयदेखि ‘सभ्यता’ नामले चिनिदैँ आएका छन् । उनी आफुलाई महिला हुँ भनेर परिचय दिदैँ गर्दा जो कसैलाई पत्याउन मुस्किल हुने गर्छ । आखिर, उनी आफुलाई ‘फुलबटम क्वीन’ अर्थात ‘सभ्यता’ भनेर चिनाउनुमा बढी खुसी हुन्छन् । यसका पछाडि के कारण छन् त ?

शारिरीक रुपमा केटा भए पनि स्वभावगत रुपमा आफ्ना धेरै गुणहरु केटीसंग मिल्ने भएकाले पनि आफु केटीको नामले चिनिन खोजेको तोरण बताउँछन् । त्यसो त, ‘सभ्यता’ नाम उनी आफैले राखेको नाम हो । उनले आफुलाई ‘सभ्यता’मा रुपान्तरण गर्न आफ्नो जिन्दगीको ४ दशक कुर्नु पर्यो । हो, तोरण पुनबाट सभ्यता पुनमा रुपान्तरित हुन उनले निकै संघर्ष गर्नु परेको थियो । उनी सानैदेखि लज्जालु स्वभावका थिए, मानौ उनी लाज र डरको पोको नै थिए भन्दा फरक नपर्ला । बाल्यकालमा कोठा बन्द गरेर आमाकोे फरिया बाँधेर आमाकोे टिका, गाजल र लिपस्टिक लगाएर श्रीङ्गार गरेको उनको मानसपटलमा अझै ताजै छ ।

“बाहिर आफन्त तथा आफु भन्दा ठुला बडाहरु आउनु हुन्थ्यो, मम्मीले बाहिर निस्केर नमस्कार गर भन्नु हुन्थ्यो तर मलाई एक दम ‘दकस’ (अप्ठरो) लाग्थ्यो” उनले आफ्नो बाल्यकाल सम्झिन्छन् । घरमा आएको मान्छे कति बेला फर्किन्छ भनेर झ्यालबाट हेरेर बस्ने उनी पाहुना गए पछि मात्र बाहिर निस्किन्थे । आफुलाई बन्द कोठा भित्रै कैद गरेको सम्झिदै उनी भन्छन्, “बन्द कोठा नै मेरो ठुलो संसार थियो ।”

किनकी उनलाई आफु सरहका साथीहरुले हेप्ने र गिज्याउने गर्थे । त्यसैले पनि उनी घरदेखि बाहिर निस्किन अप्ठेरो मान्थे । तर त्यो बन्द कोठा उनका लागि गतिलो प्रेरणाको स्रोत बन्यो । आफ्ना लागि केही गर्नु पर्छ र भविष्यमा ठुलो मान्छे बनेर देखाउछु भन्ने आत्मविस्वासका साथ उनले पढ्न थाले ।

त्यो लाज, शंकोच, डर र त्रासका बावजुद उनले आफ्नो यौनिकताको बारेमा १४/१५ वर्षको किशोरावस्थामा पुगेपछि मात्र थाहा पाए । उमेर बढ्दै जाँदा बिपरित लिङ्गी साथी अर्थात केटी साथीहरु संग आकर्षित हुनु पथ्र्यो तर उनी केटा साथी संग बढी रमाउथेँ । आफु ‘समलिङ्गी’ हुँ भन्ने थाहा त भयो तर घरपरिवार र समाज उनको वास्तविकता स्वीकार्न तयार थिएन । त्यसैले पनि आफ्नो वास्तविकता आफु भित्रै सिमित राखे । यसका बावजुद स्नातकोत्तर सम्मको अध्ययन पुरा गरेर समाज सेवा मात्र नभई उनीे लैगिंक अल्पसंख्यामा परेका समुदायको मुक्ति र परिवर्तनका लागि समेत कठिवद्ध छन् ।

सन् २००१ मा नेपालमा ‘ब्लु डाइमन्ड सोसाइटी’ (नील हिरा समाज)को स्थापना संगै २००२ मा पोखरामा आयोजित एक कार्यक्रममा थुप्रै केटाहरु केटीको ड्रेसमा आएको देखे पछि उनलाई पनि आफ्नो परिचय दिन मन लाग्यो । आफु भित्र भएको स्त्री स्वभावका कारण केटीकै नामले चिनिनु पर्छ भन्ने लागेर उनले ‘सभ्यता’ भनेर आफ्नो परिचय दिए । तर केटीको कपडामा आफुलाई सजाउन चाँही नसकेको स्मरण गर्दै उनी भन्छन्, “आज भन्दा १६ वर्ष अघिदेखि नै म आफुलाई केटाकै गेटअपमा रहेर केटा साथी तथा ‘केटा सेक्स पार्टनर’ खोज्थे, त्यती बेलादेखि नै म आफुलाई तेस्रो लिङ्गी होईन समलिङ्गीको रुपमा वकालत गर्दै आएकी छु ।”

उनले आफु पूर्णरुपमा समलिंगी भएको कुरा पछिमात्रै थाहा पाएका हुन् । १६ वर्ष अघिदेखि आफुलाई समलिङ्गी भन्दै आएको भए पनि अरुको माझमा समलिङ्गीको रुपमा परिचय दिदैँ आएको ३ वर्ष मात्र भएको छ । १४ वर्ष अघि पोखरामा आयोजित समलिङ्गीहरुको बिशाल जमघटमा आफुलाई तेस्रो लिङ्गी भन्नेहरु पनि धेरै थिए तर उनले आफलाई समलिङ्गीको रुपमा आफुलाई चिनाउदै आए ।

त्यसो त, १९ वर्षको कलिलो उमेरमा नै सामाजिक परम्परा अनुसार उनी विवाह बन्धनमा बाधिएका थिए । मगर जातीमा मामाको छोरी बिवाह गर्ने चलन भएकाले कुनै पनि हालतमा उनले मामाको छोरी ल्याउनै पथ्र्यो । त्यसैले, परिवारको खुसीका लागि भएपनि उनले बिवाह गरे । आफु केटा भएर केटा नै रोज्ने स्वभावका बावजुद पनि उनले केटी संग बिवाह गरे । आफ्नो बैवाहिक सम्वन््धको बारेमा उनी भन्छन्, “वैवाहिक सम्बन्ध संस्कारका हिसाबमा चल्नुपर्छ भन्ने मान्यतका कारण मैले बिहे गरे, हामीले विवाह गरेर घर गृहस्थी चलाउन पर्छ भन्ने मान्यता त हिजो देखि आजसम्म हामी जस्ता यौनिक तथा अपसंख्यकमा रहेका सबै साथीहरुलाई घरबाट दबाब आउँछ ।” तर पनि आफ्नो बैवाहिक सम्वन्ध आज सम्म पनि सुमधुर रहेको उनी बताउछन् ।

उनको वैवाहिक जिवनले २० वर्ष नेटो काटिसकको छ । दुई दशक अगाडि विवाह भइसकेपछि पढाइको शिलसिलामा होस्टल बस्दाताका एकदुई जना समलीगीं केटा साथीसंग रमाइलो गरेको अनुभव छ उनी संग । केटा साथीसंगको संगतमा एउटा छुट्टै सन्तुष्टी हुन्छ भन्ने कुराको अनुभव होस्टेल जिवनबाट भएको उनी बताउछन् । त्यसको अलवा वैवाहिक जिवनमा आएपछि श्रीमती संग एउटै ओछ्यानमा सुत्नु, बाबुआमाको ईच्छा अनुरुप बच्चा जन्माउने कुरामा संलग्न हुने कुरामा आफुले कहिल्यै अप्ठ्यारो नमानेको पनि उनी बताउछन् ।

विपरित लिंग प्रतिको आकर्षण समलींगीमा हुँदैन तर उनी श्रीमतीसंगको सम्वन्धमा पनि उत्तिकै जिम्मेवार छन् । वैवाहिक जिवनमा बाँधिइ सकेपछिको संबन्ध निभाउन आफु वाध्य भएको उनी बताउछन् । संगै बस्ने, सुत्ने र संगसंगै जीवन बिताउने कुराले ठुलो समस्या निम्त्याउन सक्छ, तर श्रीमती संगको सम्वन्ध सुमधुर बनाउन आफुले कुनै कसर बाँकी नराखेको बताउँछन् उनी । घरमा श्रीमती भएपनि बाहिर समलिंगी यौनसाथीकोे खोजीमा पनि समय मिलाएकै हुन्छन् । फेरि पनि जीवनसाथीसंगको सहकार्य र उठबसमा कहिल्यै तिक्तता नरहेको उनको भनाई छ । उनी भन्छन्, “आजको मिती सम्म हामी खुसी छौं, म समलिगी हुँ भनेर श्रीमतीलाई थाहा छैन, यदी थाहा पायो भने उनलाई नरमाईलो लाग्न सक्छ तर मैले आफुले खुलेर भन्न पर्ने हुन्छ की म समलिंगी नै हो ।” श्रीमतीलाई गन्जागोल र अल्झनमा राख्न नहुने कुरामा उनी सचेत छन् ।

तर आफ्नो वास्तविकता थाहा पाएपछि श्रीमतीले नराम्रो सोच्ने हुन की भन्ने चिन्ता पनि उत्तिकै छ । “मेरो श्रीमतीलाई यी सबै कुरा सुनाउँदा उनलाई धेरै गाह्रो हुन सक्छ, यस कुरामा म सचेत छु । तैपनि जोड दिएर भन्नु पर्ने हुन्छ कि म जस्ता अप्ठारोमा परेका साथीहरुको उद्धारमा हाम्रोे हक अधिकारको लडाई युद्ध पनि हुन सक्छ”। जे भए पनि श्रीमतीसंग खुलस्त रुपमा पारदर्शी हिसाबले आफ्नो परिचय दिनु जरुरी रहेको उनको ठम्याँइ छ । अझै पनि यौनिक अल्पसंख्यकमा परेका ब्यक्तिहरुलाई समाजले स्वीकार गर्न हिच्किचाउने गरेको पाइन्छ । भन्छन्, “हाम्रो जस्तो रुढीबाढी सोचाई भएको समाजको मानसिकता र सोचाइँमा परिवर्तन ल्याउनु धेरै गाह्रो छ । त्यो परिवर्तन ल्याउनको लागि भर्खर त हाम्रा अधिकारका कुराहरु आउँदै छन् ।”
‘समलिंगी’ तथा ‘तेस्रोलिंगी’हरुले बेला बेलामा असामान्य, तडकभडक र उच्छृङ्खल ब्यवहार प्रदर्शन गर्ने गरेको आरोप आउने गर्छ । तर आफुहरुलाई यही समाजले यस्तो बनाएको उनको तर्क छ । उनी भन्छन्, “हामीहरु धेरै पीडित छौँ्, हाम्रा आवाज यो समाजले सुन्दैन, त्यसैले पनि हाम्रा साथीहरु लुकीछिपी अवान्छनीय घटनामा मुछिदै आउनु भएको कुरा सत्य हो” । यी सबै समस्याका बाबजुद लैगिंक अल्पसंख्यामा परेका आफु जस्तै व्यक्तिहरुको अधिकारको पक्षमा आवाज उठाउने र उनीहरुलाइ ‘फास्ट ट्रयाक सेफ ल्यान्डिङ’ गर्न सकिने कुरामा उनी दृढ छन् । त्यसैले पनि आफु लामो समयदेखि त्यो अभियानमा जुटेको उनी बताउछन् ।
आफु र आफु जस्ता शिक्षीत पुस्तालाई समेत यो समाजले अल्झनमा राखेको बताउदैँ उनी भन्छन्, “गाउँका जो अनपढ र निरक्षर छन् उनीहरु खुलेर बोल्न पनि सक्दैनन्, उनीहरुका लागि आवाज उठाउनु नै मेरो काम हो” । हुन त यौनिक अल्पसंख्यकमा परेका ब्यक्तिहरुकोे मौलिक हक अधिकारको कुरा गर्ने हो भने त्यो पनि गुमनाम जस्तै भएको उनको दाबी छ । भन्छन्, “हामी अलग्गै मानिस हैनौं । सामान्य मान्छे नै हौं । सरकारले अनाधिकृत रुपमा मान्यता दिएको पुरुष र महिला बाहेक अन्य ‘एल्जीवीटीआई’ हौं ।

सन् २००१ देखिको आफ्नो लडाई केही हद सम्म सार्थक हुँदै आएको उनले बताए । अहिले ‘अन्य’ भनेर आफुहरुले नागरिकता र पासपोर्ट पाएको प्रति उनी खुसी छन् । मौलिक हक अधिकार भित्र केटाले केटा संग बिवाह गर्न पाउने र केटीले केटीसंग बिवाह गर्न पाउने व्यवस्था भर्खरै मात्र पारित भएको छ । उनी जस्ता अल्पसंख्यकहरुको पहिचान केही हदसम्म भए पनि राज्यले स्वीकार गरेको छ । राज्य संघातमक प्रणालीमा गइसकेको छ । संघातमक राज्यमा आफुहरुको शिक्षा प्रणालीका कुरादेखि रोजगारीका कुरा सम्म राज्यले व्यवस्था गर्नु पर्ने भन्दै उनीहरुले बेलाबेलामा आन्दोलन पनि गर्ने गर्छन् ।

निजामति सेवा तथा लोकसेवा आयोगमा आफुहरुको लागि कोटा छुट्याउनु पर्ने माग पनि उनीहरुको छ । अन्य नागरिक सरह बाँच्न पाउने र राज्यका हरेक निकायमा समावेशीकरण हुनु पर्ने माग यथावत नै छ । यौनिक अल्पसंख्यकमा परेका व्यक्ति तथा समुदायहरुले माध्यमिक तहसम्मको पढाई समेत पुरा गर्न नपाएको उनको गुनासो छ । पढ्न भनेर विद्यालय त जान्छन् तर उनीहरु आफै भित्रको लाज र डरका कारण अरु साथीहरु माझ खुल्न नसकेको उनले वताए ।
समलींगीहरुलाई विद्यलायमा संगै पढ्ने सहकर्मी साथीले तेरो यौनिकता के हो, हेर्छाै भनेर निकै अप्ठ्यारा अवस्था सिर्जना गरिदिन्छन् । त्यसैले पनि उनहिरु विचैमा पढाई छाड्न बाध्य भएको उनको भनाई छ । शिक्षक शिक्षीकाले राम्रो व्यवहार नगर्ने, साथीभाईले तेस्रो लिंगी तथा समलिंगीहरुलाई विद्यालयमा जाँदा गिज्याउने र शौचालय जाँदा समेत अप्ठ्यारोको सामना गर्नु परेको हुँदा आफुहरुले बिचमै पढाई छाड्नु परेको उनको कथन छ ।

केटा भएर केटीको कपडा लगाउन मन लाग्ने समलिंगीहरुको स्वभाव हो तर यसलाई समाजले खिल्ली उडाउने र उसको वास्तविकतालाई हास्यास्पद बनाउने गरेका कारण बाध्य भएर सडकमा आउने गरेको उनी बताउछन् । त्यसैले पनि आफु र आफु जस्तै यौनिकता भएका साथीहरुको अधिकारका लागि ‘ब्लुु डाईमन्ड सोसाइटी’ मार्फत उनले वकालत गर्दै आएका छन् ।

काठमाडौँको धुम्बाराहीमा ब्लु डाईमण्ड सोसाईटीको केन्द्रिय कार्यलय रहेको छ । हालसम्म नेपाल भरि ३७ जिल्लाका ४३ शहरमा शाखा कार्यलय रहेका छन् । त्यहाँ उनी जस्ता यौनिक तथा लैङ्गिक अल्पसंख्यकमा परेका ब्यक्तिहरुको अधिकारका साथै आत्मबल र उर्जाशिल कसरी बन्न सकिन्छ भनेर अभिमुखिकरण कार्यक्रमहरु गरिन्छ ।

उनी ‘निल हिरा समाज’ तनहुँको शाखा कार्यालयमा कार्यरत छन् । त्यसो त उनी कास्कीका जल्दावल्दा पत्रकार पनि थिए कुनै समय । २०५२/२०५३ सालताका ‘आदर्श समाज’ नामक पत्रिकामा लेख लेख्दै पत्रकारितामा हाम फालेका उनी लामो समय सम्म सुचना तथा संचार विभागमा रहेर पत्रिका प्रकाशन गरेका थिए । त्यतिबेला उनले ‘पुन हिल’ पत्रिकाको प्रधानसम्पादक भएर काम गरे ।

तर ‘निलहिरा समाज’ तनहुँ शाखामा आवद्ध भए पछि उनी आफ्नोे परिचयका साथ चिनिन थाले । समाजमा हाम्रो अस्तित्वलाई अझै पनि सहजका साथ स्वीकार गरिदैन । त्यसैले पनि उनी र आफु जस्तै लैङ्गिक अलपसंख्यकमा परेका व्यक्तिहरुको माझमा भने सभ्यता भनेर नै चिनिन्छन् ।

साभार : नेपालटल्क डट कम

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.