२९ जना अन्तरलिंगी काठमाडौंमा, घरघरमा अन्तरलिंगीको मुद्धा उठाउन अध्यक्ष गुरुङको आग्रह

२९ जना अन्तरलिंगी काठमाडौंमा, घरघरमा अन्तरलिंगीको मुद्धा उठाउन अध्यक्ष गुरुङको आग्रह

अम्बिका दाहाल/काठमाडौं (पहिचान) साउन २२ – देशका विभिन्न ११ जिल्ला २९ जना अन्तरलिंगी काठमाडौंमा भेला भएका छन् । काठमाडौंमा सुरु अन्तरलिंगीहरुको राष्ट्रिय कार्यशालामा विभिन्न ११ जिल्लाका २९ जना अन्तरलिंगी सहभागी भएका हुन् ।

बर्दियाबाट ६ जना, बाराबाट ६ जना, झापाबाट ५ जना, काभ्रे, कञ्चनपुर, सप्तरी र कैलालीबाट दुई दुई जना, बाजुरा, ललितपुर, रामेछाप र सुनसरीबाट एक एक जना अन्तरलिंगी कार्यशालामा सहभागी छन् ।

अन्तरलिंगी व्यक्तिका समस्या र अधिकारका बिषयमा नील हिरा समाजले गरेको कार्यशालाको उद्ध्घाटन गर्दै समाजकी अध्यक्ष पिंकी गुरुङले आफ्ना समस्या खुलेर राख्न सहभागीलाई आग्रह गरिन् । “अन्तरलिंगीको मुद्धा फरक हो यसलाई फरक तरिकाले वुझ्नु पर्छ अध्यक्ष गुरुङले भनिन्, हामीले अन्तरलिंगीको मुद्धालाई सँगै लिएर आएका छौ, यो मुद्धा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको साझा मुद्धा हो ।”

उनले हरेक जिल्ला, स्थानीय तह र घरघरमा अन्तरलिंगीको मुद्धा उठाउन आग्रह गरिन । “संविधान र कानुनमा लेखेर मात्रै हुँदैन उनले भनिन्, संविधान र कानुनमा लेखेका अधिकार लिन आफू पनि सक्षम बन्नु पर्छ ।” उनले लुकेर बसेसम्म अधिकार पनि लुकिरहने भन्दै खुलेर आफ्नो अधिकार लिनु पर्ने वताइन ।

उनले कार्यशाला समस्या समाधानको बाटो खोज्न सफल हुने विश्वास व्यक्त गरिन । “आफूले जन्म दिएको बच्चालाई त नरोएसम्म दुध खुवाइदैन उनले भनिन्, नमागेसम्म नेपालमा अधिकार पाइदैन, अधिकार माग्न खुलेर आउनुहोस ।” कार्यशालामा सहभागीहरुले थोरै सख्यामा रहेका अन्तरलिंगीको समस्या समाधानमा सरकार गैर जिम्मेवार बनेको आरोप लगाए ।

अन्तरलिंगी बच्चा जन्मने वित्तिकै यौनाङ परिवर्तन गर्न अधिकार दिनु राज्यको गैरजिम्मेवारी भएको उनीहरुको आरोप छ । सन् २०१६ मा अन्तरलिंगीहरुको पहिलो राष्ट्रिय कार्यशाला भएको थियो । यो दोस्रो कार्यशाला हो ।

कार्यशालामा नील हिरा समाजका उपनिर्देशक परसुराम राई र अन्तरलिंगी अधिकारकर्मी इशान रेग्मीले अन्तरलिंगीले भोग्दै आएका समस्या र समस्या समाधानका लागि एकजुट भएर आवाज बुलन्द गर्नु पर्नेमा जोड दिएका छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.