तेस्रोलिंगी छोरीहरुको तीज मम्मी पिंकीसँग

तेस्रोलिंगी छोरीहरुको तीज मम्मी पिंकीसँग

तेस्रोलिंगी छोरीहरुको तीज मम्मी पिंकीसँग
काठमाडौं (पहिचान) भदौ ८ – नील हीरा समाजकी अध्यक्ष पिंकी गुरुङलाई यसपालिको तीज सेलिब्रेसन अरू बेलाभन्दा कसरी फरक बनाउन सकिन्छ भन्ने पिरलो परेको छ । योपटक केही नयाँ गरौं भन्ने सोचिरहेकी छन् उनी । तेस्रोलिंगी समाजका सम्पूर्ण छोरीहरूको आमाको भूमिकामा रहेकी पिंकीलाई थुप्रै तेस्रोलिंगी छोरीहरूलाई दर खुवाउनु त छँदैछ, दरसँगै अरू के रमाइलो गर्ने भन्ने सरसल्लाहमा पनि व्यस्त छिन् उनी । उनका छोरीहरूले सोध्न थालिसके- मम्मी सारी किन्ने कि अरू नै लगाउने ?

घरपरिवार र समाजले तेस्रोलिंगी समाजलाई बहिष्कार गर्ने भएकाले आफ्ना थुप्रै छोरीहरूले तीज, दसैं, तिहारजस्ता राष्ट्रिय पर्वहरूमा न्यास्रो मानेको गुरुङले बताइन् । उनी भन्छिन्, ‘यस्तो बेलामा यो समुदायका साथीहरू एक्लो महसुस गर्छन् । त्यसैले सबैको दुःखपीडा भुलाउन एकअर्काको समस्या सुन्दै तीज मनाउने गरिएको हो ।’ उनले महिलाहरूले जस्तो बूढाले, सासूले गरेको खटनपटन र दुव्र्यवहारको बिलौना नगर्ने बताइन् । ‘हाम्रो विवाह पनि हुँदैन, माइत पनि जाँदैनौ । ब्लु डायमन्ड सोसाइटी माइतीघर हो, पीर बिसाउने ठाउँ । त्यसैले सबै यहीँ जम्मा हुन्छौं’, उनले भनिन् ।

लमजुङ बिचौर घर भएकी पिंकीले २९ वर्षको उमेरसम्म आफ्ना इच्छा आकांक्षालाई दबाएर राख्नुपर्दाको पीडा भुलेर यस्ता खालका चाडपर्व मनाउनुमा छुट्टै रमाइलो लागेको बताइन् । आफ्नो जस्तै पीडा भोग्ने अन्य साथीहरूका लागि पनि यस्ता कार्यक्रम आयोजना गर्दै आएको हो, नीलहीरा समाजले । परिवारको सम्झना आउने तर घर जान नसक्ने अवस्था हुन्छ । उनका अनुसार नीलहीरा समाजले तीजमा खुला निमन्त्रणा गर्छ । करिब दुई सयलाई पुग्ने खानेकुराको चाँजोपाँजो पनि मिलाएको हुन्छ । सबैजना चिटिक्क परेर आउँछन्, बेस्सरी नाच्छन् । प्रेमी र श्रीमान् हुनेले व्रत बस्छन् । शिवको मन्दिर जान्छन् । चिटिक्क परेर सिँगारिन्छन् । पिंकीलाई भने खासै मेकअप गर्न आउँदैन । उनले केवल फाउन्डेसन र गाजल लगाउने गरेको बताइन् ।

नीलहीरा समाजको स्थापनाकालदेखि नै आबद्ध भएकाले पिंकीको काम भनेको यो समुदायका सबैलाई राम्रो बाटो देखाउने, सम्झाउने, सिकाउने पनि हो । अरूभन्दा उमेरले पनि पाको भएकाले उनलाई मम्मी भन्ने गर्छन् अरू । धेरैले मम्मी भनेर सम्बोधन गरेकोमा आफूलाई खुसी लागेको पिंकीले बताइन् ।
परम्परा र संस्कृति जोगाउने नाममा नचाहिँदो ढोंगचाहिँ गर्न नहुने उनको तर्क छ । उनी भन्छिन्, ‘मेरो आमाले बुवाका लागि व्रत बसेको, खुट्टाको पानी खाएको कहिल्यै देखिनँ तर जीवनकालमा बाआमाले झगडा पनि गर्नुभएन ।’

अनावश्यक रूपमा परम्परालाई मोड्दैमा सम्बन्ध राम्रो नहुने उनी बताउँछिन् । भन्छिन्, ‘माया, सद्भाव, स्वच्छता हुन्छ भने त्यसैमा भगवान् हुन्छ ।’ त्यसैले उनलाई कसैका लागि व्रत बस्न मन लाग्दैन । तेस्रोलिंगी महिलालाई खुलेर स्वीकार गर्ने कोही लोग्नेमान्छे नदेखेपछि उनलाई सम्बन्धमा रहिरहन पनि मन लागेन । उनी दोस्रो पुस्ताको मार्गनिर्देशक बन्दैछिन् ।

तेस्रोलिंगी व्यवसायी मेघना लामाले आफ्नै रेस्टुरेन्ट पिंक टिफानीमा दर कार्यक्रम गर्ने तयारी गरेकी छन् भने तीज मनाउन मम्मी पिंकीसँग नीलहीरा समाज जाने तयारीमा छिन् । यसपटकको तीजमा आफ्नो प्रेमीको लामो आयुका लागि व्रत बस्ने योजना रहेको उनले बताइन् । उनको प्रेमी हाल नेपालबाहिर भए पनि उनको सुस्वास्थ्य र दीर्घायुका लागी आफू व्रत बस्न चाहेको उनले बताइन् । सबै रंगीविरंगी सारी, कुर्ता लगाएर पशुपति जान रमाइलो हुन्छ । तीजलाई उनी खुसी व्यक्त गर्ने दिनका रूपमा हेर्छिन् । यसपटक पनि अरू बेलाजस्तै मम्मी पिंकीसँग तीजमा नाच्न उत्साहित बनिसकेकी छन् ।

यसपटक मिस पिंक एनी लामाको तामझाम अगल छ । किनकि तीजमा ब्वाइफ्रेन्डको लामो आयु होस् भनेर व्रत बस्ने तयारीमा छिन् उनी । उनले तीजमा सारी, कुर्ता लगाएर चिटिक्कै पर्दा बेहुली भएको महसुस हुने बताइन् । आफूले डिजाइन पढ्दै गरेकाले आफंैले डिजाइन गरेको पहिरन लगाउन मन पराउँछिन् उनी । सारी लगाउन राम्रो लागे पनि उनलाई सारी सम्हाल्न आउँदैन ।

उनले सारीलाई सेक्सी ड्रेसका रूपमा चित्रण गरिन् । सारी परम्परागत सुन्दर पहिरन हो । तीजको दिन भने नीलहीरा समाजमा पुग्छिन् । नाच्दै, गाउँदै दर खान खुब रमाइलो लाग्छ उनलाई । साथीहरू सबै मिलेर मम्मीसँग दर खान झनै रमाइलो लाग्ने उनले बताइन् । सबै मिलेर सुखदुःखको कुरा गर्ने, साथीसंगीहरूसँग मनका कुरा सेयर गर्न पाउँदा मन हलुका पनि हुन्छ । तीजमा मटर पनिर, चिकेन कबाब, आलु तामालगायतका स्वादिला खानेकुरा पनि बनाउने गरेको उनले बताइन् । ‘यस्ता चाडपर्वमा झनै हामीहरूले साथ खोजिरहेका हुन्छौं’, एनीले भनिन् ।

तेस्रोलिंगीका रूपमा राम्ररी खुलिनसकेकी चितवनकी खुश्बु गुरुङले भने अन्नपूर्णसँग फोटोसेसन पनि गराइन् । उनलाई खुल्न मन छ तर घरमा भन्न सकेकी छैनन् । परिवारले जे भने पनि खासै पर्वाह नभएको बताउँदै उनले भनिन्, ‘यसपटक तीज मनाउने हो । तीजका लागि लेहेंगा पनि तयार गरिसकेँ ।’ उनी पनि ब्लु डायमन्डलाई आफनो घरजस्तो मान्छिन् भने पिंकीलाई मम्मी नै भन्छिन् । पहिलोपटक खुलेर तीज मान्न आतुर रहेकी छन् उनी ।

पाटन मंगलबजारकी रुक्साना कपाली नील हीरा समाजमा ६ महिनादेखि आबद्ध छिन् । अठार वर्ष पुगेकी उनले नेवारी समाजमा हुर्किएकाले तीजको बारेमा धेरै जानकारी नभएको बताइन् । उनले यसपटकको तीजमा केही सिक्दै रमाइलो गर्ने अपेक्षा राखेकी छन् । नीलहीरा समाजमा उनले तेस्रोलिंगीको हकअधिकारका विषयमा रेडियो कार्यक्रम बनाउँदै आएकी छन् ।

मेघना, एनी, खुश्बु, शिला, रुक्सानाजस्ता दोस्रो पुस्ताका तेस्रोलिंगी छोरीहरूले समाजलाई चुनौती दिएर आफ्नो पहिचानका लागि यही समाजमा स्थापित हुन चाहेका छन् । यसका लागि मम्मी पिंकीले निर्माण गरिदिएको मार्गदर्शनले अझ सजिलो भएकोमा सहमति जनाउँछन् उनीहरू । तेस्रोलिंगीहरूको पनि अरूको जस्तै चाहना र रहर हुन्छ । दुःख र पीडा हुन्छ । त्यसलाई व्यक्त गर्न चाहन्छन् उनीहरू । अनि चाडपर्वमा रमाउन चाहन्छन् भन्ने सन्देश दिन चाहेका छन् । यस्ता संस्कारले आफूहरूलाई समाजमा स्थापित गर्न झनै सहयोग पुग्ने अपेक्षा राखेको उनीहरूको भनाइ छ ।

साभार: अन्नपुर्ण पोष्ट

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.