मानव अधिकारको संरक्षणमा सामुहिक प्रतिबद्धता : मानवअधिकार आयोग, प्रहरी र नागरिक समाज मिलेर अघि बढ्ने समझदारी

मानव अधिकारको संरक्षणमा सामुहिक प्रतिबद्धता : मानवअधिकार आयोग, प्रहरी र नागरिक समाज मिलेर अघि बढ्ने समझदारी

कास्की (पहिचान) भदौ २५ – पोखरामा भएको नील हिरा समाजको राष्ट्रिय परमर्श बैठकमा मानव अधिकारका क्षेत्रमा मिलेर काम गर्ने समझदारी भएको छ । राष्ट्रिय परामर्श बैठकमा सहभागि हुन पुगेका सांसद्हरु, नेपाल सरकारका प्रतिनिधिहरु, व्यवस्थापिका संसदका सांसद, मानव अधिकार अयोगका प्रतिनिधि, नेपाल सरकारका अधिकारीहरु, नेपाल प्रहरीका प्रतिनिधि, डोनर एजेन्सीका प्रतिनिधिहरु तथा समलिंगी तेस्रोलिंगी सहतिका सहभागिबीच मानव अधिकार संरक्षणका क्षेत्रमा मिलेर अघि बढ्ने समझदारी भएको हो ।

नीलहिरा समाजमा कार्यरत अधिवक्ता सुजन पन्तले सहजीकरण गरेको सेसनमा मानव अधिकार आयोग, नेपाल प्रहरी, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका प्रतिनिधि, नील हिरा समाजको मानव अधिकार क्षेत्रमा काम गर्ने सिस्टर अर्गनाइजेसन सहाराका प्रतिनिधि भक्ति शाह तथा यौनिक तथा लैंगिक अल्पसंख्यकका प्रतिनिधि तेस्रोलिंगी महिलाहरु कोपिला केसी र कुमारी राई प्यानलिष्टका रुपमा सहभागि भएका थिए ।

सहभागि प्यानलिस्टहरुलाई सहजीकरण गर्दै सहजकर्ता अधिवक्ता पन्तले मानव अधिकार आयोगको ढिला सुस्ती तथा नेपाल प्रहरीबाटै विभेदपूर्ण व्यवहार हुनुको कारणबारे प्रश्न उठाएका थिए ।

‘दक्षिण एसियाका पाँच मुलुकमा २०१६ मा मात्र २०२ वटा समलिंगी तेस्रोलिंगीमाथिको हिंसा हत्याका घटना रेकर्ड भएका छन्,’ नील हिरा समाजको मानव अधिकार हेर्ने सहारा परियोजनाका एलजीवीटीआई एक्टिभिष्ट भक्ति शाहले भने, ‘नेपालमा हामीले गरेका उजुरीको मानव अधिकार आयोग र प्रहरीले चाडो रेस्पोन्स नगरिदिदा उजुरीकै लागि नजाने समस्या देखएिको छ ।’ उनले त्यस्तो अवस्था अन्त्यका लागि पीडितले चाडो न्याय पाउने व्यवस्था मिलाउन सरोकारवालाहरुले मिलेर दु्रत गतिमा काम गर्न आवस्यक भएको बताए ।

‘राष्ट्रिय मानव अधिकार आयोगले संविधान अनुसार मानव अधिकार उलंघनका घटनाको अभिलेखीकरण गरी कारवाही सिफरिस गर्ने हो,’ राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका प्रतिनिधि मोहन काफ्ले भने, ‘स्थानीय र क्षेत्रीयस्तरमा हामीले समलिंगी तेस्रोलिंगीसँग समन्वय गरेर काम गरिरहेका छौं । केन्द्रीय कार्यालयमा एलजीवीटीआइका लागि छुट्टै डेस्कको स्थापना गरिएको छ ।’ उनले राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो भूमिका विगतमा राजनीतिक क्षेत्रको मानव अधिकारकालाई प्राथमिकतामा राखेको भए पनि अहिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका क्षेत्रमा केन्द्रीत हुने नीति लिएको बताए ।

अनौंपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका क्षेत्रीय संयोजक शिव खकुरेलले इन्सेकले जहाँसुकै पनि नील हिरा समाज र समलिंगी तेस्रोलिंगीहरुलाई पनि साथमा लिएर कार्यक्रम गरेको बताए । ‘अहिले पोखरामा पनि यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई बोर्डमै राखेर काम गरिरहेका छौं,’ खकुरेलले भने ।

तेस्रोलिंगी महिला कोपिला केसीले घरायसीरुपमै विभेद र मानसिक यातना दिने काम गर्दा प्रहरीले न्याय दिलाउन काम गरे पनि कति पय अवस्थामा प्रहरीले नैं हिंसा समेत गर्ने गरेको सुनाइन् ।

अर्की तेस्रोलिंगी महिला कुमारी राईले आफू काम गर्ने ठाउँमा समेत विभेदमा परेर काम छोड्न बाध्य भएको भन्दै बैकल्पिक पेशा समेत प्रहरीका कारण समस्यामा रहेका बताइन् ।

नेपाल प्रहरीका निरीक्षक बसन्त शर्माले प्रहरीको काम नैं कानुनको परिपालना गराउने भएको भन्दै कानुन उलंघन हुने अवस्थामा प्रहरी आफ्नो काम गर्न बाध्य रहेको बताए । ‘तपाईहरु पनि कानुनको परिपालना गराउने काममा प्रहरीलाई सघाउनुहोस,’ इन्पेक्टर शर्माले भने, ‘हामी एलजीवीटीआई सहित सबैको मानव अधिकारको सम्मान गछौं र सभ्य समाजमा सम्मानीत नागरिकको अवधारणा कार्यान्वयन गर्न लागि पर्ने छौं ।’ उनले कतिपय अवस्थामा प्रहरी कानुन परिपालना गराउन बल प्रयोग गर्न पनि बाध्य भएको भन्दै त्यस्तो अवस्था नल्याउन सबैले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.