समलिंगी तेस्रोलिंगीका विषय विद्यार्थीलाई कसरी बुझाउने ? : सरोकारवाला तथा विज्ञहरु यसो भन्छन् ‘शिक्षकले यौनिक अल्पसंख्यकका विषय पहिला आफू बुझेर विद्यार्थीलाई बुझाउनुपर्छ’

समलिंगी तेस्रोलिंगीका विषय विद्यार्थीलाई कसरी बुझाउने ? : सरोकारवाला तथा विज्ञहरु यसो भन्छन् ‘शिक्षकले यौनिक अल्पसंख्यकका विषय पहिला आफू बुझेर विद्यार्थीलाई बुझाउनुपर्छ’

कास्की (पहिचान) भदौ २८ – यौनिक तथा लैंगिक अल्पसंख्यकका विषय शिक्षकहरुले पहिला आफू राम्रोसँग बुझेर मात्र विद्यार्थीलाई पढाउनुपर्ने सरोकारवालाहरुले बताएका छन् । नील हिरा समाजले पोखरामा गरेको राष्ट्रिय परामर्श भेलाका सहभागिले शिक्षकहरुले नैं अल्पज्ञानका आधारमा यौनिक तथा लैंगिक अल्पसंख्यकका विषय पढाउँदा विद्यार्थीमा गलत बुझाइ रहने र त्यसले पुरै समाजमा नकारात्मक असर पार्ने बताए । नील हिरा समाजको एनसीएममा शैक्षिक प्यानलमा मोडरेडरको भूमिका युएनडीपीका निरञ्जन कुँवरले निर्वाह गरेका थिए ।

प्यानलिस्टका रुपमा सहभागि कास्कीका जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद लामिछानेले हरेक बच्चाको स्वभाव र शैली फरक हुने भन्दै उनीहरुलाई शिक्षकहरुले पहिला आफू बुझेर उनीहरुको भावना अनुरुप पढाउनुपर्ने बताए ।
‘हरेक बच्चाको स्वभाव, बुझ्ने शैली र झुकाव फरक हुन्छ,’ जिशिअ लामिछानेले भने, ‘उनीहरुको भावना बुझेर पढाउनुपर्छ भन्ने नै हाम्रो लक्ष्य र निर्देशन पनि हो ।’ उनले यौनिक तथा लैंगिक अल्पसंख्यकका विषयहरु वास्तविक सुझाव पाढ्यक्रम विकास केन्द्रमा पठाउन सकिने भन्दै त्यसकै आधारमा करिकुलम तयार हुने बताए ।

नेशनल प्याव्सन पश्चिमाञ्चल संयोजक हेमन्त अधिकारीले कास्कीमा १०२ विद्यालय र ६० हजार विद्यार्थी रहेको भन्दै आफूहरुले अहिलेसम्म यौनिक तथा लैंगिक अल्पसंख्यकबारे बुझ्न र बुझाउन नपाएको बताए । ‘६० हजार विद्यार्थी, उनीहरुका अविभावक र शिक्षक तथा विद्यालय व्यवस्थापनलाई जनचेताना आवस्यक छ,’ हेमन्तले भने, ‘उनीहरुलाई अभिमुखीकरण तालिममा ल्याउनुहुन्छ भने समन्वयका लागि हामी प्यावसनबाट सहयोग गर्नेछौं ।’

यौनिक तथा लैंगिक अल्पसंख्यक विद्यार्थीका क्षेत्रमा काम गरिरहेका शिक्षक रमेश पन्तले सामान्य तालिमले समेत धेरै जनामा धारणागत परिवर्तन आएको भन्दै त्यसलाई यौनिक तथा लैंगिक अल्पसंख्यकका विषय पाठ्यक्रममा राखेपछि धेरै परिवर्तन आउने बताए । उनले विगतमा माहाश्रम शर्मा शिक्षा विभागको महानिर्देशक भएकै वखत पाठ्यक्रममा राख्ने सुझाव आफैले लगेको भन्दै उहाँकै सहयोगमा कक्षा ६, ७ र ८ को स्वास्थ्य तथा शारिरिक शिक्षामा समेटिएको दावी गरे ।उनले कास्की, स्याङ्जा र पर्वतका विभिन्न विद्यालयमा आफूहरुले काम गरेको भन्दै त्यहाँ पहिला भन्दा धेरै सुधार भएको बताए ।

तेस्रोलिंगी ज्योति थापाले शिक्षक तथा प्राध्यापकहरुमा ज्ञानको कमि हुँदा त्यसले गलत कुरा शिकाइरहेको भन्दै परिणाम नकारात्मक हुने तर्फ सचेत गरिन् । ‘मैले त्रिभूव विश्वविद्यालयमा एमए जेण्डर पढ्दा त्यहाँ पढाउने प्राध्यापकले सबै मानिस जीवनमा एकपटक तेस्रोलिंगी हुन्छ भनेर पढाउनुभयो । मैले यो गलत भयो भनेर बुझाउने प्रयास गरे,’ ज्योतिले भनिन्, ‘स्नातकोत्तर तहमा त त्यस्तो पढाइन्छ भने स्कुल तहमा त्यस्ता धेरै गलत बुझइहरु विद्यार्थीसँग सेयर हुन सक्छन् । जसको परिणाम एकदमै गलत हुन सक्छ ।’

सेभ द चिल्ड्रेनका मदन गोतामेले शिक्षकहरुले बुझे पछि मात्र विद्यार्थीहरुले बुझ्छन् भन्ने मान्यताकै आधारमा ‘सेभ द चिल्ड्रेन’ले नयाँ प्रोजेक्ट सुरु गरेको बताए । ‘एलजीवीटीआई चिल्ड्रेनका लागि अहिले नयाँ प्रोजेक्ट सुरु गरेका छौं । यसको चारवटा बुँदा मध्ये नन डिस्क्रिमिनेसन एउटा बुँदा हो,’ गोतामेले भने, ‘एलजीबीटीआई बालबालिकाको अधिकारलाई वकालत गर्ने र उनीहरुलाई समानस्तरको वातावरण निर्माण गर्ने यसको प्रमुख लक्ष्य हो ।’

उनले परियोजनाले बाल क्लवमा एलजीवीटीआई बालबालिका पहिचान गर्ने र उनीहरुलाई अगाडी ल्याएर उनीहरुका व्यवहार अध्ययन गरी विभिन्न क्रियाकलापमा सहभागि गराएर समाजलाई इन्सपाएर गर्ने प्रयत्न रहेको बताए । ‘शिक्षकहरु, स्कुल व्यवस्थापन र अविभावकहरुलाई अभिमुखीकरण तालिम दिएर एलजीवीटीआईको स्वीकार्यता बढाउने योजना बनाएका छौं,’ गोतामेले भने ।

पाठ्यक्रम विकास अधिकृत युवराज अधिकारीले समलिंगी तेस्रोलिंगीका विषय विद्यार्थी तहमै जानकारी नहुदा समाजमा समस्या परेको देखिएर नैं त्यस्ता विषय प्रारम्भिक देखि उच्च माध्यामिक तहसम्मको पाठ्यक्रममा समेट्न लागेको बताए । ‘कक्षा ६, ७ र ८ को पाढ्यक्रममा यस अघि देखि पढाइ सुरु भएको छ, कक्षा ९ र १० को पाठ्यक्रममा समेटिएको छ अब त्यसको पढाइ सुरु हुने छ,’ अधिकारीले भने, ‘ अब कक्षा ११ र १२ को पाठ्यक्रम तयार पार्ने जिम्मा पाठ्यक्रम विकास केन्द्रलाई आएको छ । त्यसमा पनि हामीले यौनिक तथा लैंगिक अल्पसंख्यकका विषय समेट्नेगरी बृहत यौनिकता शिक्षा राख्न लागेका छौं ।’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.