एसियन फिल्म फेस्टिभलमा ट्रान्सजेन्डरको संघर्ष

एसियन फिल्म फेस्टिभलमा ट्रान्सजेन्डरको संघर्ष

 

एसियन फिल्म फेस्टिभलमा ट्रान्सजेन्डरको संघर्ष
काठमाडौं (पहिचान) कार्तिक २० -साउथ एसियन फिल्म फेस्टिभल २०१७ को दोस्रो दिन शुक्रबार ‘अ गर्ल इन् रिभर अ प्राइस अफ फरगिभनेस’ हेर्न युवा जमातको भीड लागेको थियो । फेमिनिजम, जेन्डर तथा सेक्सुवालिटी विधाअन्तर्गत सबा नामकी पाकिस्तानी युवतीको कथा निर्देशक सरमिन बबिद सिनोएले पस्किएका थिए ।

यस फिल्ममा सबा आफूले रोजेको क्यासरनामक युवकसँग विवाह गर्न खोज्छिन् तर उसको परिवार उनीसँग सहमत हुँदैन । उनले मन पराएको युवक आर्थिक स्तरमा कमजोर पनि हुन्छ । सबाको अर्कै केटासँग विवाहका लागि घरमा कुरा चलाउँछन् ।

तर सबाले आफूले मन पराइसकेको क्यासरसँग विवाह गर्ने आँट गर्छिन् । त्यही दिन उनलाई उनका बुवा र काका मिलेर गोली हान्न खोज्छन् । सबाले प्रतिकार गर्छिन् । प्रतिकार गर्दा त्यो गोली उनको टाउको गाला हुँदै हातसम्म पुग्यो । गोली हानिसकेपछि एउटा झोलामा हालेर उनलाई नजिकैको नदीमा फालिदिन्छन् । तर, भाग्यवश उनी नदीबाट बाहिरिन पुग्छिन् । उनी घस्रिँदै बत्ती बलेको स्थानतिर पुग्छिन् र उनको उद्धार हुन्छ ।

लामो अस्पताल बसाइपछि बुवा र काकाविरुद्ध मुद्दा हाल्छिन् । उनका बुवा सबाले इज्जत फालिदिएको भन्दै आफैंले मार्न चाहेको बताउँछन् । उनीहरू जेलमा जान्छन् तर विभिन्न दबाबका कारण उनीहरूलाई माफी दिन बाध्य हुन्छिन् । यो मर्मस्पर्शी सबाको कथाले दर्शकका आँखा रसाए ।

ट्रान्सजेन्डरहरूको कथा समेटेर बनाइएको अर्को फिल्म थियो, ‘इट इज टु मच टु आस्क’ । यस फिल्ममा ग्लान्डी र स्माइली नामका दुई ट्रान्सजेन्डर महिलाले कस्ता सामाजिक लाञ्छना भोगिरहेका छन् भन्ने विषयलाई निर्देशक लिना मनिमेकालाईले समावेश गरेका छन् ।

चेन्नाईमा बस्ने यी दुई ट्रान्सजेन्डर महिलाले भाडाको घर खोज्न निकै संघर्ष गर्छन् । उनीहरू भाडामा घर खोज्ने क्रममा आफ्नो असली परिचय बताइसकेपछि घरबेटीले विभिन्न बहानामा उनीहरूलाई बस्न अनुमति दिँदैनन् । यस कथाले समाजमा तेस्रो लिंगीहरूको वास्तविक अवस्था र समाजले हेर्ने दृष्टिकोण चित्रण गरेको छ । उनीहरू किन आफ्नो परिचय लुकाउन बाध्य छन् भन्ने स्पष्ट पारेको छ । फिल्म स्क्रिनिङका क्रममा दुवै फिल्मका निर्देशक भने अनुपस्थित थिए ।

दुईदुई वर्षको अन्तरालमा हुँदै आएको यस फिल्म फेस्टिभलमा दक्षिण एसियाका यस्तै खालका जल्दाबल्दा मुद्दा समेटिँदै आएको आयोजकले बताए । ‘डकुमेन्ट्री बियर्स विटनेस’ भन्ने मुख्य उद्देश्यका साथ बुधबार सुरु भएको फिल्म फेस्टिभल चार दिनसम्म चल्नेछ ।

साभार : अन्नपूर्ण पोष्ट

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.