नीलहिराले समलिंगी हेन्डसम छान्दै

नीलहिराले समलिंगी हेन्डसम छान्दै

नीलहिराले समलिंगी हेन्डसम छान्दै
शरद अधिकारी/काठमाडौं (पहिचान) मंसिर २२ – नील हिरा समाजको  आयोजनामा ‘मिस्टर गे हेन्डसम २०१७’ हुने भएको छ । प्रतियोगिता आउँदो डिसेम्बर २१ अर्थात् पुस ६ मा काठमाडौंमा हुने लागेको नील हिरा समाजका विश्वराज अधिकारीले जानकारी दिएका छन् । प्रतियोगिताको यो दोस्रो संस्करण हो । प्रतियोगिताको पहिलो संस्करण २०१३ मा आयोजना गरिएको थियो तर आन्तरिक समस्याका कारण यसले निरन्तरता पाउन सकेको थिएन । पहिलो संस्करण विश्वराज अधिकारीले जितेका थिए । अधिकारीले ३५ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेका थिए ।

कार्यक्रमले गे हेन्डसम मात्र नछानेर समाजमा उनीहरूको स्वीकार्यता पनि बढाउन सहयोग गर्ने अधिकारीले बताए । उनले भने, ‘शारीरिक मात्र नभएर मानसिक र अरु प्रतिभा पनि हेरेर विजेता छानिन्छ । यो दौरानमा प्रतियोगीले बेग्लै आत्मविश्वास प्राप्त गर्न सक्छन् ।’

प्रतियोगिता पहिचानका हिसाबले पनि महत्वपूर्ण रहने उनले दाबी गरे । लुकेर बस्दा विगतमा आफूलाई मनोवैज्ञानिक समस्या रहेको स्मरण गर्दै अधिकारीले लुकेर बसेका युवाहरूलाई यही अवसरमा सार्वजनिक हुन र प्रतियोगितामा भाग लिन आह्वान गरे । ‘जति लुकाउन प्रयास गरेपनि असामान्य व्यवहार देखेर गिजिएर बस्नुभन्दा अघि बढेर पहिचान दिनु राम्रो हो,’ उनले भने ।

प्रतियोगितामा प्रतिस्पर्धीको प्रतिभा र समाजको लागि गर्न सक्ने योगदान र समलिंगीको अधिकार दिलाउन खेल्न सक्ने भूमिकालाई मापदण्ड बनाइ विजेता छानिन्छ । ‘गे ह्यान्डसमले नेपालका एलजिविटीआई समुदायलाई सहज अवस्था निर्माण गर्न र नेपालको नाम चिनाउन भूमिका निर्वाह गर्ने छन् ’ अधिकारीले भने, ‘समान अधिकारको पाउनका लागि पनि मिस्टर गे ह्यान्डसमको भूमिका रहने छ ।’

नेपालको संविधानमा एलजिवीटीआईका अधिकार सुरक्षित गर्ने पहिलो मुलुक हो । नील हिरा समाजले ‘मिस पिंकी’को भने नियमित आयोजना गर्दै आएको छ । सन् २००४ देखि आयोजना गर्दै आएको प्रतियोगिताको पछिल्लो संस्करणकी विजेता एनी लामा हुन् ।

साभार : नागरिक दैनिक

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.