निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

एलबिटि सम्मेलन सुरु, यौनिक अल्पसंख्यकलाई कानुनी संरक्षणको आवश्यकता छ : अन्सारी

एलबिटि सम्मेलन सुरु, यौनिक अल्पसंख्यकलाई कानुनी संरक्षणको आवश्यकता छ : अन्सारी

993
SHARES

काठमाडौं (पहिचान) पुस ४ – राष्ट्रिय मानवअधिकार आयोगले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको समस्या राज्यले नै बुझ्न नसकेको वताएको छ । नील हिरा समाजले काठमाडौंमा सुरु गरेको दुई दिने एलविटि सम्मेलनमा आयोगकी प्रवक्ता मोहना अन्सारीले परिवार, समाज र राज्यले यौनिक अल्पसंख्यकलाई बुझ्न नसकेको वताएकी हुन् ।

“मान्छे भनेको मानव हो उनले भनिन्, मानव भएर जन्मेपछि फरक गर्नु पर्ने थिचो मिचो गर्नु पर्ने ठाउँ नै छैन ।” प्रवक्ता अन्सारीले आफ्नो मुद्धालाई बुझाउन समुदायलाई सुझाव दिइन । समावेशीकरणलाई चुनौतीको रुपमा हेर्नु पर्छ र त्यसलाई अवसरको रुपमा लिनु पर्ने उनको भनाई छ ।

“स्थानीय तहले नीति बनाउदाँ यो समुदायलाई बाहिर राखेर नीति बनाउने अन्सारीले भनिन, युपिआरको रिपोर्ट वनाउदाँ यौनिक तथा लैंगिक अल्पसंख्यकलाई हिंसा हुने छैन भनेर प्रतिवद्धता जनाउने कि नजनाउने ?” उनले यो समुदायका लागि कानुनको अभाव रहेको वताइन । संविधानले विभेद रहित समाजको कुरा गरेको भन्दै उनले त्यो अनुसारको कानुन बनाउनु पर्ने वताइन ।

कानुनी रुपमा संरक्षण आजको आवश्यकता र त्यो राज्यले प्रदान गर्नुपर्ने अन्सारीको भनाई छ । आयोगकी प्रवक्ता अन्सारीले कुनै पनि नागरिकलाई विभेद गर्न नपाइने वताइन । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय विभेदको शिकार हुन नहुने भन्दै अन्सारीले विभेद अन्त्यका लागि राज्यले जनचेतना जगाउनु पर्ने वताइन ।

पूर्व मिस नेपाल माल्भिका शुव्वाले यौनिक तथा लैंगिक अल्पसंख्यक आफ्नो दोस्रो परिवार रहेको वताइन । आफ्नो बेष्ट फ्रेण्ड समलिंगी रहेको भन्दै सहज वातावरणका लागि तातिने वेला आएको वताइन । सुनिलबाबु पन्तले सुरु गरेको क्रान्ति यहाँसम्म आएको भन्दै शुब्बाले अब क्रान्तिलाई उत्कर्षमा पुर्याउन सुझाव दिइन । उनले समलिंगी विवाहलाई कानुनी मान्यता दिनु पर्ने धारणा राखिन ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव भरतराज शर्माले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसँग सहकार्य गरेर काम गरिरहेको वताए । उनले समुदायका लागि सरकारी तवरबाट हुने कामको गति सुस्त भएको स्वीकार गर्दै सबै एकै ठाउँमा उभिएर तिव्रता दिनुपर्ने सुझाव दिए ।

नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले एलविटि समुदाय अझै पनि खुलेर आउन नसकिरहेको वताइन । उनले विपरितलिंगीवाद समाजका कारण यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय माथि विभेद भइरहेको वताइन । अध्यक्ष गुरुङले संविधानमा लेखिएका अधिकार लिनका लागि समुदाय उत्सुकताका साथ अगाडि आउनु पर्ने वताइन ।

महिला एड्भोकेसी ग्रुपकी अध्यक्ष वविता बस्नेतले समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी समदुायले अब अवसरको खोजी गर्नु पर्ने वताइन । उनले संचारमाध्यमलाई यो बिषयमा बुझाएर जनचेतना जगाउन सुझाव दिइन । महिला अधिकारकर्मी जोस्ना मास्केले यौनिकताको मुद्धा मानवअधिकारको मुद्धा भएको वताइन । उनले व्यक्ति व्यक्तिबीचको विवाहलाई मान्यता दिने गरि कानुन बन्नु पर्ने वताइन । उनले महिला र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मुद्धा सँग सँगै लैजाने काम भइरहेको दावी गरिन ।

तेस्रोलिंगी अधिकारकर्मी भक्ति शाहले समलिंगी महिला, दुइलिंगी महिला र तेस्रोलिंगी पुरुषलाई घर, परिवार समाजले स्वीकार नगर्दा लुकेर बस्नु पर्ने बाध्यता रहेको वताए । यौन तथा प्रजनन् स्वास्थ्यबारे स्वास्थ्यकर्मीहरुलाई नै चेतना जगाउनु पर्ने शाहले वताए । दुई दिने सम्मेलनमा देशभरका झण्डै दुई सय जना समलिंगी महिला, दुईलिंगी महिला र तेस्रोलिंगी पुरुषको सहभागिता रहेको छ ।

समाचार शेयर गर्नुहोस्
993
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.