काठमाडौं/पहिचान –
आजकल केमा व्यस्त हुनुहुन्छ ?
अहिले म ब्लु डाइमण्ड सोसाइटी कै कामहरुमा व्यस्त छु । तेस्रोलिङ्गी र समलिङ्गीहरुको अधिकार भनौ न हाम्रो आफ्नै अधिकारको लागि विभिन्न कामहरु गर्दैछु,त्यसमा पनि अलि व्यस्त नै छु । त्यस्तै अहिले समलिंङ्गी र तेस्रोलिङ्गीहरुको बच्चाको कुराहरु पनि आएको छ, त्यसमा कामहरु गरिरहेको छु । कान्छी फिल्मको प्रमोसनमा पनि लागिरहेको छु । केही समयपछि डाँफे थिएटरका कलाकारहरुसँग भारत जाँदैछु ।
समलिंङ्गी र तेस्रोलिङ्गी अधिकार पाउन संस्थाबाट के के कामहरु भइरहेको छ ?
हाम्रो संस्थाले नेपालमा भएका सबै यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको हक अधिकार र स्वास्थ्यको लागि काम गर्छ । समाजमा महिला पुरुषको हक अधिकारको कुरागर्दा फरक पहिचान र फरक यौनिकताको आधारमा पनि हाम्रो समुदायको हक अधिकार स्थापित हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।
नेपालमा तेस्रोलिङ्गीको संख्या कति होला ?
नेपालमा तेस्रोलिङ्गी तीन प्रतिशत जति छन् । अब पुरै समुहमा चाहि हाम्रो ‘एल जि बि टि आई’ भन्ने हाम्रो यसमा समलिङ्गी महिला, समलिङ्गी पुरुष, तेस्रोलिङ्गी, स्त्रीलिङ्गी, अन्तरलिङ्गी यो हाम्रो पाँचवटा फरक पहिचान फरक यौनिकताको हिसाबमा फरक फरक व्यक्तित्व हुनुहुन्छ । समग्रमा प्रत्यक्ष अप्रत्यक्ष हाम्रो सम्पर्कमा आएका चाहि पाँच देखि ६ लाखसम्म छन् । त्यसमा फेरि सबै खुलेर आउँछन् भन्ने पनि होइन । यसमा खुलेका कम छन् भने नखुलेका धेरै छन् ।
तपाई भूमिका श्रेष्ठ चाहि कसरी बन्नुभयो त ?
त्यतिबेला म १६/१७ वर्षको थिएँ । म जन्मिदा छोरा भएर जन्मिएको भएपनि मेरो स्वभावदेखि लिएर मेरो भेषभूषा सबै छोरीको जस्तो थियो । मलाई सबैले छक्का हिँजडा भनेर जिस्काउँथे । मलाई त्यतिबेला हाम्रो समुदायको यस्तो संस्था छ भन्ने पनि थाहा थिएन । २०५९ सालतिर म यो संस्थामा प्रवेश गरेको हो । मलाई त्यतिबेला केही थाहा थिएन । ब्लु डाइमण्ड सोसाइटीको अध्यक्षले मलाई चिन्नुभयो र उहाँले मलाई आफ्नो समुदायबीचका कुराहरु भन्नुभयो । मैले यहाँ आएर बुझ्दा म जस्ता यहाँ थुप्रै साथीहरु भेटें । पहिला त मलाई म आफु एक्लै मात्र यस्तो हो कि जस्तो लाग्थ्यो तर पछि यहाँ आउँदा म जस्ता मान्छे यहाँ धेरै नै रहेछन् । समाजले हामीलाई नबुझेर अनेकन कुराहरु भन्दा रहेछन् भन्ने मैले थाहा पाएँ । त्यसपछि म ब्लु डाइमण्ड सोसाइटी प्रवेश गरिसेकपछि बिस्तारै बिस्तारै यहाँ धेरै समस्या, पीडाहरु, घरबाट निकाली दिने, स्कुल पढ्न नपाउने अनेक किसिमका भेदभावका कुराहरु आउन थाले र त्यसलाई न्युनिकरण गर्नुपर्छ भन्ने मेरो पहिला देखि कै बिचार थियो । यही नयाँ वातावरणमा भिजेपछि मेरो नाम यो रहन गयो।
तपाईँको यो पहिचानलाई लिएर परिवारबाट केही रोकटोक भएको छैन ?
म आफुलाई एकदमै भाग्यमानी ठान्छु किनभने मेरो यो पहिचानलाई लिएर अहिलेसम्म मेरो परिवारबाट मलाई त्यस्तो केही पनि अवरोध भएको छैन । तर समाजमा भने अलिकति डर थियो । जुन अब अहिले त्यो पनि हराइसक्यो ।
तपाईँ महिला नै हुनुपर्ने कारण चाहि के हो त ?
म जन्मिदा त छोरा नै भएर जन्मे तर मलाई महिला बन्नु भन्दा पनि मेरो पहिचान चाहि तेस्रोलिङ्गी नै भयो । मेरो आचरण, बानी सबै महिलातिर नै गयो । यो मेरो प्रकृति नै यस्तै हो । यसमा म यस्तो किन भएँ भन्ने केही थाहा छैन तर म जे छु ठीक छु । यो एउटा प्रकृतिको देन हो । यो मलाई प्रकृतिले दिएको रुप हो यो ।
तपाईँले आफ्नो भविष्यको लक्ष्य के देख्नुभएको छ ?
म भविष्यमा तेस्रोलिङ्गी र समलिङ्गीहरुको हक अधिकार स्थापनाका लागि सकेजति काम गर्न चाहन्छु । पहिला म सानो छँदा अर्कै लक्ष्य थियो तर त्यो मिलेन । अब साँच्चै भन्ने हो भने भविष्यमा मेरो उदेश्य यो नै हुनेछ भन्ने कुरा मलाई थाहा नै छैन । अब अहिले र पहिला नै हेर्नु कुनैबेला हामीलाई छि छि कस्ता हुन यिनीहरु भन्ने थियो । हामीहरुसँग मान्छेहरु भेट्न डराउँथे । हामीलाई अलिकति रोगिको दृष्टिले पनि हेर्थे । अब अहिले समाज कति परिवर्तन भएको छ त्यो प्रस्ट देखिन्छ । अब समाज परिवर्तन नभएको भए म यसरी आज तपाईहरुसँग कुरा गरिरहेको हुन्थे होला त ? अब यही खालको परिवर्तन जुन छ त्यसमा अझ धेरै गर्नुछ । यही नै मेरो लक्ष्य हो ।
तेस्रोलिङ्गी हुँदा के कस्ता विभेदहरु भोग्नु पर्यो ?
हरेक कुराको दुईवटा पाटो हुन्छ सकारात्मक र नकारात्मक । मैले सकारात्मक कुरालाई भन्दा पनि धेरै नकारात्मक कुराहरुलाई भोगें । अरुले नकारात्मक रुपमा लिनुभयो तर त्यो नकारात्मक कुरालाई मैले सकारात्मक रुपमा लिएँ । त्यतिबेलाका पीडाहरुको त के कुरा गर्नु थुप्रै छन् । यस्तो हुँदा दुख लाग्थ्यो । कसैलाई मैले केही भन्न सक्ने अवस्था पनि थिएन । म आफंै मात्र रुन्थे । अब पछि आफुले आफुलाई बुझिसकेपछि मान्छेहरुले समाजमा जे जस्तो भनेपनि मैले वास्ता गर्न छाडें । मैले स्कुल पढ्न चाहँदा पढ्न पाईन । यो पनि मेरो लागि एउटा नकारात्मक पीडा नै थियो । मैले एसएलसी पनि दिन पाइन । यो पनि मेरो नकारात्मक कुरा नै भयो । तर मैले यो कुरालाई सकारात्मक रुपमा लिएँ । अहिले म बुझछु पढेर भन्दा परेर मैले आफ्नो जिन्दगीलाई बुझेको रहेछु ।
चलचित्रमा पनि अभिनय गर्नुभएको रहेछ कतिवटा चलचित्रमा अभिनय गर्नुभयो ?
मैले दुईवटा चलचित्रमा अभिनय गरेकी छु । एउटा ‘हाइवे’ र अर्को अब प्रदर्शन हुन लागेको चलचित्र ‘कान्छी’ ।
चलचित्र ‘कान्छी’ मा तपाईँको रोल के छ ?
यसमा मैले धेरै कुरा त भन्न मिल्दैन । यसमा जात, धन र समाजमा लिङ्गको हिसाबमा फरक फरक किसिमका व्यक्तिहरु बस्छन् । त्यसलाई नै दर्शाउन खोजिएको छ । जातको हिसाबले कोहि केटा र केटीको विवाह गर्दा कति अफ्ठ्यारो पर्छ र धनी र गरीवबीचको पे्रममा के कस्ता वाधा आउँछन् भन्ने कुरा देखाउन खोजिएको छ । चलचित्रमा तेस्रोलिङ्गीको कुरा गर्दा तेस्रोलिङ्गीसँग प्रेम बस्दा के कस्ता वाधा अड्चन कतिसम्म नकारात्मक कुराहरु आउँछ भन्ने हिसाबको छ । मेरो अभिनय चाहिँ एकदमै सकारात्मक छ । गाउँमा सबैले मान्ने बिश्वास गर्ने हिसाबको नै छ । चलचित्रमा मुख्य कलाकारको एकदमै मिल्ने साथी भएर मैले काम गरेकी छु ।
चलचित्र ‘हाइवे’ र ‘कान्छी’ मा तपाईँले गर्नुभएको अभिनयको भिन्नता कस्तो छ ?
यी दुबै चलचित्रको निर्माण नै फरक फरक तरिकाले भयो । हाइवेमा मेरो एकदमै दुख पाएको आफ्नो परिवारबाट टाढा बस्नुपर्ने र समाज र प्रहरी प्रशासनबाट एकदमै दमन हुने खालको एउटा भूमिका थियो तर पुर्णरुपमा त्यसलाई देखाउन सकिएन । अब अहिले कान्छीमा एउटा स्थापित तेस्रोलिङ्गी समाजमा एकदमै इज्जतसँग बसेको छ । यसमा के छ भने तेस्रोलिङ्गी भइसकेपछि किन घर बस्न नपाउने त । समाज जहिले पनि बच्चा खोज्छ तर त्यो हामी दिन सक्दैनौं । हामीले चाहि किन बच्चा अपनाउन सक्दैनौं भन्ने एउटा सन्देश पनि दिईएको छ ।
तपाईँको एकदिन कसरी बित्छ ?
म बिहान साढे ६ बजे उठ्छु, चिया पिउँछु । म प्रायजस्तो घरमा खाना खान भ्याउँदिन किनकी ९ बजे अफिस आउनुपर्ने हुन्छ । त्यसैले मेकअप यताउता गर्दा साढे आठ घरमा नै भइसक्छ । मेरो घर नैकाप हो मलाई त्यहाँबाट धुम्वाराही अफिससम्म आउँदा अलि समय पनि लाग्छ । अफिस आएपछि कामहरुमा नै व्यस्त हुन्छु । मिटिङ देखि लिएर रिपोर्ट बनाउने कामहरुमा नै व्यस्त हुन्छु । बेलुकी ५ बजेपछि साथीहरुसँग गफगाफ गर्दै चिया पिउँछु र त्यसपछि घर जान्छु । मान्छेले बुझ्दा हाम्रो लाइफ एकदमै व्यस्त भन्छन् तर त्यस्तो पनि होइन । अफिसको कामहरुले गर्दा खासै घरमा समय दिन पाउँदिन तर शनिवार र आइतवार मेरो बिदा हुन्छ त्यो समयमा म कतै नगई घरमै बस्छु ।
साभार : सरलपत्रिका अनलाइन
(ब्लूडायमण्ड सोसाईटीकी सदस्य तेस्रोलिङ्गी भूमिका श्रेष्ठले सरल पत्रिकाका वरिष्ठ संवाददाता सुकृत नेपालसँग गरेको संवादको सार)
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.