प्रदेशसभा सिंगार्ने तेस्रोलिंगी : आत्मसम्मान दिए पुग्छ !

प्रदेशसभा सिंगार्ने तेस्रोलिंगी : आत्मसम्मान दिए पुग्छ !

विक्रम रौनियार/धनुषा (पहिचान) माघ २१ – प्रदेश नम्बर दुईको संसद भवन सिंगार्ने र सरसफाइ गर्ने काम धमाधम भइरहेको थियो । हामीले त्यहाँस्थित मजदुरहरुको भीडमा तेस्रोलिंगी ललन सदालाई भेट्यौं । उनी तेस्रोलिंगी हुन् भन्ने हामीलाई थाहा थिएन, तर उनैले पहिचान खुलाए- सर म त तेस्रोलिंगी !

ललन जनकपुर उपमहानगरपालिका- २५ लोहनाका स्थायी बासिन्दा रहेछन् । लोहनाका एकैबस्तीका ५० भन्दा बढी मजदुरहरु संसद भवन सिंगार्ने काममा खटिएका थिए ।

ललनसँगै अन्य तीनजना तेस्रोलिंगी पनि काम गर्न आएका रहेछन् । जनकपुर १२ स्थित कुवारामपुरस्थित प्रदेशसभामा पुग्दा ललन सदासहित अन्य साथीहरु खाना खाने सुरसार गर्दै थिए । ललनसहितका तेस्रोलिंगी साथीहरुलाई यहाँ सरसफाइको काम दिइएको थियो । फोहोर उठाउने र सही स्थानमा ब्यवस्थापन गर्ने उनीहरुको दायित्व हो ।

आफैं गरीखान सक्छौं, आत्मसम्मान पाए पुग्छ

ललनले सुरुमा परिवारनजसँगै आफ्नै घरमा बस्ने गरेको बताए । तर, पछि घरका सदस्यहरुले तँ ‘छक्का’ होस्, परिवारको ‘कुलङ्गार’ होस् भन्दै उनलाई घरबाट निकाले ।

उनलाई तेस्रोलिंगी भएकै कारण घर नआउन भनियो । तर, अचेल कहिलेकाहीँ घर जान्छन् । तर, बाँकी समय साथीहरुसँगै बसेर ज्यालादारी मजदूरीबाट उनले गुजारा चलाइरहेका छन् ।

उनले भगवानमाथि नै प्रश्न गर्दै भने- ‘भगवानले हामीलाई के बनाइदियो ?’ यसो भन्दै गर्दा काम गरेकै ठाउँमा उनका आँखा रसाएजस्ता देखिए । तथापि उनले चित्त बुझाउन खोज्दै मैथिलीमिश्रित भाषामा भने ‘तर अब जे छु, त्यसैमा खुशी छु, अब केनै तो गुजरा चलावके छई वो सर ! को नो गलत बात कहिल्यै ।’

आफूलाई छक्का, मङ्गमेरा र हिँजडा इत्यादि भन्दा अलि बढी नै मन दुःख्ने गरेको ललनले बताए ।

तेस्रोलिंगी समुदायका ललन सामान्य मजदूर हुन् । बिहेबटुलोमा नाचेर जिविकोपार्जन गर्दै आएका उनी प्रदेशसभाको भवनमा सरसफाइ गर्न आउनु अघिसम्म काम नपाएर भौंतारिइरहेका थिए ।

नाचगान र बिहेहरुमा जाँदा सामान्य पैसा कमाई भए पनि आफूहरुमाथि दुर्व्यवहार हुने गरेको उनले सुनाए ।

अश्लील गाली गर्ने, संवेदनशील अंग छुने र काम गरेको पैसा माग्दा कुटपिटसमेत हुने गरेको भन्दै उनले कैयौं दिन भोकभोकै रात काटेको सम्झिए ।

ललनका लागि जनकपुरधाममा प्रदेशको राजधानीसँगै केही दिनकै लागि भए पनि रोजगारी आइपुग्यो । जनकपुरस्थित शैक्षिक तालिम केन्द्रमा प्रदेशसभा भवनको रंगरोगनको तयारी भइरहेको थियो ।

आइतबार पहिलो बैठक बस्ने डेडलाइनको चापमा थिए भवन विभागका हाकिम र ठेकेदारहरु । जसरी पनि शनिवार साँझसम्म प्रदेशसभा भवन र बैठक कक्ष तयार पार्नुपर्ने थियो । र, यो काममा खटिएका मजदूरको भिडमा भेटिए तेस्रोलिंगी ललन ।

अरुबेला नाच, आर्केस्टालगायतका मनोरञ्जनात्मक कार्यमा नाचेर गुजारा चलाउने ललन गाउँका साथीभाइले काम मिलेको छ भन्ने जानकारी दिएपछि प्रदेश सभा बैठक परिसरमा काम गर्न आएका रहेछन् ।

तर, यहाँ के हुँदैछ र केका लागि भवन सिंगारिँदै छ भन्ने कुरा लुटनलाई केही थाहा छैन । प्रदेशसभासँग उनलाई कुनै सरोकार पनि छैन । यद्यपि यसपटकको दुवै तहको निर्वाचनमा चाहिँ उनले तेस्रोलिंगीकै पहिचानमा मतदान गरेको बताए ।

प्रदेशसभा सरसफाइको काम गर्ने मजदुरले प्रतिदिन ६ सय रुपैयाँ सुख्खा ज्याला पाएको ललनले बताए । ज्यालामा चाहिँ ठेकेदारले तेस्रोलिंगी भनेर बिभेद गरेका छैनन्, तर व्यवहारमा भने धेरैपटक विभेद खेप्नुपरेको उनले गुनासो गरे ।

आजैबाट प्रदेश भवन सिंगार्ने ललन सदाको पनि काम सकिँदैछ । यहाँ ललनजस्तै पीडित मजदुरहरुले भवन सजाएका छन् । तर, तेस्रोलिंगी ललन सदाले सफा बनाएको यो प्रदेशसभाले अब ललनजस्तै तेस्रोलिंगीहरुको रोजगारी र आत्मसम्मानको प्रवन्ध गर्ने नीति नियमहरु बनाउला ? यो चाहिँ प्रतिक्षाको विषय हो ।

अन्यथा ललनजस्तै मजदुरका लागि यो प्रदेशसभा जीवन शर्माको गीतले भनेजस्तै हुनेछः

निकाल्यौं हिरामोती, बनायौं सुनका दरबार
न हामीलाई एकछाक रोटी, न पायौं ओत लाग्ने घर…
काठमाडौं र दिल्ली हाँस्छन् हाम्रै रगतमाथि
संसारलाई सिंगार्ने हौं हामी निर्धन जाति…।

साभार : अनलाइनखवर

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.