काठमाडौं (पहिचान) बैशाख ४ – २०७० साल तिर जुन बेला संविधान सभाको दोस्रो चुनाव भयो । चुनावको मिति निश्चित भएपछि यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार प्राप्तिका अभियन्ता एवं पूर्व सभासद् सुनिलबाबु पन्तसँग अन्तरलिंगी इशान रेग्मीले अन्तरलिंगीका लागि परियोजना ल्याउन सकिन्छ कि भनेर मौखिक प्रस्ताव राखे । पन्तले २० जनाको टिम बनाए छुट्टै परियोजना ल्याउन सकिने वताए ।
‘त्यो भन्दा सानो टिम भएमा परियोजना नआउने रैछ,’ इशानले त्यो दिन सम्झर्दै भने, ‘म त्यसपछि देशभर अन्तरलिंगी व्यक्तिहरुको खोजीमा लागे ।’ नील हिरा समाजको आष्ट्रिया परियोजनाका प्रमूख इशानले सन् २०११ मा जम्मा दुई तीन जना सम्पर्कमा रहेको वताए । २०७० साल अघि बर्दियाकी अमृता बास्तोला र नविन चौधरी सम्पर्कमा आएको उनले जानकारी दिए । २०७० अघि नै बाराका अन्तरलिंगी मन्दिपकुमार कुर्मीलाई परिवारले नील हिरा समाजको सम्पर्कमा ल्याइसकेका थिए । सानैमा अन्तरलिंगीको पहिचान लिएर नील हिरा समाजको सम्पर्कमा आएका मन्दिपकुमार नै हुन् ।
यसअघि प्रकाशित यो समाचार पनि पढ्नुहोस
न्याय खोज्दै अन्तरलिंगी मन्दिप
‘एउटै मान्छेमा महिला पुरुष दुबैको यौनअंग भएको थाहा पाउनुभएको छ ? यो त अचम्म नै हो ! ’ बारा बलरामपुर गाविसका एक बच्चामा दुबै यौन अंग छन् । स्थानीय मदनकुमार कुर्मीकी पत्नी जंगीदेवीले २०६३ माघ १ गते दुबै यौन अंग भएको बच्चा जन्माइन ।
तीन सन्तानमध्ये दुबै यौन अंग भएका कान्छा मन्दिपकुमार १ कक्षामा पढ्छन् । पुरुष वालकको भेषभूषामा देखिने मन्दिपकुमारको दुबै यौन अंग भएपनि महिला यौनअंगबाट पिसाब गर्छन् ।
तर विद्यालयमा साथी र शिक्षकहरुले समेत जिस्क्याउने गरेपछि अभिभावकले उनलाई विद्यालय पठाउन छाडेका छन् । बरु बुबा मदनकुमार आफ्नो बच्चालाई अन्तरलिंगी (महिला र पुरुष दुबै लिंग भएको) को परिचय दिलाउन विभिन्न सरकारी निकायमा धाइरहेका छन् । नेपाल राष्ट्रिय प्राविमा अध्ययनरत मन्दिपकुमार कुर्मीलाई विद्यालयमा शिक्षक, विद्यार्थी सबैले होच्याएर बोलाउने गरेकाले बुबा मदनको चित्त दुखेको छ । होच्याएर बोलाउने र अरु सरह छात्रवृत्ति नदिएपछि सहयोगका लागि मदनकुमार काठमाडौं आए ।
गाविस, जिल्ला प्रशासन कार्यालय र स्थानीय विकास मन्त्रालयका सिफारिस बोकेर काठमाडौं आएका मदनकुमार अहिले महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयबाट बच्चालाई अन्तरलिंगीको परिचय दिलाउने प्रयासमा छन् ।
‘टोल छिमेकमा यो राक्षस हो, यस्तो बच्चाको मुख पनि हेर्नुहुन्न भनेर कुरा काट्छन् । स्कूलमा दिदी र दाईलाई राक्षसको दिदी दाई भन्छन,’ मदनकुमारले चिन्ता व्यत्तक्र गर्दै भने, ‘विद्यालयले अरु दुईजना छोराछोरीलाई पोशाक दियो, उसलाई दिएन, शिक्षकले समेत यस्तो विभेद गरेपछि यो बच्चालाई कसरी शिक्षा दिऔं ।’
‘दुबै यौन अङग भएको बच्चा जन्मेपनि मदनकुमारले शुरुमा छिमेकीलाई समेत थाहा दिएनन । तर एक दिन साथीसँग आफ्नो बच्चाका बारेमा कुरा उठेपछि पत्रकार लिएर बाराका एक जना शिक्षक मदनकुमारको घर पुगे र फोटो सहित बच्चाको बारेमा समाचार प्रकाशित भयो ।
फोटो छापिएपछि मदनकुमारलाई काठमाडौंको समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी, दुई लिंगी (महिला पुरुष दुवैसँग आकर्षित) कोे संस्था नील हिरा समाजका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले टेलिफोन गरेर काठमाडौं झिकाए । पन्तले बच्चालाई काठमाडौका विभिन्न अस्पतालमा चेकजाँच पनि गराए ।
पन्तले सयमा एक जना यस्ता बच्चा जन्मने र यस्ता बच्चाका लागि नील हिरा समाजले सहयोग गर्ने बताएपछि मदनको हौसला बढेको छ । समाजले बच्चाको पढाई र परिवारको खर्चका लागि मदनलाई समाजको बारा जिल्लामा रहेको शाखा कार्यालयमा महिनाको ७ हजार रुपैयाँ नोकरी दिएको छ ।
बच्चा जन्मेको दिन मदन कुमार नवलपरासीको एक इट्टाभट्टामा काम गर्दै थिए । मदनलाई श्रीमतीको भाईले फोन गरेर छोरा जन्मेको जानकारी दिए । खुसीले सँगै काम गर्ने साथीलाई मिठाई किनेर खुवाए । मदनले भने, ‘त्यसको छैटो दिन बच्चा विरामी भएको खवर आयो र म सातौ दिन घर पुगे । बच्चा जन्मेको सातौ दिनमा दुवै यौन अंग भएको देखेर आफै अचम्ममा परेको थिए ।’ मदनले बच्चालाई पहिला भारतीय सीमाको डक्कन अस्पताल लगे ।
‘अपरेशन गरेर पुरुष वा महिलामध्ये एउटा बनाउन सकिन्छ त्यसका लागि पटना लगेर दुई अढाई लाख रुपैयाँ खर्च लाग्छ भनेका थिए’, मदनकुमारले भने, ‘म जस्तो (कमजोर आर्थिक अवस्था भएको) मान्छेले त्यसो गर्न सकिन ।’
नील हिरा समाजका कार्यकारी निर्देशक पन्तको सहयोगमा बच्चाको ललितपुरको विएण्डवि अस्पतालमा दुबै यौन अंग भएको प्रमाणित त भयो तर शल्यक्रिया गर्नका लागि चार बर्ष पर्खनुपर्ने भयो । अहिले बच्चा तन्दरुस्त भएकाले शल्यक्रिया नगर्ने र धेरै शिक्षा दिनका लागि मदनकुमार आफ्नो बच्चालाई विभेद रहित शिक्षा दिन गुहार मागिरहेका छन् ।
‘गाउँ घरमा सबैले उसलाई राक्षस भन्छन, तर कुरा काट्नेले जे भनेपनि यो बच्चा मेरो भगवान हो’, मदनकुमारले भने । मदन अहिले बच्चा बोकेर काठमाडौंमा उनलाई कसैको हाँसो र घृणा नबनीकन शिक्षा दिनका लागि भौतारि रहेका छन् ।
‘मलाई केही चाहिदैन । यो बच्चालाई कसैको हाँसो र ठट्टाको पात्र नबनाई शिक्षा दिन पाउनुर्पयो, विभेद हुनुभएन’, मदनले भने ।
बच्चालाई लिएर हिँड्दा जसले पनि कट्टु खोल्न (यौनअंग देखाउन ) लगाउने गरेकोमा मदनकुमारलाई रिस उठ्न थालेको छ । ‘मेरो बच्चाको कति ठाउँमा कटटु खोलेर देखाउनु ? जसले पनि खोइ खोइ हेरौँ भन्छन् । देखायो हाँस्छन् खिल्ली उडाउँछन’, उनले भने ‘अब त एक ठाउँमा देखाउँछु, उसले प्रमाणित गरिदिनु प¥यो, बच्चाको कट्टु खोल भन्नेलाई त्यही प्रमाण देखाउछु ।’
के हो अन्तरलिंगी ?
यस्ता बच्चा यौन अंगको हिसाबले जन्मदा नै सामाजिक अपेक्षा अनुरुप बालक वा वालिका छट्टिदैनन् । चिकित्सकहरुले यसलाई ‘हेर्माफ्रोडाइट्स’ भनेर बच्चाको यौनअंग सच्च्याउने शल्यक्रिया गरिदिने चलन धेरै देशमा छ ।
तर हिजोआज जवरजस्ती बच्चाको यौनअंग सच्च्याउने शल्यक्रिया अभ्यासलाई ‘बलजफ्ती लैंगिक पहिचान बनाइदिने र यौनअंग बिगारी दिने’ भनेर निको मानिदैन । किनभने बच्चाको लैंगिक पहिचानपछि कस्तो हुन्छ भनेर बच्चामा नै यकिन गर्न सकिदैन ।
यो ६ बर्ष अघिको समाचार हो । मन्दिप कुमार अहिले ६ कक्षामा पढ्छन् । उनलाई पहिलो जस्तो विभेद त भएको छैन तर त्यस्तै गर्छन कि भन्ने चिन्ता भने अझै छ ।
त्यतिबेला अन्तरलिंगीका लागि भनेर छुट्टै सहयोग कतैबाट आएको थिएन । त्यतिवेलाका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले दिएको आश्वासन पछि इशान रेग्मी अन्तरलिंगी समूदायका व्यक्तिको पहिचान, खोजविन गरेर सम्पर्कमा ल्याउन थाले ।
नील हिरा समाजमै कार्यरत अन्तरलिंगी अधिकारकर्मी इशानले सन् २०१५ मा ताइवानमा जाने मौका पाए । एसियाका ७ जनामा नेपालबाट इशान थिए । त्यसमा चीन, हङकङ, पाकिस्तान, नेपाल, इण्डोनेसिया, फिलिपिन्स र ताइवानबाट अन्तरलिंगीको प्रतिनिधित्व थियो । त्यो एसियामा रहेका अन्तरलिंगीको पहिलो सम्मेलन थियो । त्यो सम्मेलनमा दातृ संस्थाले अन्तरलिंगीको मानवअधिकारको मुद्धालाई एसिमामा कसरी अरु एलजिविटि अभियान जस्तै शसक्त बनाएर काम गर्न सकिन्छ भनेर छलफल भए अनुसार आ–आफ्नो देशमा गएर के के गर्ने भनेर प्रतिवद्धता जनाए । ‘त्यतिवेला अरु पनि चार पाँच जना नेपालमा सम्पर्कमा आइसकेका थिए,’ इशान भन्छन्, ‘अन्तरलिंगीहरुलाई ल्याएर उनीहरुको एउटा भेला गर्ने र उनीहरुको जीवन कथा प्रकाशन गर्ने प्रतिवद्धता जनायौ ।’
त्यो अनुसार नेपाल दातृ निकायलाई म यस्तो काम गर्दैछु भनेर जानकारी दिएपछि सहयोग पनि पाइएको अनुभव इशानले सुनाए । एसियाको पहिलो अन्तरलिंगी सम्मेलनमा जनाएको प्रतिवद्धता अनुसार नील हिरा समाजले सन् २०१६ मा पहिलो अन्तरलिंगी राष्ट्रिय कार्यशाला गोष्ठी गर्यो । दुई दिनको कार्यक्रममा नेपालका विभिन्न जिल्लाहरुबाट १५ जना सहभागी भएका थिए ।
१५ जना मध्ये ८ जनाले आफ्नो स्टोरी कथा दिन मानेका थिए र त्यो स्टोरी एउटा बुकलेट प्रकाशन भयो, नील हिरा समाजले अष्ट्रियाको सहयोगमा प्रकाशन गरेको बुकलेट नेपालका अन्तरलिंगीहरुको पहिलो लिखित दस्तावेज पनि मान्न सकिन्छ । इशानले अन्तरलिंगीको मुद्धामा नेपाल भित्र र नेपाल बाहिर वकालत गर्ने काम निरन्तर चलिरहेको वताए ।
सन् २०१६ अप्रिलमा बाल अधिकार महासन्धीका लागि अन्तरलिंगी बालबालिकाको मुद्धाहरुलाई समेटेर पहिलो स्याडो प्रतिवेदन (छाया प्रतिवेदन) संयुक्त राष्ट्रसंघमा पठाएको उनले वताए । ‘त्यो प्रतिवेदनमा संयुक्त राष्ट्रसंघको विज्ञ समूहले नेपाल सरकारलाई अन्तरलिंगी वालवालिकाको बारेमा आफ्नो निष्कर्ष दियो, र नेपाल सरकारले त्यसलाई ग्रहण पनि गरेको छ,’ इशानले भने । त्यही समयमा आष्ट्रिया लेजवियन फाउण्डेशनबाट अन्तरलिंगीकै लागि भनेर नेपालमा ५ हजार डलरको आर्थिक सहयोग पाएको इशानले वताए ।
त्यो सहयोगका कारण अन्तरलिंगीको मानवअधिकार, स्वास्थ्य, शिक्षा जस्ता आधारभुत बिषयमा विभिन्न किसिमका कार्यक्रम गरिएको उनले वताए । ‘केस स्टडी, अभिमुखिकरण, वकालत, प्रचार प्रसार लगायतका कार्यक्रम गरेका छौ उनले भने, ‘ नेपालका विभिन्न अस्पतालमा अन्तर्लिङ्गी बालबालिकाको यौनाङ्ग बन्ध्याकरन भइ रहेको छ जसमा ४६ जनाको अभिलेखिकरण भएको छ भने बाकी ४ जना धुलिखेल अस्पताल र १ जना वीर अस्पतालको अभिलेखिकरण भएको छैन ।’
त्यतिवेला नै बाल ऐन संसोधनका लागि विभिन्न किसिमका व्यक्ति संघ संस्थासँग समन्वयन, छलफल गरेर बाल ऐन संसोधनका लागि अन्तरलिंगी बालबालिकाको समस्या दिएको उनले सुनाए । बाल ऐनको मस्यौदामा पहिचान अनुसारको जन्म दर्ता हुनुपर्छ भनेर लेखिएको छ ।
उनले नेपालमा अन्तरलिंगीहरुको दोस्रो राष्ट्रिय कार्यशाला गोष्ठी समेत गरि सकिएको वताए । त्यो गोष्ठीमा चार जना अभिभावक सहित ३० जना सहभागी थिए । ‘पछिल्लो पटक त्यही दातृ संस्थाले एक हजार थप गरेर ६ हजार डलर आर्थिक सहयोग गरेको छ,’ इशानले भने, ‘त्यो सहयोगले अन्तरलिंगी व्यक्तिका अधिकारबारे विभिन्न ठाउँमा कुरा उठाउने काम भइरहेको छ ।’
इशानका अनुसार संयुक्त राष्ट्र संघमा भएको सिडामा अन्तरलिंगी महिलाको मुद्धाहरु समेटेर स्वतन्त्र प्रतिवेदन पठाइएको छ । ‘त्यसको साकारात्म संदेश आएको छ, अहिले पनि हामी काम गरिरहेका छौ,’ इशानले थपे, ‘स्थानीय तहदेखि प्रदेश, केन्द्र र एसिया क्षेत्रमै अन्तरलिंगी समुदायका व्यक्तिहरुको हक अधिकारका लागि काम गर्दै आएका छौ ।’ ‘यो परियोजनाको अन्त्य हुन सक्ला तर मेरो अभियान अन्त्य हुँदैन,’ इशानले भने, ‘पहिले भन्दा अहिले समुदायका व्यक्तिहरु खुलेर आउने क्रम बढेकाले साहस पनि बढेको छ ।’
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.