मन्त्री बिश्वकर्माको प्रश्न, यो क्षमता खोजेर भेट्न सक्छौ र ? (भिडियो)

मन्त्री बिश्वकर्माको प्रश्न, यो क्षमता खोजेर भेट्न सक्छौ र ? (भिडियो)

bty

काठमाडौं (पहिचान) बैशाख ८ – युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्माले यौनिक तथा लैंगिक अल्पसंख्यकको बास्तविकतालाई स्वीकार गर्न बाध्य हुनु पर्ने वताएका छन् । सबै नागरिक समान हुन भन्दै मन्त्री बिश्वकर्माले ढिलो चाडो यौनिक तथा लैंगिक अल्पसंख्यकको बास्तविकता स्वीकार गर्न समाज बाध्य हुने वताए ।

नेपालमा सरकारी स्तरबाट पहिलो पटक भएको यौनिक तथा लैंगिक अल्पसंख्यकको राष्ट्रिय फुटसल प्रतियोगिता उद्घाटन गर्दै मन्त्री बिश्वकर्माले संगठित भएर आफ्ना भावना र प्रतिभाहरु प्रष्फुटन गर्ने कामको सफलताको शुभकामना समेत दिए ।

“तपाईहरुले आफ्ना भावना र प्रतिभाहरु प्रष्फुटन गर्दै आउनु भएको छ मन्त्री बिश्वकर्माले भने, यसको सदुपयोग संगठित भएर गर्दै आउनु भएको छ त्यसले तपाईहरुलाई स्वाभिमानी नेपाली नागरिकको सफलता समेत दिनेछ ।” उनले मानव भएपछि सबैको आत्मसम्मान हुने वताए ।

“मान्छेलाई राम्रो व्यवहार मन पर्छ, नराम्रो व्यवहार र घृणा तिरस्कार मन पर्दैन उनले भने, तपाईहरुसँग बिशिष्ट क्षमता छ, यो प्रकृतीले दिएको उपहार हो, यो क्षमता खोजेर भेट्न सक्छौ र ?” उनले यो बिशिष्ट क्षमताको राज्यले पनि सम्मान गर्ने वताए ।

पहिलो पटक यौनिक तथा लैंगिक अल्पसंख्यकको राष्ट्रिय फुटसल प्रतियोगिता आयोजना हुदाँ आफूलाई खुशी र गौरवको दिन हो भन्ने लागेको मन्त्री बिश्वकर्माले सुनाए । उनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा रहेको सामथ्र्य र क्षमतालाई राष्ट्र विकासमा सदुपयोग गर्ने गरि आउने बजेटमा नीति तथा कार्यक्रम तर्जुमा गर्ने प्रतिवद्धता जनाए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले नेपालमा मात्रै नभएर सरकारी स्तरबाट यो समुदायको राष्ट्रिय फुटसल प्रतियोगिताको आयोजना दक्षिण एसियामै पहिलो भएको वताए । “समुदायले आफ्नै स्तरबाट गर्नु भएको होला तर, सरकारी स्तरबाट गरिएको यो दक्षिण एसियामै पहिलो हो सदस्य सचिव विष्टले भने, यसलाई आगामी दिन अझ बृहत रुपमा निरन्तरता दिनेछौ ।”

उनले यो समुदायका खेलाडीको क्षमतालाई अन्तराष्ट्रिय स्तरसम्म पुरयाउने वताए । “अरुले ल्याएको पदक सुनको हुने यो समुदायका खेलाडीले ल्याएको पदक चाँदीको हुने भन्ने हुँदैन उनले भने, यो समुदायका खेलाडीले ल्याएको पदकमा राष्ट्रले गौरव गर्नुपर्छ ।”

नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले आफ्नो समुदायको खेल्न पाउने अधिकार मात्रै नभएर यो स्वास्थ्य र मानवअधिकार समेत भएको वताइन । “खेल मानिसको जीवनमा आवश्यक छ उनले भनिन्, खेल्न पाउने मात्रै अधिकार होइन, यो हाम्रो स्वास्थ्य र मानवअधिकार पनि हो ।”

उनले आफू १३ बर्षको हुँदा आफ्नो फरक यौनिक अभिमुखिकरणकै कारण खेल्न पाउने अधिकारबाट बञ्चित गरिएको सुनाइन । उनले नेपालको सुरक्षा निकाय र खेल क्षेत्रमा धेरै तेस्रोलिंगी पुरुष (जन्मदा महिला) रहेको वताउँदै उनीहरु माथि हुने विभेदपूर्ण व्यवहार आजैका मितिबाट अन्त्य हुनुपर्ने माग गरिन् ।

उनले राज्य स्तरबाट आफ्नो समुदायका लागि राष्ट्रिय फुटसल प्रतियोगिता आयोजना हुन सराहनिय र स्वागत योग्य भएको वताइन । उनले तीन बर्ष अघि युवा तथा खेलकुद मन्त्रालयले गरेको कार्यक्रममा राखेको माग अहिले आएर पूरा भएको भन्दै यसले निरन्तरता पाउनु पर्ने वताइन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.