काठमाडौं/पहिचान : ‘तपाईंकी श्रीमतीको पेटमा छोरो छ’, डाक्टरको यो वाक्यले हच्किए टंकबहादुर श्रेष्ठका दम्पती। श्रेष्ठ दम्पतीलाई डाक्टरको यो वाक्यले हैरान मात्र बनाएन, आफ्नो परिवार अपूर्ण हुने चिन्ताले सताउन थाल्यो। छोरा जन्माउन मरिहत्ते गर्ने पितृसत्तात्मक हाम्रो समाज यो संसार देख्न पाउनुपूर्व नै छोरीको (भ्रुण) हत्या गर्नसम्म पछि पर्दैन। छोरी जन्माएकै कारण महिलाहरू अनेक पारिवारिक हिंसाका सिकार भइरहेको घटना सुन्न र देख्न पाइन्छ। तर यो समाजभन्दा बिल्कुल फरक रहेर पेटमा छोरो रहेको कारण निद्रा र भोक हरायो श्रेष्ठ दम्पतीको।
मुसुक्क मुस्कुराउँदै अनुपम श्रेष्ठ भन्छन्, ‘यदि त्यो दिन बुबाआमा फुर्सदमा भएको भए मेरो जन्म नै हुने थिएन।’ छोरीको चाहनामा रहेका टंकबहादुर श्रेष्ठले शारदा श्रेष्ठको पेटमा हुर्कंदै गएको बच्चा छोरो भएको खण्डमा गर्भपतन गर्ने भन्ने घरायसी छलफलले अन्तिम रूप लिएको भए पनि श्रेष्ठको जन्म हुँदैनथ्यो। छोरी नभए आफ्नो परिवार नै अपूर्ण हुने मानसिकतामा रहेकी शारदा श्रेष्ठको मनमा तत्कालीन ज्योतिषी मगंलराज जोशीकहाँ गएर आफ्नो पेटको बच्चाको भाग्य कस्तो छ भनेर एक पटक जान्न नचाहेको भए पनि अनुपमको जन्म हुँदैनथ्यो।
पेटमा रहेको बच्चा नै श्रेष्ठ परिवारमा सफलताको पहिलो सूचक हो भनेर ज्योतिषीले भनेको आधारमा छोरालाई जन्म दिए श्रेष्ठ दम्पतीले। त्यसबेला अनुपम पेटमा हुँदा उनकी आमालाई ज्योतिषीले भनेका थिए रे, ‘तपाईंको पेटको बच्चा जन्मिएपछि श्रीमानको सरुवा हुनेछ। यति मात्र होइन, तपाईंको परिवारमा प्रगति नै प्रगति हुन्छ, बच्चाको जन्म दिनुहोस्’, अनुपम हाँस्दै भन्छन्, ‘मलाई जन्म दिनुमा बुबाआमाको भन्दा ठूलो हात ज्योतिषीको छ।’
श्रेष्ठ दम्पती पहिल्यै दुईवटा छोरा भएपछि घरमा एउटी लक्ष्मीको आगमन होस् भन्ने चाहन्थे। तर विडम्बना, छोरीको जन्म भएन। अनुपमको जन्म भयो। यति मात्र होइन, ज्योतिषीको भविष्यवाणी पनि सही साबित भयो। उनी जन्मेको छ महिनामा नै सप्तरी जिल्लाबाट बुबाको काठमाडौं सरुवा भयो। उनका बुबा मालपोतका कर्मचारी थिए त्यसताका। छोरो नै जन्मेपछि श्रेष्ठ दम्पतीले उनलाई छोरी जस्तै बनाएर हुर्काए, पढाए। उनी ६ कक्षासम्म अनामनगरस्थित अक्सिडेन्टल बोर्डिङ स्कुलमा पढे। त्यसपछि होलिल्याण्डमा ९ कक्षासम्म पढे। सिबिएसई बोर्डचाहिँ राई स्कुलबाट दिए उनले।
किशोरावस्थामा प्रवेश गरेपछि आफू अरूभन्दा अलिक फरक पो रहेछु भन्ने पहिलो पटक थाहा भयो उनलाई। बाबुआमालाई छोरी चाहिएको थियो। विस्तारै उनको व्यवहार, अनुभूति र आनिबानी महिलाको जस्तो भयो। शारीरिक रूपमा पुरुष भए पनि महिलाहरूसँग नजिक हुन मन लाग्ने, पुरुष देख्नेबित्तिकै लाज लाग्ने। अझ भन्नुपर्दा महिलामा हुनुपर्ने गुण उनमा बढी देखियो।
एसएलसी परीक्षा दिने बेला छात्रावासमा बस्दाका दिन जिन्दगीकै सबैभन्दा लामा दिन लाग्ने गरेको बताउँछन् उनी। केटाहरूसँग बस्नुपर्ने, एकदमै तनाव, त्यसमाथि सँगैका साथीहरूले जिस्क्याएर कहिले कट्टु तानिदिने त कहिले यौनका अनेकखाले प्रसंग निकालेर लज्जित बनाउँथे। उनी दुखी हुँदै ती दिन सम्झन्छन्, ‘किशोरावस्थामा साथीहरूले मेरो लवाइखुवाइ, पहिरनलाई लिएर अपमानित गर्दा भगवानले आफूमाथि गम्भीर अपराध नै गरेको हो भन्ने लाग्थ्यो।’ त्यसपछि उनी कुपण्डोलबाट प्लस टु सकेर बिबिए पढ्न सिक्किम पुगे।
उनलाई एकाउन्टिङ एकदमै दिक्कलाग्दो विषय लाग्ने गर्थ्यो। बच्चैदेखि फेसन डिजाइनिङमा रुचि रहेकाले दिल्लीस्थित डब्लुएलसी कलेज पुगे उनी सन् २०११ मा। त्यहाँ फेसन डिजाइनको पढाइ हुने गर्छ। त्यहाँको पढाइ सकेर उनी नेपाल आए। देशमा केही गरौँ भन्ने सोचका साथ नेपाल आएका उनी आफ्नो शारीरिक स्वरूपलाई लिएर सबैले अलिक फरक तरिकाले हेर्ने गरेको सम्झना ताजै छ। उनी भन्छन्, ‘हामीले चाहेर यस्तो नभएकाले उनीहरूले यस्ता कुरा बुझ्नुपर्ने हो। तर समाजका शिक्षित वर्गबाट नै हामीलाई होच्याएर मनोरंजन लिने गरेको अनुभव छ उनलाई। उनी जस्तै हाल नेपालमा लगभग नौ लाख लैंगिक अल्पसख्यंकमध्ये तेस्रोलिंगीको जनसंख्या करिव दुई लाखको हाराहारीमा छ, जसले समाजले दिएको अनेक लान्छना र तिरस्कार सहँदै बाँचिरहनुपरेको छ। उनी भन्छन्, ‘हामीलाई मान्छेको जस्तो व्यवहार गर्नुपर्छ समाजले, हाम्रो पनि मन छ, सपना छन्, हामी मान्छे भएर बाँच्न चाहन्छौँ।’
राज्यले अहिले संविधानमा तेस्रो लिंगीको समानता, पहिचान र संलग्नताको व्यवस्था गरेको छ। उनी भन्छन्, ‘हाम्रा हक अधिकार र स्वतन्त्रताका हिसाबले नेपाल विश्वमा राम्रो कहलिएको सत्य हो।’ राज्यले हाम्रा लागि सकारात्मक कदम चाले पनि समाजले हेर्ने दृष्टिकोणमा भने सुधार नभएको बताउँछन् उनी। बाटोमा हिँड्दा आँखा तर्ने, अश्लील शब्दले बोलाउने, पछाडिबाट कण्डमका प्याकेटले हान्ने प्रवृत्तिले कहिलेकाहीँ फ्रस्टेसन हुन्छ उनलाई। यसरी कस्तो समाजको निर्माण होला? उनी आफैँ कहिलेकाहीँ अनुत्तरित हुन्छन्। उनले कतै पढेका थिए, ‘परिपक्व समाज अपरिपक्कतालाई घृणा गर्छ’, तर हाम्रो समाज हाम्रा लागि कहिल्यै परिपक्व हुन नसकेको उनको बुझाइ छ। तेस्रोलिंगीप्रति समाजमा बुझाइ फरक फरक छ भएको उनको अनुभव छ। ‘कोही उनीहरूबारे बुझ्न नै चाहँदैनन्, कोही बुझे पनि नबुझेझैँ गर्छन्’, उनी भन्छन्।
तेस्रो लिंगी हुनु रहरभन्दा पनि प्रकृतिक कुरा भएको उनी बताउँछन्। प्राकृतिक कुरालाई समाजले स्वीकार गर्न सक्नुपर्ने तर उनीहरूले आफूहरूलाई होच्याएर मनोरंजन लिने गरेको उनको गुनासो छ। ‘तेस्रो लिंगीहरू मनोरजंनका साधन होइनन्, जसलाई होच्याएर रमाइलो गर्न पाइयोस्। हामी पनि समाजका एक हिस्सा हौँ, जसले देशका लागि जस्तोसुकै मूल्य चुकाउन पछि पर्दैनौँ’, उनी भन्छन्।
पुरुष भएर जन्मेपछि व्यवहार पनि त्यस्तै देखाउनुपर्ने सामाजिक मूल्य मान्यता होला तर उनको मनको अनुभूति र सोच्ने शैली सबै केटीको जस्तो भयो। ‘यस मानेमा म के गर्न सक्छु?’, उनी प्रश्न गर्छन ती तमाम व्यक्तिलाई, जसले उनलाई अपाच्य शब्द प्रयोग गरेर सम्बोधन गर्छन्। आफू सक्षम भए जस्तोसुकै कठिनाइलाई पनि सहजै पार लाउन सकिन्छ भन्ने कुराका उदाहरण हुन् अनुपम। फेसन डिजाइन र फिल्म क्षेत्रमा क्रियाशील छन् उनी। शारीरिक स्वरूपलाई लिएर समाजले जे जस्तो रूपमा हेरे पनि आफ्नो परिवारले सहयोग गरेमा भने बाँच्ने आधार हुने उनी बताउँछन्। उनी भन्छन्, ‘जब आफ्ना बाबुआमा परिवार र आफन्तले सहज रूपमा लिन्छन् भने समाजले जे भनोस्, बाल मतलब लाग्छ।’
तर सबै अल्पसंख्यक (समलिंगी) व्यक्तिहरू उनी जस्तै भाग्यमानी भने छैनन्। तेस्रोलिंगी भन्नेबित्तिकै घरदेखि पँधेरोसम्म, उज्यालोदेखि अँध्यारोसम्म कठिनाइका अनगिन्ती पहाड छिचोल्न एकदम कठिन रहेकाले राज्यले लैंगिक अल्पसख्यंकलाई स्वास्थ्य, शिक्षा, रोजगारीका लागि पहल गर्नुपर्ने बताउँछन् उनी। ‘नेपालमा लैंगिक अल्पसख्यंकका हक हितमा काम गर्ने प्रशस्त संस्था छन्’, उनी भन्छन्, ‘देशका कुनाकुनामा गएर सचेतनामूलक कार्यक्रम गर्न यी संस्थाहरू चुकेका छन्। यी संघसंस्थाका कारण पहिलेको भन्दा केही सुधार पक्कै भएको छ तर जति हुनुपर्ने हो, त्यति भएको छैन। शहर केन्द्रित हुने प्रवृत्ति जो छ।’
उनले राज्य र सम्बन्धित निकायलाई गुनासाको खात मात्र थुपारेका छैनन्, लैंगिक अल्पसख्यंक व्यक्तिका लागि भनेर धुलिखेलमा जग्गा पनि किनेका छन्। उनी भन्छन्, ‘यदि कसैले लैंगिक अल्पसख्यंकका लागि शिक्षा, रोजगारीका कार्यक्रमका लागि सीपमूलक तालिम दिएर समाजमा सम्मानजनक रूपमा बाँच्न पाउने अवसर दिन्छ भने आफ्नो जग्गा दिन तयार छु।’ भौतिक पूर्वाधार निर्माणका काम एक्लै गर्न भने आफ्नो आर्थिक हैसियत नपुग्ने बताउँछन् उनी।
अहिले भने फिल्म क्षेत्रमा पनि आवद्ध छन् उनी। एउटा कुशल फेसन डिजाइनर फिल्ममा कसरी प्रवेश गरे त? रुचिको विषय हुन सक्छ। फिल्म उद्योग व्यावसायिक भई नसकेको अवस्थामा फिल्ममा काम गर्नु आफैँमा आर्थिक रूपमा जोखिम मोल्नु पनि हो। तर उनी भन्छ्न, ‘मलाई जोखिमपूर्ण काम गर्न मनपर्छ।’
नायिका सुष्मा कार्कीको करकापकै कारण कलिउड नगरीमा प्रवेश गरेका हुन् उनी। नायिका कार्कीले उनका बुबालाई मामा भन्छिन्। पहिलेदेखि सुष्मालाई डान्स सिकाउँथे उनी। ‘लुट’ फिल्मको आइटम डान्सको सुटिङ हेर्न गएका थिए अनुपम, जसमा गम्भीर विष्टले कोरियोग्राफी गर्दै थिए। गीत सुन्दर भए पनि गीतसँग मिल्ने डान्समा हाल्न सकेनन् गम्भीरले। त्यसै बेला अनुपमले दुई/चार स्टेप सिकाइदिए। पछि उनको कामबाट प्रसन्न भएका गम्भीरले उनलाई आफूसँग काम गर्न आग्रह गरे। तर उनलाई फिल्म क्षेत्रमा आउन मन छैन भनेर टारे।
केही समयपछि नितिन चन्द ठकुरीले योर स्टायल टिभीमा कोरियोग्राफी र फेसन कोरियोग्राफीका लागि निम्ता दिए। उनको निम्तालाई खै किन हो कुन्नि, नाइँनास्ती गरेनन् रे! आफैँ चकित छन् रे उनी। त्यहाँ काम गर्दागर्दै एक दिन नायिका सुस्मिता केसीले आफ्नो फिल्ममा खेल्न अफर गरिन् उनलाई। फिल्मका लागि भन्दा पनि दिदीको आग्रहलाई नकार्न नसकेर ‘म त तिम्रै हुँ’ भन्ने फिल्म खेले उनले।
उनले खेलेको पहिलो फिल्म ‘म त तिम्रै हुँ’ व्यावसायिक रूपमा असफल भए पनि दर्शक र फिल्म विश्लेषकको नजरमा उनी परे। उनको अभिनयलाई लिएर चौतर्फी तारिफ गरियो। अहिले प्रदर्शनमा रहेको ‘तिमीसँग’ फिल्ममा पनि उनी सुन्तलीको पात्र बनेर आएका छन्। अभिनयमा दख्खल राख्ने उनी आफूलाई कलाकारभन्दा पनि फेसन डिजाइनरको रूपमा बढी सन्तुष्ट महसुस गर्ने बताउँछन्। श्रेष्ठले होटल र्याडिसनमा, तीजका अनगिन्ती कार्यक्रममा अनि मिस एण्ड मिस मारवाडीमा डान्स कोरियोग्राफी गरेका छन्। तर आयोजकले पूर्व निर्धारित पारिश्रमिक नदिने, कोही भाग्ने गरेको नमीठो अनुभवका कारण कोरियोग्राफरको कामबाट विश्राम लिए उनले।
अहिले उनी दरबारमार्गस्थित एमडिएसमा कस्ट्युम डिजाइनको काम गर्छन्। उनले ती कस्ट्युम विदेश पठाउँछन्। उनी भन्छन्, ‘मैले गर्ने डिजाइन अलिक महँगो हुने हुँदा नेपालमा भन्दा विदेशमा पठाउने गरेको छु।’ आफ्नो अबको कर्म फिल्म र कस्ट्युम डिजाइन रहेकाले अरू केही नसोचेको बताउँछन उनी।
विवाहको प्रसंगमा उनी भन्छन्, ‘हामीलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याए विस्तारै बिहे पनि गरौँला तर कोसँग गर्ने भन्ने कुरा भविष्यको गर्भमा छ।’
साभार: थाहा खवर
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.