ललितपुरमा यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्या करिब दश हजार

ललितपुरमा यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्या करिब दश हजार

ललितपुर (पहिचान) साउन ५ – आर्थिक वर्ष ०७५।०७६ का लागि आफ्ना नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरिसकेका महालक्ष्मी र गोदावरी नगरपालिकाका मेयरद्वय रामेश्वर श्रेष्ठ र गजेन्द्र महर्जनले तेस्रोलिंगी (यौनिक तथा लैंगिक अल्पसंख्यक) समुदायका बारेमा जानकारी नभएको बताएका छन् । तर ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भने आफ्नो नीति तथा कार्यक्रममा तेस्रोलिंगी समुदायलाई समेटेका छन् ।

महानगरले यसपटक समावेशीकरण शीर्षकमा (महिला समूहलाई फोहोरमैलाका लागि परिचालनलगायत) तेस्रोलिंगी समुदायका लागि भनेर सामुदायिक विकासका नाममा तीन करोड रुपैयाँ छुट्याएको छ । तर प्रमुख महर्जनले तेस्रोलिंगी समुदायका लागि के कस्ता कार्यक्रम ल्याउने भन्ने कुरामा अनभिज्ञ रहेको बताए । ‘हेरौं केकस्तो कार्यक्रमको माग हुन्छ त्यसै अनुसार कार्यक्रम ल्याउँछु’, महर्जनले भने ।

यता महालक्ष्मी नगरपालिकाका प्रमुख श्रेष्ठले पनि तेस्रोलिंगी समुदायका मानिसहरू खासै सम्पर्कमा नआएकाले उनीहरूको बारेमा नसोचेको बताए । उनले भने, ‘अब आफ्नो नगरमा भएका सबै कुराका जानकारी लिन्छु कुनै समुदायलाई छुटाउँदिन ।’ उनले आफ्नो तेस्रोलिंगी समुदायका मानिस छन् छैनन् थाहा नभएको बताए । ‘अब बिस्तारै खोजी निती गर्छु’ श्रेष्ठले भने ।

गोदावरी नगरपालिकाका प्रमुख महर्जनले तेस्रोलिंगी समुदायको बारेमा जानकारी नभएको बताए । उनले आफ्नो नगरमा अहिलेसम्म तेस्रोलिंगी हुँ भनेर कोही नआएकाले नीति तथा कार्यक्रममा समावेश नगरिएको बताए । उनले भने, ‘अब यो विषयमा पनि चासो राख्ने छु ।’

महानगरपालिका तथा नगरपालिकाका प्रमुखहरूलाई आफ्नो नगरमा केकस्तो समुदायका मानिस बस्छन् भन्ने जानकारी नभए पनि जिल्लामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय (तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी र द्वयलिंगी) को संख्या कम्तिमा ८ आठ देखि १० हजार भएको तेस्रोलिंगी समुदायका लागि काम गर्दै आएको ललितपुरमा रहेको परिचय नेपाल नामक संस्थाले जनाएको छ ।

परिचय नेपालका कार्यक्रम अधिकृत मनोरञ्जनकुमार वैद्यका अनुसार यो संख्या सम्पर्कमा आएका तर समाजमा नखुलेका समेतको हो । वैद्यले सबै भन्दा धेरै युएनपार्क, कुपन्डोल राममन्दिर, लुभु, बज्रबाराही, मंगलबजार, लगनखेल बसपार्क, जाउलाखेल बसपार्क, गोदाबरी, झरुवासी, बुंगमतिलगायतका क्षेत्रमा भेटिने गरेको बताए ।

समाजमा नखुलेका तेस्रोलिंगी इमो, फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जालबाट जोडिन आउने गरेका छन् ।

उनले भने, ‘ललितपुरका सम्पूर्ण विद्यालय तथा कलेजमा जनचेतनामूलक कार्यक्रम गर्न महानगरपालिका तथा नगरपालिकाले सहयोग गर्नुपर्छ । वडास्तरबाट नै कार्यक्रम गर्दा प्रभावकारी हुन्छ ।’

नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले राज्यले पहिचान, समाजिक न्याय तथा समान हकको अधिकार दिएको बताउँदै केही मन्त्रालय, नगरपालिका तथा वडा कार्यालयले कार्यक्रम दिएको जानकारी दिइन् ।

‘जनचेतना जगाउने, तेस्रोलिंगी समुदायलाई सशक्तीकरण गर्ने खालका सीपमूलक तालिम आवश्यक छ । स्थानीय तहबाट नै यसको चाँजो मिलाउनुपर्छ’, उनले भनिन् ।

साभार : अन्नपूर्ण पोष्ट

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.