जिउँदो आकाश नाटक–यात्रा २०७५/०७६ को घोषणा

जिउँदो आकाश नाटक–यात्रा २०७५/०७६ को घोषणा

काठमाडौं (पहिचान) असोज ६ – अहिलेसम्म जिउँदो आकाश नाटक हेरेका तमाम दर्शकहरुको मूल भाव यो रह्यो– नाटक हेर्नुभन्दा अगाडि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायप्रति हेर्ने दृष्टिकोणमा जुन सोच थियो, बदलिएको छ । जातिको कुरा गर्छौँ, क्षेत्रीयताको कुरा गर्छौँ तर एउटा मानिसले अर्को मानिसको संवेदना बुझ्दैन भने हामी २१ औँ शताब्दीको सभ्य नागरिक कसरी हुन सक्छौ ?

ओझेलमा पारिएका अल्पसंख्यकमध्ये तेस्रोलिंगी पनि एउटा समुदाय हो, जो जटिल सामाजिक संरचनामा जिउन बाध्य छ । राज्यबाट कानुनमा केही अधिकारहरू सुनिश्चित गरिए पनि व्यवहारिक जीवनमा खासै परिवर्तन पाइँदैन । जन्म दिएका कतिपय बुबाआमाबाट समेत उनीहरू अपहेलित हुनु परेको स्थिति छ । यही कारणले उनीहरू मानसिक रूपमा विक्षिप्त छन् ।

राज्यले उचित संरक्षण गर्न सकेको छैन । रोजगारीको पहुँचमा उनीहरू पुग्न सकेका छैनन् । समाजले वास्तविक कुरा बुझ्न सकेको छैन । विस्तारै विस्तारै यी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यहरू संगठित हुँदै छन् । त्यो पनि सहरबजारमा मात्रै । दूरदराजका कतिपय पीडित छन् । आफ्नो पीडा न पचाउन सक्छन् न कसैलाई सुनाएर मन हलुका पार्न सक्छन् ।

अभिभावकहरू पनि हिनताबोधमा बाँचिरहेको स्थिति देख्न सकिन्छ । यो सबै अनविज्ञताको कारणले भएको हो भन्ने नाटक जिउँदो आकाशका नाटककार चन्द्रप्रसाद पाण्डेय र निर्देशक आर.के. मेहत्ताको ठहर रहेको छ । उनीहरु भन्छन्, ‘प्राकृतिक रूपमा हामी जसरी जन्म्यौ, त्यसलाई त्यसैगरी स्वीकार्नु हाम्रो कर्तव्य हो जस्तो लाग्छ ।’

यो नाटक नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको नाट्य महोत्सवमा पहिलो पटक २०७३ जेठ २९ गते दोलखा चरीकोटको सिमपानी हलमा मञ्चन भएको हो । त्यसपछि काठमाडौमा २०७४ साउन १३ देखि २१ सम्म पहिलो चरण र फागुन ११ देखि २० गतेसम्म दोस्रो चरण गरी प्रदर्शन गरियो । साथै नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै भारतको आठौँ अन्तर्राष्ट्रिय ओलम्पिक फेस्टिभलमा सहभागी हुँदै फागुन २८ गते गुहाटी र ३० गते दिल्लीमा यो नाटक देखाइएको थियो । २०७५ सालको नयाँ वर्षको सुरुवातासँगै पोखरा थिएटरको गन्धर्व नाटकघरमा समेत यो नाटक मञ्चन भयो ।

यौनिक तथा लैंगिक अल्पसंख्यकहरु घृणा विरुद्धको अन्तर्राष्ट्रिय दिवस (समलिंगी, दुईलिंगी, तेस्रोलिंगी र अन्तरलिंगी) मे १७ को संघारमा वैशाख ३१, जेठ १ र २ गते तीन दिन यो नाटक मन्त्री, संसद, सुरक्षा बलका उच्च पदाधिकारी तथा आम दर्शकमाझ यो नाटक देखाइएको थियो । यसका साथै झापा जिल्लाको दमक र बिर्तामोड बजारमा २०७५ जेठ ११ देखि २४ गतेसम्म यो नाटक देखाइएको हो । यो नाटक २०७५ साउन २६ देखि ३० गतेसम्म ललितपुरमा मञ्चन भयो ।

हालसम्म यो नाटक ८५ पटकसम्म मञ्चन भइसकेको छ । दर्शकहरुको अत्यधिक माग भएकोले अलि फराकिलो भएर अगाडि बढ्ने जमर्को गरेको नाटककार चन्द्रप्रसाद पाण्डेय र निर्देशक आर.के. मेहत्ताले बताएका छन् । उनीहरुका अनुसार नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सांस्कृतिक संस्थान यस अभियानमा सामेल भएको छ ।

यसै सिलसिलामा साइलेन्ट एक्टको प्रस्तुति तथा सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघरको आयोजनामा जिउँदो आकाश नाटक–यात्रा २०७५÷७६ घोषणा गरिएको छ । नेपालभित्र मेची काली यात्रा गर्नुका साथै विदेशमा रहेका नेपाली तथा विदेशीलाई समेत यो नाटक देखाउने योजना बनाएको नाटककार चन्द्रप्रसाद पाण्डेय र निर्देशक आर.के. मेहत्ताले जानकारी दिएका छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.