काठमाडौं (पहिचान) असोज ८ – जन्मदा बालक भएर जन्मे पनि समयसँगै बालिकाको स्वभाव लिएर हुर्किएकी हुन्छिन गरिमा (न्वारनको नाम) । पुरुष जनेन्द्रिययुक्त शरीर भए पनि स्वभाव तथा प्रकृति स्त्रीको छ ।
तर, समाजले उनको यो नियति बुझ्न सक्दैन । राम्रो दृष्टिकोणमा हेरिँदैन उनलाई । स्कुलमा समेत स्वतन्त्र रूपमा पढ्न पाउने वातावरण मिल्दैन । आफ्नै काका समेत दुश्मन भएर उभिन्छन् । उनले कहिले पिट्छन् त कहिले मानसिक यातना दिन्छन् । उनलाई मन पराउने एक व्यक्ति दिपक पनि एकाएक टाढिन्छन् ।
चरम मानसिक र शारीरिक यातना भोगेकी गरिमाले आत्महत्याको प्रयास गर्छिन् । तर, आमाको न्यानो मायाले उनलाई मर्नबाट जोगाउँछ । उनको समस्यालाई नजिकबाट बुझ्ने आमा बाहेक कोही हुँदैनन । आमाले पनि कुनै उपायबाट छोरीको जड समस्या समाधान गर्न सक्दिनन् । परिवारका अन्य सदस्यहरूले समेत मनोविज्ञान बुझेर समाधान गर्न सक्दैनन् । उल्टै विवाह गरिदिएर ढुक्क हुन चाहन्छन् ।
पारिवारिक दबाबले उनले विवाह गर्छिन् । तर, समाजलाई छोप्न खोजे पनि प्रकृतिलाई ढाँट्न सक्दिनन् गरिमाले । श्रीमतीलाई भावनात्मक रूपमा माया गरे पनि भरपुर साथ दिन गाह्रो हुन्छ । यो थप पीडा बनिदिन्छ जीवनमा ।
बाँच्ने क्रममा हिम्मत जुटाउँदै जान्छिन् । आफूजस्तै साथीभाइको संगतले जीवनमा सङ्घर्ष गर्ने साहस जुटाउँछिन् । सरकारी सेवामा लाग्ने सपना पूरा हुन सक्दैन ।
आफ्नो स्वभावअनुसार जीवनयापन गर्दै जाँदा मन केही शान्त हुन्छ तर बेला बेलामा समाज, परिवारबाट पाउने हेला, अपमानले उनको मन चिरिन्छ । आफ्नी श्रीमतीले आफू खुसी बाँच भन्दै उनलाई स्वतन्त्र जीवन बिताउने बाटो खोलिदिन्छिन् । चन्द्र प्रसाद पण्डेयको लेखन र आरकेमेहत्ताको निर्देशन रहेको नाटकमा अनिल सुब्बाको मुख्य अभिनय रहेको नाटक सकिन्छ ।
निर्देशक : आर. के.मेहत्ता
नाटक गर्दा र गराउँदा विभिन्न चुनौतीहरू आउने गर्छन् । कहिलेकाहीँ अप्ठ्यारो परिस्थिति सिर्जना हुन्छ त कहिलेकाहीँ सहजै सोचेको काम हुने गर्छ । जे जस्तो परे पनि सबै कुराको सामना गर्दै जानुपर्छ रङ्गकर्मीले । मलाई यो विषयमा नाटक गर्ने इच्छा दुई वर्षअगाडि देखि नै थियो । ‘किन यस्तो म ?’ शीर्षकको नाटकमा तेस्रोलिंगीको भूमिकामा काम गर्ने मौका पाएको थिएँ । तर, चित्तै बुझेन । चाहेको कुरा ल्याउन सकिनँ मेरो भूमिकाको लागि । त्यो नाटक गरिसकेपछि यो विषयमा अझ राम्रोसँग नाटक कसरी गर्ने भन्ने कुरा मेरो दिमागमा झुन्डिरह्यो । दुई वर्षपछि एउटा कन्सेप्ट आयो अनि मैले चन्द्र दाइसँग कुरा गरेँ । उहाँलाई पनि बडा मन परेछ । भन्नुभयो,“ए ! ल म लेखिहाल्छु नि ।”
नेपालमा मात्रै होइन, अरू देशमा पनि यो समुदायका सदस्यलाई राम्रो तरिकाले हेरेको पाइँदैन । समाजको एउटा हिस्सालाई यसरी नकारात्मक तरिकाले व्यवहार गरिनु सरासर गलत हो भन्ने हाम्रो ठम्याई छ । हामी रङ्गकर्मी हरेक मुद्धामा काम गर्न चाहन्छौँ । नेपालमा तेस्रोलिंगीको विषयमाथि तयार पारी नियमित मञ्चन गरिएको यो पहिलो नाटक हो । यसको कथावस्तुले हरेक व्यक्तिको जीवनको कुनै न कुनै पलहरू याद दिलाउनेछ भन्ने आशा लिएका छौँ । यसमा साथ दिने सम्पूर्ण सहयोगी साथीहरूलाई धन्यवाद दिन चाहन्छु ।
लेखक : चन्द्रप्रसाद पाण्डेय
ओझेलमा पारिएका अल्पसंख्यकमध्ये तेस्रोलिंगी पनि एउटा समुदाय हो, जो जटिल सामाजिक संरचनामा जिउन बाध्य छ । राज्यबाट कानुनमा केही अधिकारहरू सुनिश्चित गरिए पनि व्यवहारिक जीवनमा खासै परिवर्तन पाइँदैन । जन्म दिएका कतिपय बुबाआमाबाट समेत उनीहरू अपहेलित हुनु परेको स्थिति छ । यही कारणले उनीहरू मानसिक रूपमा विक्षिप्त छन् । राज्यले उचित संरक्षण गर्न सकेको छैन । रोजगारीको पहुँचमा उनीहरू पुग्न सकेका छैनन् । समाजले वास्तविक कुरा बुझ्न सकेको छैन ।
विस्तारै विस्तारै यी अल्पसंख्यक समुदायका सदस्यहरू संगठित हुँदै छन् । त्यो पनि सहरबजारमा मात्रै । दूरदराजका कतिपय पीडित छन् । आफ्नो पीडा न पचाउन सक्छन् न कसैलाई सुनाएर मन हलुका पार्न सक्छन् । अभिभावकहरू पनि हिनताबोधमा बाँचिरहेको स्थिति देख्न सकिन्छ । यो सबै अनविज्ञताको कारणले भएको हो भन्ने ठहर मेरो छ । प्राकृतिक रूपमा हामी जसरी जन्म्यौ, त्यसलाई त्यसैगरी स्वीकार्नु हाम्रो कर्तव्य हो जस्तो लाग्छ ।
प्रतिभावान् भाइ आर. के. मेहत्ताले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको विषयमाथि काम गर्ने इच्छा रहेको बताए र मलाई नाटक लेख्न अनुरोध गरे । मैले सहर्ष स्वीकार गरेँ । केही प्रतिनिधि पात्रबाट सन्दर्भ सामग्री सहयोग पाएँ । केही समय घोत्लिएँ । टिपोट गर्दै गएँ । इटालीमा बसेका आर.के.सँग कम्प्युटरीय प्रविधिमार्फत क्रियाप्रतिक्रिया चलिरह्यो । पाण्डुलिपिको रूपरेखा तयार बन्दै गयो । उनले उहीँ बसेर नाट्याभ्यास गर्दै गए ।
सर्वप्रथम नेपाल संगीत तथा नाट्य एकेडेमीले आयोजना गरेको नाट्य महोत्सवमा पहिलो पटक २०७३ जेठ २९ गते चरीकोटको सिमपानी हलमा यो नाटक मञ्चन भयो । उनी आफैँ खेले र निर्देशन पनि गरे । त्यसपछि कलाकार अनिल सुब्बा मञ्चमा उपस्थित भए । अहिलेसम्म ८५ पटकसम्म यो नाटक मञ्चन भइसकेको छ । साइलेन्ट एक्टको प्रस्तुति तथा सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघरको आयोजनामा जिउँदो आकाश नाटक–यात्रा २०७५/७६ घोषणा गरिएको छ । यो हाम्रो लागि सुखद क्षण हो ।
नेपालभित्र मेची काली यात्रा गर्नुका साथै विदेशमा रहेका कैयन नेपाली तथा विदेशीहरूलाई समेत यो नाटक देखाउने योजना बनाएका छौँ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको यस सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरसँग जोडिनु पाउनु हाम्रो लागि खुसीको कुरा हो । यस महाअभियानमा होस्टेमा हैसे गर्नुहुने संस्थानका महाप्रबन्धक राजेश थापाज्यूको कदम ऐतिहासिक छ । संस्थान र उहाँप्रति हार्दिक आभार । हामी कलामार्फत समाज रूपान्तरणको महाअभियानमा छौँ । यहाँसम्मको यात्रामा साथ दिनुहुने सबैमा आभार व्यक्त गर्दछौँ । शुभेच्छुक सबैप्रति हार्दिक नमन !
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.