पानीको ज्ञान केन्द्र (वाटर हव) खोल्ने तयारी

पानीको ज्ञान केन्द्र (वाटर हव) खोल्ने तयारी

काठमाडौं (पहिचान) असोज १६ – पानीको धनी मानिएको नेपालमा पानीको समग्र जानकारी दिन पानीको ज्ञान केन्द्र स्थापना गर्ने तयारी भएको छ । जनस्वास्थ्यको क्षेत्रमा कार्यरत ईन्जिनियरहरुको संस्था (सोसाइटी अफ पब्लिक हेल्थ ईन्जिनियर्स, सोफेन) र खानेपानी, वातावरण र स्वास्थ्यको क्षेत्रमा काम गर्ने विश्व संस्था ग्लोबल इन्स्टिच्यूट अफ वाटर, इन्भाइरोमेण्ट एण्ड हेल्थ नामक संस्थाले संयुक्त रुपमा आयोजना गरेको कन्सल्टेटिभ वर्कसप अन बाटर नलेज हव विषयक कार्यशालाका स्रोत व्यक्ति र सहभागीहरुले पानीको ज्ञान केन्द्र स्थापना गर्ने तयारी भएको बताएको हुन् ।

कार्यक्रमका काठमाडौं विश्व विद्यालयका रजिष्ट्रार डा. सुबोध शर्माले सबै जनतालाई सुरक्षित, सफा र स्वच्छ पानी खानेपानी उपलब्ध गराउने विषय समाविष्ट भएकोले पानीको ज्ञान केन्द्र खोल्न आवश्यक रहेको बताए । उनले खानेपानी बाहेक पनि पानीको बहुउपयोगिता रहेको र नेपालको प्राकृतिक सम्पदामध्ये सबैभन्दा महत्वपूर्ण सम्पदा रहेकोले यसको संरक्षण र उपयोगका लागि पनि यस्तो केन्द्र स्थापना गर्न आवश्यक भएको बताए ।

ग्लोबल इन्स्टिच्यूट अफ वाटर, इन्भाइरोमेन्ट एण्ड हेल्थका अध्यक्ष डा. निदाल सलिमले पर्याप्त स्वच्छ खानेपानीको व्यवस्था, पानीको व्यवसायिक बहुउपयोग आदिका बारेमा जानकारी दिन विषेश व्यवस्था हुन जरुरी रहेको बताए । उनले खानेपानीका वायुमण्डलीय, सतहगत र भूमिगत स्रोतहरुको संरक्षण, प्राप्त पानीको उपयोगिताका बारेमा वर्तमान र भावि पुस्तालाई जिम्मेवार बनाउन पनि ज्ञान केन्द्रको आवश्यकता भएको बताए ।

कार्यक्रममा पूर्व मन्त्री ई. गणेश साहले खानेपानीको महत्व दिनानुदिन बढेको र पानीको बहुउपयोगिताबारे जानकारी एकै ठाँउमा पाउन सक्ने अवस्था विद्यमान नरहेकोले यो आवश्यकता पूरा गर्न नलेज हवको आवश्यकता रहेकोमा जोड दिए ।

कार्यक्रममा नेपाल ईन्जिनियर्स एशोसिएसनका अध्यक्ष ई. डा. हरेराम श्रेष्ठले नेपाल पानीमा धनी भएको र पानीको बहुक्षेत्रीय उपयोग हुने भएकोले त्यसको आवश्यकता, आपूर्ति र उपयोगिताकाबारेमा जानकारी दिन यस्तो हव उपयोगी हुने बताए ।

कार्यक्रममा सोफेनका अध्यक्ष ई.रामदीप साहले नेपालमा पानीको क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी निकायहरु धेरै भएकोले एकीकृत तथ्यांक पाउन कठिन भएको बताए । उनले यस्तो नलेज हब बनाएमा सूचना पाउन मात्र नभइ खानेपानी, सिंचाई, जलविद्युत, जलयातायात क्षेत्रमा योजना तर्जुमा गर्न, कार्यान्वयन गर्न, पानीलाई अधिक हुने क्षेत्रबाट न्यून हुने क्षेत्रमा लगेर मानवीय आवश्यकता पूरा गर्नुको साथै व्यवसायिक लाभ लिन पनि सजिलो हुने बताए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.