सामाजिक संजालमै सिमित अन्तराष्ट्रिय अन्तरलिंगी सचेतना दिवस

सामाजिक संजालमै सिमित अन्तराष्ट्रिय अन्तरलिंगी सचेतना दिवस

काठमाडौं (पहिचान) कार्तिक ११ – यो बर्षको अन्तराष्ट्रिय अन्तरलिंगी सचेतना दिवस सामाजिक संजालमा मात्रै सिमित भएको छ । नेपालमा रहेका अन्तरलिंगी व्यक्तिहरुले सामाजिक संजाल मार्फत अन्तराष्ट्रिय इन्टरसेक्स डे को शुभकामना दिएका छन् । यो दिवस अक्टोबर २६ तारिखमा हो ।

नेपाल बाहेक अरु देशमा भने विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइएको अन्तरलिंगी अधिकारकर्मी इशान रेग्मीले जानकारी दिए । यो समुदायको अधिकार र स्वास्थ्यका बारेमा विश्वमै पहिलोपटक सन् २०१५ मा संयुक्त राष्ट्रसंघले आवाज उठाउन थालेको हो । त्यस यता अन्तरलिंगीको अधिकारको अवाज विश्वभर नै उठ्न थालेको छ ।

यस्ता व्यक्ति लाखौंमा एक जना जन्मिने गरेको राष्ट्रसंघले बताउँदै आएको छ । नेपालमा ४० जना अन्तरलिंगी व्यक्तिको तथ्याङक छ ।

“अन्तरलिंगीको अधिकारका लागि राज्यले अव पहलकदमी लिनु पर्छ । अरु समुदायलाई भन्दा विशेषाधिकार दिनुपर्छ,” अन्तरलिंगी अधिकारकर्मीहरु भन्छन्, “शारीरिक रुपमा पनि आफूहरु फरक हुने भएकाले अब राज्यले अन्तरलिंगीबारे समाजमा रहेको अन्धविश्वास हटाउन पहल गर्नुपर्छ ।”

अन्तरलिंगी अधिकारकर्मी रेग्मीले अन्तरलिंगी जन्मिदै देखि विभेदको शिकार हुने गरेकाले उनीहरु अन्य नागरिक सरह मानवअधिकार उपभोग गर्नबाट समेत बञ्चित भइरहेको बताए । उनले बर्दियाका अन्तरलिंगी पुष्पा चौधरी परिवारको सहयोग पाएर अन्तराष्ट्रिय स्तरको दौड प्रतियोगितामा भाग लिन अहिले तालिम लिइरहेको जानकारी दिए ।

अन्तरलिंगी चौधरी कक्षा ९ मा अध्ययनरत छन् । अन्तरलिंगी भएकै कारण दौड प्रतियोगितामा भाग लिन नपाउने हो कि भन्ने चिन्ता रहेछ इशानले भने, जिल्ला स्तरको प्रतियोगितामा भाग लिएर अहिले अन्तराष्ट्रिय स्तरको प्रतियोगिताका लागि तालिम लिन पाउनु खुशीको कुरा हो । पुष्पाले अपाङ्गता भएको परिचयपत्र पनि पाएकी छन् ।

“जन्मिदै यो प्रकृतिका व्यक्तिको पहिचान हुने भएकाले उनीहरुलाई समाजले नकारात्मक रुपमा हेर्छ । त्यसैले बाबु आमाले बच्चैमा छोरो या छोरी बनाउन चिकित्सा विज्ञानको सहयोग लिन्छन् तर, पछि उसमा छोरा बनाउन खोजिएको छ भने महिलाको स्वाभाव र शरीर विकास हुने र छोरी बनाउन खोजिएको छ भने छोराको जस्तो आनी बानी र शरीर विकास हुन पनि सक्छ । यस्तो धेरै भएको छ नेपालमा पनि अधिकारकर्मी रेग्मीले भने, त्यसको प्रत्यक्ष उदाहरण म आफैं हुँ । म जस्त कति साथीले आत्महत्या समेत गरेका छन् । यो अवस्थाको अन्त्य गर्न अब राज्य तथा सम्बन्धित संघसंस्थाले तत्काल कदम चाल्नु पर्ने देखिन्छ ।”

नेपाल सहित विश्वभरी अन्तरलिंगीको अधिकारका क्षेत्रमा काम गर्ने संस्था ३० वटा भन्दा धेरै छन् । अन्तरलिंगी समुदायका लागि संयुक्त राष्ट्रसंघले फ्याक्ट सिट पनि जारी गरेको छ भने बाल ऐनले समेत अन्तरलिंगीलाई भेदभाव गर्न नहुने भनेको छ । नेपाल राष्ट्रसंघको पक्ष राष्ट्र समेत हो ।

तर, नेपालमा अझै पनि अन्तरलिंगी व्यक्तिको यौनाङ्ग बन्ध्याकरण हुने गरेको छ । भविष्यमा हुने असरहरुमा चिकित्सकहरुले भने वेवास्था गर्ने गरेको अधिकारकर्मी रेग्मीले बताए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.