यौनिक तथा लैंगिक अल्पसंख्यकले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

यौनिक तथा लैंगिक अल्पसंख्यकले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

ललितपुर (पहिचान) बैशाख १४ – यौनिक तथा लैंगिक अल्पसंख्यकले पहिचान अनुसारको नागरिकता लिन चिकित्सकको सिफारिस लानुपर्ने व्यवस्था प्रति आपत्ती जनाएका छन् । उनीहरुले लिंग परिवर्तन गरेकालाई परिवर्तित लैंगिक पहिचान अनुसार नागरिकता दिने व्यवस्था राखेर आफ्नो समुदायलाई अपमान गरेको गुनासो समेत गरेका छन् ।

परिचय समाज ललितपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा समुदायका सदस्यहरुले सहज रुपमा पहिचान अनुसारको नागरिकता लिन पाउनुपर्ने माग गरे । महिला र पुरुषलाई जस्तै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई सहज रुपमा पहिचान अनुसारको नागरिकता दिनुपर्ने उनीहरुको माग छ ।

सन् २०१७ का मिष्टर गे हेण्डसम मनिल सिंहले अधिकार लेखेर मात्रै प्राप्त नहुने अनुभव सुनाए । ‘अधिकार प्राप्त हुन व्यक्तिको मानसिकता र सोचमा परिवर्तन हुनु पर्छ’ उनले भने । उनले आफ्नो समुदायलाई मानविय नाताले सम्मान गरिदिन आग्रह गरे ।

परिचय समाजका उपाध्यक्ष प्रेम जिसीले राज्यबाटै विभेदमा परिरहेको गुनासो गरे । हरेक क्षेत्रमा आफ्नो समुदाय पीडित भएको बताउँदै उनले अब अधिकार लिन जुलुस लिएर जाने चेतावनी दिए ।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका सदस्य तेस्रोलिंगी अधिकारकर्मी भक्ती शाहले अधिकार कार्यान्वयन पक्ष फितलो भएको बताए । महिला र पुरुषमा जस्तै तेस्रोलिंगी महिला र तेस्रोलिंगी पुरुषमा पनि विभेद रहेको शाहको भनाई छ । उनले समलिंगी विवाहको कानून नबन्दा विभेद भोग्नु परेको सुनाए । राज्यले यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि विवाहको कानून बनाइदिए विभेद अन्त्य हुने उनको भनाई छ । उनले नागरिकता बिधेयकमा रहेको लिंग परिवर्तन गर्ने व्यवस्था प्रति आपत्ती जनाए । ‘सरकारी निकायमा समावेशी प्रतिनिधित्व खोइ ?’ शाहको प्रश्न छ ।

परिचय समाजका कार्यक्रम संयोजक मनोरञ्जनकुमार बैद्याले समलिंगी विवाह र आरक्षणको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने बताए । प्रमूख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालय र प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने बैद्यले बताए । उनले गाउँपालिका, नगरपालिका, महानगरपालिकाको नीति निर्माणमा यौनिक तथा लैंंगिक अल्पसंख्यकको प्रतिनिधित्वका लागि दवाव दिने बताए । परिचय समाजले एचआइभी संक्रमण रोक्ने काम प्रभावकारी रुपमा संचालन गरिरहेको बताए ।

ललितपुर जिल्लामा स्थापना भएको परिचय समाजले सन् २००६ देखि यौनिक तथा लैंगिक अल्पसंख्यक साथीहरुको मानवअधिकार, हकहित र यौन स्वास्थ्य सम्बन्धी काम गर्दै आइरहेको जनाएको छ । परिचय समाजले संबिधानसँग बाझिने कानून संसोधन गरेर महिला र पुरुषको सट्टा व्यक्ति भन्ने शब्द राख्न समेत माग गरेको छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.