काठमाडौं (पहिचान) माघ २१ – तेस्रोलिंगी महिला अजिता भुजेलको हत्यामा संलग्न चार जना मुख्य अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । माघ ४ गते बिहान हेटौंडाको क्याम्पाडाँडामा मृत फेला परेकी अजिता हत्यामा संलग्न मुख्य अभियुक्त सहित पाँच जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
चार जनाले ना ६ ख ६५२७ नम्वरको ट्रकमा अजितालाई यौन सम्पर्क गरेका र रकम विवादका करणले अजिताको हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ‘चारजना युवकले अजितालाई ट्रकमा लगेर पालैपालो यौनसम्पर्क गरे । यौन सम्पर्क गर्न ७ हजारमा कुरा मिलेको रहेछ पत्रकार सम्मेलनमा प्रहरीले भन्यो तर, उनीहरुसँग पैसा नभएपछि भनाभन भयो । भनाभनले उग्र रुप लिएपछि अजिताको हत्या भएको देखिन्छ ।’
अजिता अत्या आरोपमा हेटौंडा–११ बस्ने २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ बस्ने २४ वर्षीय आशिष बल, हेटौंडा–१४ घर भएका २१ वर्षीय हम्चर भन्ने बुद्ध लामा, हेटौंडा–९ बस्ने १८ वर्षीय भापु भन्ने सिमोन परियार र हेटौंडा–४ का घनटाउके भनिने सुशिल थापा मगरलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गरेको पत्रकार सम्मेलन
https://www.facebook.com/pahichanOnline/videos/235568934105178/
प्रहरी अनुसन्धानले हेटौंडा–११ बस्ने युवती पाख्रिनको साथबाट अजिताको ओप्पो मोबाइल बरामद गरेको थियो । पाख्रिनलाई अजिता हत्यामा संलग्न भएका युवकले अजिताको मोबाइल दिएका थिए । पाख्रिनको साथबाट मोबाइल बरामद भएपछि प्रहरी अजिता हत्यामा संलग्न भएका युवकसम्म पुग्न सकेको हो ।
हेटौंडा–११ घर भएकी तेस्रोलिंगी भुजेलको माघ ४ गते राती साढे १ बजे थानाभर्याङमा हत्या भएको प्रहरीले जानकारी दिएको छ । उनको चार जना मिलेर हत्या गरेपछि शवलाई हेटौंडा–५ क्याम्पाडाँडामा लगेर फालेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
‘राज्यले शरीर बेच्न बाध्य बनायो’
हेटौडाका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका अधिकारकर्मी सुरज थापा किरणले राज्यबाट कुनै अवसर नपाउँदा समलिंगी तेस्रोलिंगी सडकमा उभिएर शरीर बेच्न बाध्य हुनुपरेको बताए । पहिचानसँग कुरागर्दै फ्रेण्डस हेटौडाका कार्यक्रम संयोजक किरणले समलिंगी तेस्रोलिंगीलाई योग्यता, क्षमता र दक्षता अनुसार रोजगारी दिन सरकारसँग माग गरे ।
‘पहिचान अनुसारको नागरिकताको प्रमाणपत्र भिराएर मात्रै तेस्रोलिंगीको सहज जीवन यापन हुँदैन उनले भने, महिला पुरुष सरह यौनिक तथा लैंगिक अल्पसंख्यकलाई राज्यले जीवन यापन गर्ने अवसर दिनु पर्छ ।’ उनले राज्यले नै शरीर बेच्न बाध्य बनाएको बताए ।
अजिता हत्यामा संलग्न पक्राउ परेपनि अजिता जस्ता अरु समलिंगी तेस्रोलिंगीको हत्यामा संलग्नहरु पक्राउ नपर्दा आफूहरुले सुरक्षाको अनुभुति गर्न नसकेको सुरज किरणले बताए ।
असुरक्षित तेस्रोलिंगी
गत वर्ष असोजमा चितवनको नारायणगढ लायन्सचोकमा रहेको ग्यारेज नजिकै तेस्रोलिंगी महिला दिपिका उप्रेतीको हत्या भयो । उनी चितवनमा रहेको मानव सचेत समाजमा काम गर्थिन् । दिपिकाले तेस्रोलिंगी महिला भएर आफ्नो पहिचान स्थापित गरेकी थिइन् । तर उनका परिवारले तेस्रोलिंगीको पहिचान नदिन भनेपछि दिपिका मात्रै होइन, मानव सचेत समाजका देव श्रेष्ठ पनि निराश भएका थिए ।
त्यही बर्ष फागुनमा काठमाडौंको लाजिम्पाटमा तेस्रोलिंगी महिला जीवन गुरुङ (जुनु) को हत्या भयो । कास्कीको लुम्ले स्थायी घर भएकी जुनु हत्यामा संलग्न बिदेश कार्की पक्राउ परे । उनलाई जिल्ला अदालत काठमाडौंले ज्यान मुद्धामा जेल सजाय हुने फैसला सुनाइसकेको छ । तर दिपिका हत्यामा संलग्न भने अहिलेसम्म पक्राउ परेका छैनन् ।
माघ ४ गते बागमती प्रदेशको राजधानी हेटौंडाको क्याम्पाडाँडामा तेस्रोलिंगी महिला अजिता भुजेलको शव हत्या गरेर फालिएको अवस्थामा फेला प¥यो । शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा गरिएको पोष्टमार्टममा उनको घाँटीमा निलडाम र टाउकोमा चोट देखियो । तेस्रोलिंगी नागरिकका रुपमा मकवानपुर जिल्लाबाट पहिलोपटक अजिताले ‘अन्य’ लैंगिक पहिचानमा नागरिकता लिएकी थिइन् ।
भिन्नभिन्न ठाउँमा मारिएका तीनैजना समाजमा आफूलाई महिला पुरुष भन्दा फरक लैंगिक पहिचानमा चिनाउँदै आएका तेस्रोलिंगी महिला हुन् । तेस्रोलिंगी महिलामाथि भएका यी हत्याका घटनाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति सुरक्षित छैनन् भन्ने देखिएको अधिकारकर्मीहरु बताउँछन् । नेपालमा २०७२ सालमा जारी भएको संविधानले पहिलोपटक यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार सुनिश्चित गरिदिएको छ । संवैधानिक रुपमा अधिकार सुनिश्चित भएपनि तेस्रोलिंगी भएकै कारणले हत्या गरिनुले यो समुदायका व्यक्तिको मनमा डर बढेको छ ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा समलिंगी महिला र पुरुष, तेस्रोलिंगी महिला र पुरुष, दुईलिंगी महिला र पुरुष, अन्तरलिंगी महिला र पुरुष पर्छन् । उनीहरुलाई संवैधानिक रुपमा यौनिक तथा लैंगिक अल्पसंख्यक भनेर चिन्ने गरिएको छ । उनीहरुले अन्य लैंगिक पहिचानमा नागरिकता पाइरहेका छन् ।
स्वतन्त्रताको हत्या
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको क्षेत्रमा काम गर्दै आएको संस्था नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ समाजमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पक्षमा खुलेर वकालत गर्दै आएका तेस्रोलिंगीको हत्या हुनुले समुदाय नै असुरक्षित भएको बताउँछिन् । प्रहरीसँग विश्वास नभएपछि पत्रकार सम्मेलन गरेर जानकारी दिनुपर्ने बाध्यतामा परेको यो समुदायका व्यक्तिले बताउँदै आएका छन् । एकपछि अर्को गर्दै तेस्रोलिंगीको हत्या हुनुले गम्भीर प्रश्न उठाएको अध्यक्ष गुरुङको भनाई छ ।
समाजकी अध्यक्ष गुरुङ एक व्यक्ति मारिनु मात्र नभई समग्र तेस्रोलिंगीहरुकै इच्छा, चाहना र स्वतन्त्रताको हत्या गरिएको दावी गर्छिन् । ‘समाजमा त्यसैपनि अपहेलित तेस्रोलिंगीलाई मारेर उनीहरुको इच्छा र स्वतन्त्रतालाई हत्या गर्ने कोशिस भइरहेको छ,’ उनी भन्छिन् । ‘तेस्रोलिंगीहरु समाजमा अपहेलित भइरहेका छन् । उनीहरुको समस्या बाहिर आइरहेको छैन,’ उनले भनिन्, ‘तेस्रोलिंगीको अधिकारका विषयमा संवेदनशील हुन आग्रह गर्छु ।’
पार्टनर नै शंकामा
घरपरिवार र समाजमा अपहेलित भएर बस्न नसक्दा उनीहरु शहर पस्ने गरेका छन् । पहिचान दिएको राज्य, तेस्रोलिंगीका समस्यामा मौन बसिरहेको छ । कागजमा अधिकार लेखेर पहिचान अनुसारको नागरिकता दिएपनि क्षमता भएका तेस्रोलिंगीलाई राज्य, निजी क्षेत्र कतै पनि कुनै अवसर छैन । जीवन निर्वाहकै लागि उनीहरु सडकमा उभिन बाध्य छन् । सडकमा उभिएका उनीहरुसँगै रामरौस गर्नेहरु नै उनीहरुका बाधक बनिरहेका छन् ।
नेपालमा समलिंगी विवाहलाई कानूनी मान्यता दिइएको छैन । कानूनी मान्यता नहुँदा उनीहरु लामो समय घरजम गरेर बस्न सकेका छैनन् । वैवाहिक अधिकार नपाएका यौनिक तथा लैंगिक अल्पसंख्यकलाई धेरैले प्रयोग मात्रै गरिरहेको गुनासो यस क्षेत्रमा कार्यरत अधिकारकर्मीहरु बताउँछन् ।
२०६४ पुस ६ गते सर्वोच्च अदालतको आदेशमा गठन भएको समलिंगी विवाहबारे अध्ययन गर्न बनेको समितिले २०७१ सालमा सरकारलाई प्रतिवेदन बुझायो । समलिंगी विवाहलाई मान्यता दिने कानून बनाउन सुझावसहित समितिले दिएको प्रतिवेदन आजसम्म महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा थन्केर बसेको छ ।
यो समुदायले महिला पुरुषजस्तो समान व्यवहार कतैबाट पनि पाइरहेका छैनन् । नखुलेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिका मानव अधिकार उल्लंघनका घट्ना सार्वजनिक नै हुँदैनन् । समाजकी अध्यक्ष गुरुङ भन्छिन्, ‘यी त तेस्रोलिंगी पहिचानसहित समाजमा चिनिएका व्यक्ति हुन् । घरपरिवार र समाजको दुरव्यवहारका कारण वास्तविक लैंगिक पहिचान लुकाएर बसेकाहरु माथि भइरहेका हिंसाका घटना बाहिर आउँदैनन् ।’
‘धेरै ठाउँमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई घृणा गरेको देखेँ’ : लेक्स लिम्बू
नेपालमा तेस्रोलिंगी महिलामाथि भएका घटनाबारे कति जानकार हुनुहुन्छ ?
महिला तेस्रोलिंगी अथवा परलिंगी महिलामाथि भएको हत्याका बारेमा मलाई राम्रोसित थाहा छ । नेपालमा बस्ने मेरा गे (सामुदायिक पुरुष) साथीहरुले खबर शेयर गर्नुहुन्छ । यस्तो खबर सुन्दा मलाई अप्ठेरो लाग्छ । किन यस्तो भइरहेको छ भन्ने सोच मनमा आउँछ ।
किन असुरक्षित भइरहेका हुन् ?
सुरक्षाको कुरामा कानून पनि जोडिएर आउँछ । हाम्रा समुदायको साथीहरुले हत्यादेखि हरेक दिन मानिसबाट हेपाई भोगिरहनु भएको छ । कानूनले उहाँहरुलाई संरक्षण नगर्दा असुरक्षित भएको भन्ने आभास हुन्छ । जो मान्छेले हेपिरहेका हुन्छन या हत्या गर्छन्, तिनीहरुमाथि कारबाही भएन भने यस्ता घटना दोहोरिरहन्छन् । नेपालको प्रणाली र समाजका कारण पनि असुरक्षा बढेको हो भन्ने लाग्छ । तर कानूनमा उल्लेख गरेर मात्रै हुँदैन । व्यवहारमा पनि लागु हुनुपर्छ । त्यसका लागि विद्यालय तहको कोर्षदेखि नै कानूनका विषय समेट्नु पर्छ । सर्वसाधारणले पनि कानूनका विषयमा जानकारी पाउनुपर्छ । जबसम्म सर्वसाधारणले कानूनका विषयमा जानकारी पाउँदैनन्, यो विषयलाई यसरी नै लिइराख्छन् ।
तपाईं विभिन्न देश घुमिरहनुहुन्छ । अन्य देशको अवस्था नेपालमा जस्तै कि फरक छ ?
हरेक देशमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको भोगाई फरकफरक छ । यहाँ लण्डनमा पनि ट्रान्सजेण्डर, गे म्यान र लेस्वियनहरु माथि नराम्रो व्यवहार भइरहेको हुन्छ । यो विश्वमा कुनै ठाँउ सुरक्षित र बढी सुरक्षित भन्ने हुँदैन । कतिपय ठाँउमा स्वीकार्य होला । तर धेरै ठाँउमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई घृणा नै हुन्छ मेरो विचारमा ।
तेस्रोलिंगीका लागि तत्कालै के गर्नुपर्छ ?
सबैभन्दा पहिले गर्नुपर्ने भनेको ‘सेफ हाउस’ बनाउन जरुरी छ, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि । कम्तिमा तेस्रोलिंगी महिलाका लागि मात्रै भए पनि यो काम गरिहाल्नुपर्छ । कतिपय साथीभाइ घरपरिवारले अप्ठेरो पारेपछि घर छाडेर निस्कनु पर्ने हुन्छ । सेफ हाउस भएमा उहाँहरुले पढाईलाई निरन्तरता दिन सक्छन् । पढाई लेखाई नहुनेका लागि सीपमुलक कोर्ष गराउन सकिन्छ । त्यसो भयो भने हाम्रा साथीहरुले रोजगारी पनि पाउँथे ।
नोट : असुरक्षित तेस्रोलिंगी र लेक्स लिम्बुसँगको कुराकानी आइतवार प्रकाशित सेवारो साप्ताहिकबाट लिएका हौ ।
सम्पादक
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.