हरेक व्यक्ति सर्तक बनौ, महामारी विरुद्धको लडाई जितौ

हरेक व्यक्ति सर्तक बनौ, महामारी विरुद्धको लडाई जितौ

काठमाडौं (पहिचान) चैत्र २९ – देश अहिले लकडाउन भएको छ । लकडाउनको अवधिमा सरकारले सबै नेपालीलाई घर बाहिर ननिस्कन अपिल गरेको छ । चीनको उहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट बच्न सरकारले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन अपिल गरेको हो ।

नियमित हुँदै आएका काम यतिवेला लकडाउन छन् । तर ग्रामिण भेगमा बसोबास गर्नेहरुको दैनिकी भने लकडाउनमा पनि चलिरहेको छ । घर, गोठदेखि खेतवारीको काममा लकडाउन छैन । आधा घण्टाको बाटो हिडेर खानेपानी ल्याउनु पर्ने बाध्यतामा रहेका ग्रामिण भेगका नागरिक घर बाहिर निस्कन पाएनन् भने पानी पिउन पाउँदैनन् ।

चुनावका बेला एक घर एक धाराको नारा दिएकाहरु ५ बर्षे कार्यकालको उत्तररार्धमा समेत फर्केका छैनन् । घरमा धारा जडान भएर पानी आए देशका धेरै स्थानीय तहका नागरिक जस्तै नमोबुद्ध नगरपालिकाका नागरिकले लकडाउनको अवधीमा पानी लिनकै घरदेखि टाढा जानु पर्दैनथ्यो ।

खानेपानीको समस्या झेलिरहेका नागरिकलाई कोरोनाको कहर उत्तिकै छ । कोरोनाको कहरसँगै विहान बेलुकाको छाक टार्न मजदुरी गर्दै आएकाहरु खेतवारीमै छन् । तर, शहर बजारको काम बन्द हुँदा गाउँ फर्केकाहरु भने घुमघाम र भेटघाटमा व्यस्त छन् ।

नमोबुद्ध नगरपालिकामा घर घर पुग्ने ग्रामिण कच्ची सडकका कारण अत्याबश्यक काम बाहेकका सवारी साधन निर्वाध संचालन भइरहेका छन् । बर्षाको भेलले मान्छे नै बगाएको नमोबुद्ध मन्दिर मुनिको दाप्चा खोलामा लकडाउन चलिरहँदा दैनिक सयौ मान्छेको ओहोर दोहोर भइरहेको छ । नुहाउन, लुगा धुन वरपरका मानिस दाप्चा खोलामै पुगिरहेका छन् ।

२०४६ सालको जनआन्दोलनमा राजतन्त्र बिरुद्ध मुर्दाबादको नारा लागेको श्रीकृष्ण उच्च मावि वरपरका विद्यार्थीका लागि नजिकको बिद्यालय थियो । अहिलेपनि तिमल्सिनाटारका लक्ष्मण तिमल्सिनाकी ३ बर्षकी छोरी दुई घण्टा हिडेर दाप्चामा रहेको बोर्डिङ स्कूलमा पुग्छिन् । वरपर घर नजिक खानेपानीसँगै बिद्यार्थी पढाउने बिद्यालय पनि छैन । अहिले पनि तिमल्सिनाटारबाट १३ जना बिद्यार्थी अध्ययनका लागि दाप्चामा रहेका विद्यालयमा पुग्ने गरेको लक्ष्मण बताउँछन् । कोही पुरानागाउँ बिद्यालयमा पनि पुग्ने गरेका छन् ।

बिपी राजमार्गका कारण चर्चामा रहेको र नमोबुद्ध नगरपालिकाको केन्द्र रहेको भकुण्डेबेशी पछिल्लो समय शहरीकरणको चरणमा छ । ग्रामिण भेगमा बसोबास गर्नेहरुको आकर्षण भकुण्डेबेशी बन्न पुगेको छ । त्यसैले अहिले घण्टौ हिडेर भएपनि बिद्यार्थीको संख्या भकुण्डेबेशीका विद्यालयमा धेरै छ ।

नाम चलेको बेलाको बाल उज्ज्वल सामुदायिक बिद्यालयमा पनि विद्यार्थीको संख्या बढिरहेको छ । तर, २०४७ सालबाट माध्यमिक तहको अध्ययन हुन थालेको मथुरापाटी माविमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या भने घटेको छ । कोरोना संक्रमण हुन नदिन देश लकडाउन हुनु अघिल्लो दिनसम्म मथुरापाटी माविका शिक्षक घरदैलो अभियानमा थिए । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद सत्याल आफै घरदैलोमा निस्किएका थिए । कक्षा ६ देखि नै समुह छुट्टयाएर अध्ययन गराएको मथुरापाटी माविमा अहिले १ सय १० जना पनि बिद्यार्थी छैनन् । गुणस्तरिय शिक्षाका लागि अभिभावकले आफ्ना सन्तानलाई सुविधा सम्पन्न बिद्यालयमा अध्ययन गराउन थालेपछि मथुरापाटी माविमा बिद्यार्थीको संख्या कम हुँदै गएको हो ।

सरकारले भर्ना अभियान सुरु नगर्दै घरदैलोमै पुगेर बिद्यार्थी संख्या बढाउने मथुरापाटी माविमा अध्यापन गराउने शिक्षक पनि अहिले लकडाउनमा छन् । तर, इन्टरनेटको पहुँच हुने विद्यार्थीमा निजी विद्यालयहरुले मोवाइल एप्स मार्फत अध्ययन गर्न पाठ्यक्रम राखिसकेका छन् । सामुदायिक बिद्यालयले भर्ना अभियान सुरु गर्दा नगर्दै निजी विद्यालयले आफ्ना विद्यार्थीलाई पाठ्क्रम एप्स मार्फत पठाइसकेका छन् ।

नेपालको छिमेकी चीनमा डिसेम्वरमा पत्ता लागेको कोरोना भाइरस (कोभिड -१९) अर्को छिमेकी देश भारतमा फैलिएपछि नेपाल कतिदिन लकडाउन हुने हो टुङ्गो छैन । नेपालमा कोरोना संक्रमण देखिएका एक जनामा निको भैसकेको छ । भगवान भरोसा अहिलेसम्म नेपाल भित्र रहेका एक जना नेपालीको मृत्यु भएको छैन ।

नेपाल भित्र रहेका नेपालीले कोरोना संक्रमणको पहिलो चरण पार गरिसकेका छन् । अहिलेसम्म बिदेशबाट आएका र उनीहरुका परिवारमा मात्रै कोरोना संक्रमण भेटिएको छ । त्यही कारण बिदेशबाट आएकालाई १४ दिन अनिवार्य क्वारेन्टिमा राख्न सर्वोच्च अदालतले आदेशै दिएको छ । बर्षौ नेपाल छोडेर विदेश बस्ने तर, १४ दिन आफ्नै घरको क्वारेन्टिनमा बस्न अटेर गर्नेहरुको स्थानीय तहहरुले खोजि गरिरहेका छन् ।

लकडाउन उलंघन गर्दा सान मान होइन आफ्नै ज्यान जान सक्छ । भिड जम्मा गरेर लामो भाषण सुनाउने समय पनि यो होइन । खुल्ला सीमाका कारण भारतमा लकडाउन भएसम्म नेपालमा पनि लकडाउन हुनुपर्छ । चीनसँग सीमा जोडिएका जिल्लामा कोरोना संक्रमित भेटिएका छैनन् । कोरोना संक्रमित नभेटिएका प्रदेशले पनि सर्तकता अपनाइरहेका छन् ।

यो सर्तकता बैशाख ३ गतेपछि पनि अपनाउनु पर्ने बेलायतमा अध्ययनरत विद्यार्थीले गरेको एक अध्ययनले देखाइसकेको छ । भारत कोरोना संक्रमणबाट मुक्त हुन ४९ दिन लकडाउन हुनुपर्छ भन्ने त्यो अध्ययन अनुसार खुल्ला सीमाका कारण नेपाल पनि ४९ दिन नै लकडाउन हुनु पर्छ । अहिलेसम्म नेपाल भित्र बसेका कोही संक्रमित भेटिएका छैनन भनेर घुमघाम र भेटघाट गर्नु आफ्नै स्वास्थ्य माथि हेलचेक्रयाई गर्नु हो । तर, पनि घर बाहिर ननिस्कि बस्न धेरैले सकेको देखिदैन । काठमाडौंदेखि हिडेर विपि राजमार्गको काभ्रे प्रहरी पोष्ट पार गरेका यि (भिडियो) नागरिक सप्तरीमा रहेको आफ्नो घर पुग्ने हतारोमा छन् ।

जहाँ पुगेका भएपनि आफ्ना सन्तान नसम्झने परिवार छैन । २०७२ सालको भुकम्प होस या विश्व हल्लाउने कोभिड १९ नै किन नहोस एक जना नेपालीको पनि मृत्यु हुनु हुँदैन भनेर कामना भइरहेको छ । यो समयमा २५ जना भन्दा धेरै भिडभाड हुने गरी जम्मा भएर भाषण गर्ने र सुनाउने होइन । प्रविधिको विकासले टेलिफोन र इन्टरनेटवाट छलफल गरेर जानकारी दिन सकिने अबस्था छ ।

कोरोना संक्रमणको पहिलो चरण पारगरेसँगै अहिले स्थानीय तह फुड बैंक स्थापनामा लागेका छन् । फुड बैंकमा जम्मा भएको सहयोग सामानुपातिक वितरण हुनेमा नागरिक आशावादी छन् । एकद्धार प्रणाली मार्फत सहयोग विरतण गर्न स्थानीय तहहरु सचेत भएर लाग्नु पर्छ । नागरिकलाई अत्याबश्यक सामानको प्रवन्ध गर्दा भनौ एक हजारको सामान खरिद गर्दा १० हजारको विल नबनोस भनेर खवरदारी पनि भइरहेको छ ।

कात्रोमा पनि कमिशन लिने केन्द्रको कोरोना स्थानीय तहमा नसुनियोस भनेर आ आफ्ना माध्यमबाट खवरदारी भइरहेको छ । राहत वितरणको मापदण्ड विचारका आधारमा बनाइनु हुँदैन । यतिवेला अन्य शिर्षकमा विनियोजन भएको बजेट रकमान्तर गरेर व्यक्तिको स्वास्थ्यमा खर्चनु पर्ने धारणा जनप्रतिनिधिहरुबाटै आइसकेको छ । त्यसैले राहत वितरण लैंगिक मैत्री हुनुपर्छ ।

राहत वितरण पुरुष, महिला र अन्य लैंगिक पहिचान भएका नेपाली नेपालीबीच समान हुनु पर्छ । पुरुष भएकै कारण, महिला भएकै कारण या अन्य (यौनिक तथा लैंगिक अल्पसंख्यक) लैंगिक पहिचान भएकै कारण राहत वितरणमा पक्षपात हुनु हुँदैन । कोरोनाले लैंगिक पहिचान हेर्दैन । यसलाई लाग्ने र उसलाई नलाग्ने हुँदैन ।

त्यसैले केन्द्रदेखि स्थानीय तहसम्मले गुनासा आउन नदिने गरी ४९ दिनसम्म आफ्ना नागरिकलाई भोकै मर्न दिनु हुँदैन । अनि विरामी भएर अस्पताल पुगेकाहरुलाई उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका विरामीले कष्ट नगर्नु होला भन्नु हुँदैन । कोरोनाले छुदैन भनेर घुमघाम, घेटघाट, खेलवाड, रमाइलोमा लाग्नु यतिवेला मुर्खता बाहेक अरु केही हुँदैन । हरेक व्यक्ति स्वयं सर्तक बन्नु पर्छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.