सुरक्षित गर्भपतन सेवा : कानुनमा निःशुल्क, व्यवहारमा शुल्क 

सुरक्षित गर्भपतन सेवा : कानुनमा निःशुल्क, व्यवहारमा शुल्क 

गर्भपतन गराउने गत वर्ष भन्दा ७ हजार ९१७ जनाले कम 

काठमाडौं : काभ्रे नमोवुद्धका रामकुमार तामाङ (परिवर्तित नाम) ले श्रीमतीको गर्भमा रहेको भ्रूण अन्त्य गर्न शिर मेमोरियल अस्पताल बनेपामा आउनु पर्‍यो। घरबाट पाँच किलोमिटर दुरीमा रहेको मेथिनकोट अस्पतालले रिफर गरेपछि २० किलोमिटर टाढा बनेपा आउनुपरेको बताउँछन् रामकुमार।
अनिच्छित गर्भपतन गराउन पाउने सुनेका उनले श्रीमतीलाई अस्पतालसम्म पुर्‍याए। भ्रूण अन्त्य गर्न डाक्टरले औषधी दिए। भ्रूण अन्त्य गरेर दुई दिनमै डिस्चार्ज गर्‍यो अस्पतालले।
अस्पतालमा २१ हजार रुपैयाँ खर्च भएको सुनाउँछन् रामकुमार। ‘अस्पताल खर्च भन्दा श्रीमतीको स्वास्थ्यमा तलमाथि होला भन्ने चिन्ता थियो,’ उनले भने,‘औषधी राखेरै बाहिर निकाले,अप्रेसन गर्नुपरेन।’
सुरक्षित गर्भ पतन गराउन पाउँदा दुवै खुसी छन्। तर, अस्पतालमा तिरेको पैसाको ऋण तिर्न भने ज्याला गर्नु परेको बताउँछन् रामकुमार।
सरकारले सुचीकृत गरेका बाहेक अस्पतालमा यो सेवा निःशुल्क छैन। स्वास्थ्य सेवा विभागले गर्भपतन गराउन सुचीकृत स्वास्थ्य संस्थालाई प्रति एक जनाको ८ सय रुपैयाँका दरले रकम दिने गरेको जनाएको छ।
विभागका अनुसार देशभर १५ सय स्वास्थ्य संस्था सुरक्षित गर्भपतन सेवा दिन सूचीकृत भएका छन्। चार हजार स्वास्थ्यकर्मी सूचीकृत छन्।
सूचीकृत संस्थामा अनिच्छित गर्भ अन्त्य गर्न निश्चित शुल्क भने तिर्नु पर्छ तर सूचीकृत नभएका स्वास्थ्य संस्था या अस्पतालमा रामकुमारले तिरे जस्तो २१ हजार रुपैयाँ खर्च हुँदैन। सुचीकृत संस्थामा एकदमै कम शुल्कमा सुरक्षित गर्भपतन गराउन सकिने विभागले भनेको छ।
२०७७ असार मसान्तसम्म विभागको परिवार कल्याण महाशाखाले देशभरका सुचीकृत स्वास्थ्य संस्थाले ८७ हजार ८६९ व्यक्तिलाई सुरक्षित गर्भपतन सेवा प्रदान गरेको तथ्याङ्क सार्वजनिक गरेको छ।
प्रदेश १ मा १५ हजार ९५७, मधेस प्रदेशमा ७ हजार १३४, बागमती प्रदेशमा १८ हजार ५३२, गण्डकीमा १२ हजार ६८४, लुम्बिनीमा १८ हजार ७८५, कर्णालीमा ५ हजार २३५ र सुदूरपश्चिम प्रदेशमा ९ हजार ५४२ व्यक्तिले सुरक्षित गर्भपतन गराएका परिवार कल्याण महाशाखाले तथ्याङ्क सार्वजनिक गरेको छ।
२०७८ असार मसान्तसम्म प्रशोचनको क्रममा रहेको तथ्यांकअनुसार मेडिकल (औषधी) गर्भपतन गराउनेको सङ्ख्या ५७ हजार ३ सय ५० रहेको विभाग स्रोतले जानकारी दिएको छ। यी मध्ये २० वर्ष मुनिका गर्भपतन गराउने ४ हजार ४१५ छन्।
विभाग स्रोतले पहिचानलाई दिएको जानकारी अनुसार २० वर्ष मुनिका २ हजार ५०९ जनाले सर्जिकल गर्भपतन गरेका छन्। २० वर्ष माथिका सर्जिकल गर्भपतन गराउनेको सङ्ख्या २० हजार ९३ छ। परिवार कल्याण महाशाखाले प्रकाशनको अन्तिम तयारीमा रहेको यो सङ्ख्या २०७७ असार मसान्तको भन्दा ७ हजार ९१७ जनाले कम हो। २०७८ असार मसान्तसम्म सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या ७९ हजार ९५२ जना रहेको विभागले जानकारी दिएको छ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार हरेक दिन विश्वमा आठ सय गर्भवतीको मृत्यु हुने गरेको छ। सुरक्षित गर्भपतनको सेवा पाए ९९ प्रतिशतलाई जोगाउन सकिने भिजिबल इम्प्याक्टले गरेको कार्यक्रममा जानकारी दिइयो।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ अनुसार गर्भपतन भन्नाले गर्भमा रहेको भ्रूण स्वभाविक रूपमा जन्मन सक्ने हुनुभन्दा अगावै गर्भाशयबाट बाहिर निस्कने वा निकाल्ने कार्य हो।
गर्भ निरोधका साधन भन्नाले गर्भनिरोध गर्ने कार्यमा सहयोग गर्ने हर्मोनयुक्त वा अन्य साधन सम्झनु पर्ने ऐनमा लेखिएको छ।
ऐनको दफा ३ मा प्रत्येक महिला तथा किशोर किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी शिक्षा, सूचना, परामर्श तथा सेवा प्राप्त गर्ने अधिकार हुने लेखिएको छ। कसैलाई करकाप गरी वा धम्की दिई वा ललाई फकाई वा प्रलोभनमा पारी वा मन्जुरी नलिई बलपूर्वक गर्भ निरोधका साधन प्रयोग गराउन ऐनले बन्देज लगाएको छ।
ऐनको परिच्छेद ४ मा सुरक्षित गर्भपन गर्न पाउने व्यवस्था गरिएको छ। गर्भवतीको मन्जुरीले १२ हप्तासम्मको गर्भपतन गराउन पाउने व्यवस्था छ। गर्भपतन नगराए ज्यानमा खतरा पुग्न सक्ने, शारीरिक वा मानसिक स्वास्थ्य खराब हुनसक्ने वा विकलाङ्ग बच्चा जन्मन्छ भनेर इजाजत प्राप्त चिकित्सकको राय भएमा गर्भवतीको मन्जुरी बमोजिम अट्ठाइस हप्तासम्मको गर्भ अन्त्य गर्न पाउने कानुनी व्यवस्था छ ।
कानुनी व्यवस्था अनुसार जवर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ गर्भवती महिलाको मन्जुरीले, रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एच.आइ.भी.) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेको महिलाको मन्जुरीले र भ्रूणमा कमीकमजोरी भएको कारणले गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भ्रूणमा खराबी रहेको, वंशाणुगत खराबी वा अन्य कुनै कारणले भ्रूणमा अशक्तता हुने अवस्था रहेको भन्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीको राय बमोजिम गर्भवतीको मन्जुरीमा २८ हप्तासम्मको गर्भ अन्त्य गर्न पाइन्छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.