नेकपा एसले तेस्रोलिंगी तथा अल्पसङ्ख्यकलाई ध्यान दिने, जसपाले लिएन संविधानको जस 

नेकपा एसले तेस्रोलिंगी तथा अल्पसङ्ख्यकलाई ध्यान दिने, जसपाले लिएन संविधानको जस 

काठमाडौं : वैशाख ३० मा हुन लागेको स्थानीय चुनावका लागि दलहरूले घोषणा पत्र सार्वजनिक गर्न थालेका छन्। चुनावको मिति नजिकिँदै जाँदा दलहरूले चुनावी घोषणा पत्र सार्वजनिक गर्न थालेका हुन्।
नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)को चुनावी घोषणापत्रमा स्थानीय तहमा निर्वाचित भएमा नागरिकलाई प्रदान गर्ने सेवा सुविधा लेखिएको छ।
विवेकशील साझाबाट काठमाडौँ महानगरपालिकाको प्रमुख पदकी उम्मेदवार समीक्षा बास्कोटा र उपप्रमुखकी उम्मेदवार कीर्ति तुलाधरको चुनावी प्रतिज्ञा पत्रमा ‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुई जना महिलालाई जिम्मा लगाऊँ, राजधानीको गौरव पुनर्स्थापित गरौँ’ नारा दिइएको छ।
पहिलो पटक स्थानीय चुनावमा भाग लिन लागेको एकीकृत समाजवादीले घोषणापत्रमा समाजमा सबै लैङ्गिक समुदायका मानिसहरूको हकहितको सुरक्षा हुनु पर्दछ भन्ने बारेमा सचेत रहेको लेखेको छ।
‘हरेक पालिकाहरूले तेस्रोलिंगी तथा अल्पसङ्ख्यक लैङ्गिक समुदायका मानिस माथि कुनै प्रकारको हिंसा, हेलाहोचो नहोस् भन्ने कुरामा ध्यान दिने छन्’घोषणापत्रमा लेखिएको छ,‘पालिकाका उपप्रमुखको नेतृत्वमा हुने न्यायिक समितिले सम्बन्धित लैङ्गिक समुदायका मानिसहरूसँग छलफल गरी आवश्यक कार्यक्रम अगाडि सार्ने छन्।’
तेस्रोलिंगी तथा अल्पसङ्ख्यक लैङ्गिक समुदायलाई समान मर्यादा, समान हैसियत र समान अधिकार दिने कुरामा एकीकृत समाजवादीले प्रतिबद्धता जनाएको छ।
संविधान संशोधनको पक्षमा अझ जोडले मुखरित गर्ने चुनावी घोषणापत्र सार्वजनिक गरेको जनता समाजवादी पार्टी (जसपा)ले भने लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई समेटेको छैन। एकीकृत समाजवादीले जस्तै तेस्रोलिंगी तथा अल्पसङ्ख्यक लैङ्गिक समुदाय पनि भनेको छैन।
सामाजिक जागरण सम्बन्धी नीति लिएको दाबी गर्ने जसपाले समाजमा विद्यमान लैङ्गिक विभेद, रुढीवादी, अन्धविश्वास, कुप्रथा, जातपात, छुवाछुत, नश्ल, वर्ण वा रङ्गभेदी भावनाविरुद्ध स्थानीय तहले सामाजिक जागरण गर्ने चुनावी घोषणापत्रमा लेखेको छ।
‘सामाजिक जीवन पद्धतिलाई वैज्ञानिक, आधुनिक, समतामूलक, मानवीय र गरिमा युक्त बनाउँदै लगिनेछ,’घोषणापत्रमा लेखिएको छ,‘समाजको स्थानीय विविधताअनुरूप समावेशितालाई मूर्त बनाइनेछ।’
समावेशी विकास शीर्षक राखेको जसपाले कुनै भौगोलिक क्षेत्र विशेष, वर्ग वा समुदाय विशेष गरिब, महिला, दलित, अल्पसङ्ख्यक, शारीरिक अपाङ्गता भएका नागरिकसँग सम्बन्धित वा उनीहरूलाई प्रत्यक्ष प्रभाव पर्ने नीति कार्यक्रम बनाउँदा वा कार्यान्वयनमा ल्याउँदा उनीहरूलाई अनिवार्य सहभागी गराइने भनेको छ।
दलित, अल्पसङ्ख्यक, शारीरिक अपाङ्गता भएका समुदाय उत्थान कार्यक्रम भनेको जसपाले लैङ्गिक तथा यौनिक समुदाय घोषणापत्रमा उल्लेख गरेको छैन।

तेस्रोलिंगीको साथ पाएका डाक्टर बाबुराम भट्टराई भन्छन नयाँ शक्ति तेस्रो शक्ति बन्छ

२०७४ को चुनावमा नयाँ शक्ति पार्टीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई स्थानीय तहको चुनावमा उम्मेदवार नै बनाएको थियो। त्यही पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई अहिले जसपाका अध्यक्ष बनेका छन्। तर चुनावी घोषणा पत्रमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको विषय उल्लेख नै गरिएको छैन।
विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाभित्र सबै सार्वजनिक पार्कमा सफा, व्यवस्थित, अपाङ्गतामैत्री सार्वजनिक शौचालय व्यवस्था गर्ने भनेको छ। उपयुक्त स्थान पहिचान गरी पहिलो वर्षमै कम्तीमा ५० वटा सार्वजनिक शौचालय बनाउने भनेको साझाले तेस्रोलिंगीको छुट्टै शौचालयबारे बोलेको छैन।
गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाबारे भने काठमाडौं महानगरमा विवेकशील साझाका उम्मेदवारको प्रतिज्ञा पत्रमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र तेस्रोलिंगीको विशेष आवश्यकता पुरा गर्ने खालको सेवा सुविधाको व्यवस्था गरिने लेखिएको छ। उसले पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको विषय उल्लेख गरेको छैन।
तेस्रोलिंगी पिंकी गुरुङले संसदमा तपाईहरुका कुरा उठाउनुहुन्छ : डाक्टर बाबुराम भट्टराई

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading