निर्वाचन आयोगकै अकाउन्ट नक्कली

सामाजिक सञ्जालमा चुनावको दुष्प्रचार गर्नेलाई कारबाही, सन्देशमूलक भिडियो प्रचार गर्नेलाई पुरस्कार

सामाजिक सञ्जालमा चुनावको दुष्प्रचार गर्नेलाई कारबाही, सन्देशमूलक भिडियो प्रचार गर्नेलाई पुरस्कार

काठमाडौं : निर्वाचन आयोगले सामाजिक सञ्जालमा दुष्प्रचार, मिथ्या सूचना र द्वेषपूर्ण अभिव्यक्ति पोस्ट नगर्न चेतावनी दिएको छ।
आयोगले मतदानको दिन नजिकिँदै गर्दा सामाजिक सञ्जालमा आचारसंहिता विपरीतका गतिविधि नियन्त्रण गर्न कठिन भएको भन्दै त्यस्ता अभिव्यक्ति पोस्ट नगर्न चेतावनी दिएको हो। आयोगले आइतबार पत्रकार सम्मेलन गरेर प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले आयोगको निर्देशन परिपालना नभए कानुनअनुसार कारबाही गरिने बताए।
आयोगकै नक्कली अकाउन्ट खोलेर निर्वाचन सम्बन्धी गलत सूचना सम्प्रेषण भइरहेको भन्दै आयोगले ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
आयोगले फेसबुक, ट्विटर, भाइवर, युट्युब लगायतका सामाजिक सञ्जालबाट हुने गलत सूचना नियन्त्रणमा लिन भारत, अमेरिका र चीनमा रहेका सम्पर्क कार्यालयमा अनुरोध गर्न सरकारलाई भनेको छ।
पत्रकार सम्मेलनमा जारी गरेको विज्ञप्तिमा ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा उम्मेदवारको मनोनयन गराउनु भएका उम्मेदवार तथा राजनीतिक दलप्रति लक्षित गरी मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोस्ट भइरहेको र यस्ता गलत, भ्रामक, चरित्रहत्या हुने व्यक्तिगत लाञ्छना लगाउने, मानहानि हुने वा निर्वाचनलाई प्रत्यक्ष असर पर्ने कुसामग्री सामाजिक सञ्जालमा नगर्न नगराउन सबैमा आयोगले चेतावनी दिन्छ’लेखिएको छ।
निर्वाचन सम्बन्धी कुनै कार्य गर्दा गराउँदा कसैलाई हानी नोक्सानी पुर्‍याउने नियत राखी वा नराखी वा उक्त सूचना झुटो हो भन्ने बुझी वा नबुझी सम्प्रेषित गरिएको भ्रामक सूचना वा जानकारीलाई मिथ्या सूचना भनिने आयोगले विज्ञप्तिमा लेखेको छ।
आयोगका अनुसार निर्वाचन सम्बन्धी रिपोटिङमा भएका सामान्य गल्तीहरू बाहेक आफूलाई लाभ र अरू कसैलाई हानि–नोक्सानी पुर्‍याउने र आम मानिसलाई छकाउने बदनियतका साथ जानीजानी गलत वा भ्रामक सूचना सम्प्रेषण गर्ने कार्यलाई दुष्प्रचार मानिनेछ ।
प्रत्यक्ष वा परोक्ष रूपमा जाति, राष्ट्रिय वा जातीय उत्पत्ति, धर्म, लैङ्गिकता, उमेर, अपाङ्गता वा अन्य अपरिवर्तनीय समूहलाई इङ्गित गर्दै असहिष्णुता वा घृणा फैलाउने वा हिंसालाई बढवा दिने किसिमका वचन, लिखत वा व्यवहारलाई द्वेषपूर्ण अभिव्यक्ति मानिने आयोगले उल्लेख गरेको छ।
आयोगले निर्वाचन आचारसंहितामा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई निषेध गरिएका प्रावधानहरूको बारेमा सामाजिक सञ्जालका कार्यालयलाई ती देशमा रहेका नेपाली राजदूतावास मार्फत पनि जानकारी गराइएको जनाएको छ।
मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिने सामग्रीहरूको प्रचार प्रसार रोक्नको लागि इन्टरनेट सेवा प्रदायक, भ्यालु एडेड सर्भिस दिने सेवा प्रदायक र केबल टेलिभिजन नेटवर्कलाई निर्देशन दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूर सञ्चार प्राधिकरणलाई पत्राचार गरिएको आयोगले जनाएको छ।
भाइरल भिडियोलाई ५० हजारसम्मको पुरस्कार
सामाजिक सञ्जालमार्फत आचारसंहिता विपरीतका गतिविधि नियन्त्रण गर्न कठिन परेको भन्दै कारबाही गर्ने चेतावनी दिएको निर्वाचन आयोगले स्थानीय चुनावको सन्देशमूलक भिडियो प्रचार गर्नेलाई पुरस्कार दिने भएको छ।
निर्वाचनका लागि तयार पारिएका सन्देशमूलक भिडियो सामग्री प्रचार गर्ने व्यक्ति वा संस्थालाई २० देखि ५० हजार रुपैयाँसम्म पुरस्कार दिने आयोगले जनाएको छ।
आयोगले तयार गरेका भिडियोहरू टिकटक बनाई वा पहिलेकै स्वरूपमा मतदानको अघिल्लो दिन २९ गतेसम्म पोस्ट तथा शेयर गर्नेलाई पुरस्कृत गर्ने जानकारी दिएको हो।
फेसबुक, युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालहरूमा पोस्ट र शेयर गरी भाइरल बनाएमा पचास लाख वा सो भन्दा बढी दर्शक पुर्‍याउनेलाई ५० हजार रुपैयाँ, तीस लाख वा सो भन्दा बढी दर्शक पुर्‍याउनेलाई ३० र बिस लाख वा सो भन्दा बढी दर्शक पुर्‍याउनेलाई २० हजार पुरस्कृत गरिने आयोगका सहप्रवक्ता सूर्य प्रसाद अर्यालले जानकारी दिए।
आयोगका अनुसार हाललाई तीन जनासम्मलाई पुरस्कृत गरिने योजना भए पनि भाइरल भएको भिडियो सङ्ख्याको आधारमा पुरस्कार पाउने व्यक्तिहरू थप हुन सक्नेछन्।
सामाजिक सञ्जाल प्रयोग गर्दा पालना गर्नुपर्ने आचरण
–कसैको पक्ष वा विपक्षमा एस.एम.एस, फेसबुक, मेसेन्जर, ट्विटर, भाइवर, युट्युब, इन्स्ट्राग्राम जस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने।
–सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने।
–निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा झुटा साइट र अकाउन्ट सञ्चालन गर्न वा गराउन नहुने।
–सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण (हेट स्पिच) जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन नहुने।
–कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर वा लाइक वा कमेन्ट गर्न वा गराउन नहुने।
–कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानि हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन नहुने।
–निर्वाचनलाई प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने।
–मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन छापा माध्यम वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचार प्रसार सामग्री पोस्ट वा शेयर गर्न, कमेन्ट, प्रतिकमेन्ट गर्न, समाचार प्रकाशन वा प्रसारण गर्न नहुने । तर आयोगले तयार गरेको निर्वाचन तथा मतदाता शिक्षा सामग्री प्रकाशन वा पोस्ट गर्न बाधा पुर्‍याएको मानिने छैन।
(स्रोत: निर्वाचन आचारसंहिता, २०७८)
७९ मध्ये ६६ दलको मात्रै उम्मेदवारी, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक शून्य

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.